भक्तपुरका निजी स्कुलहरु धमाधम बन्द (वन्द स्कुलहरुको नामसहित)


जेठ १८, २०८१, शुक्रबार | विहान ०३:०५ बजे | 95


भक्तपुरका निजी स्कुलहरु धमाधम बन्द (वन्द स्कुलहरुको नामसहित)

भक्तपुर । भक्तपुर नगरपालिकाले अपनाएको शिक्षा र स्वास्थ्य नीति देशका अन्य पालिकाको भन्दा भिन्न र सफल छ । नगरपालिकाले नै विशेष प्राथमिकता दिएर स्कुल र स्वास्थ्य संस्था सञ्चालन गर्न थालेपछि भक्तपुरमा स्वास्थ्य र शिक्षा गुणस्तरीय बनेको हो । नगरपालिकाको प्राथमिकताका कारण यहाँका सामुदायिक स्कुल सुधार हुन थालेसँगै कतिपय निजी स्कुल बन्द र स्थानान्तरण हुन थालेका छन् । 
बागिश्वरी माविका कक्षा ११ र १२ का इन्चार्ज ज्ञानसागर प्रजापतिका अनुसार भक्तपुुरमा निजी स्कुल सुक्दै र सामुदायिक स्कुल फुक्दै गइरहेका छन् । ‘यहाँका सामुदायिक स्कुल फस्टाउँदै गइरहेका छन्, निजी स्कुल अन्यत्र सर्ने र बन्द हुने क्रम बढेको छ,’ उनले भने, ‘कुनै वेला विद्यार्थी नभएर अप्ठ्यारोमा परेका सामुदायिक स्कुलहरूमा अहिले क्रमशः विद्यार्थी बढ्दै छन् ।’
भक्तपुुर नगरपालिकाका अनुसार पछिल्लो आठ वर्षमा १८ भन्दा बढी निजी स्कुल बन्द तथा स्थानान्तरण भएका छन् । पाँच वर्षअघिसम्म विद्यार्थीको भिडभाड हुने कमलविनायकस्थित कालिका सेकेन्डरी स्कुल अहिले बन्द भएको छ । विद्यार्थी संख्या निरन्तर घटेपछि ०७८ मा यो स्कुल बन्द भएको हो । कालिका मात्रै होइन, सबैजसो बन्द भएका निजी स्कुल सामुदायिक स्कुल राम्रो भएरै हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले विद्यार्थी संख्या सुक्दै गएपछि निजी स्कुलहरू नगरबाट विलय हुने क्रम बढेको बताए ।
‘हाम्रो प्राथमिकता सामुदायिक स्कुल नै हो । सामुदायिक राम्रो भएपछि निजीको औचित्य कम हुँदै जान्छ । यही सोच राखेर शिक्षकलाई तालिम दियौँ, अभिभावकलाई काउन्सिलिङ ग¥यौँ,’ उनले भने, ‘सामुदायिक विद्यालयलाई आवश्यक पूर्वाधार र स्रोतसाधन दियौँ । त्यसपछि उहाँहरूले सामुदायिक विद्यालयलाई चम्काउन थाल्नुभयो । अहिले सामुदायिक विद्यालयमा विद्यार्थी भरिभराउ छन् भने निजी स्थानान्तरण वा बन्द हुने क्रममा छन ।’ उनका अनुसार नगरभित्र जम्मा ९२ स्कुल छन् । त्यसमा ३५ वटा सामुदायिक छन् । बाँकी निजी छन् । बन्द भएका निजी पनि यही तथ्यांकभित्र पर्छन् । 
सामुदायिक स्कुल राम्रो भएपछि निजीको औचित्य कम हुँदै जानु स्वाभाविक
सुनील प्रजापति, मेयर, भक्तपुर नगरपालिका
सामुदायिक स्कुल राम्रो भएपछि निजीको औचित्य कम हुँदै जानु स्वाभाविक हो । यही सोच राखेर शिक्षकलाई तालिम दियौँ, अभिभावकलाई काउन्सिलिङ ग¥यौँ । सामुदायिक विद्यालयलाई आवश्यक पूर्वाधार र स्रोतसाधनयुक्त बनाएका छौँ । अहिले सामुदायिक स्कुलमा विद्यार्थी भरिभराउ छन् । निजी स्कुल स्थानान्तरण र बन्द हुने क्रम बढेको छ ।  
पछिल्लो आठ वर्षयताको तथ्यांक हेर्दा भक्तपुर नगरपालिकाभित्र मात्रै १५ वटा निजी (संस्थागत) स्कुल बन्द भइसकेका छन् । बन्द भएका बोर्डिङ स्कुल क्षेत्रका सामुदायिक विद्यालयमा भने विद्यार्थी बढेका छन् । कुनै वेला निजी स्कुलको घेराबन्दीमा परेर विद्यार्थी नपाउने अवस्थामा पुगेका सामुदायिक विद्यालयलाई अचेल विद्यार्थी कसरी व्यवस्थापन गर्ने भनेर हम्मे–हम्मे परेको छ । नगरभित्र रहेका बागिश्वरी मावि, वासु मावि, सरस्वती विद्यागृह, गणेश मावि, शारदा माविलगायत सामुदायिक स्कुलमा विद्यार्थी संख्या हरेक वर्ष बढ्दै गइरहेको छ ।
यी हुन् बन्द भएका निजी स्कुल 
चम्पक स्कुल, दुवाकोट ः ०८१ मा बन्द 
स्कलर होम स्कुल, महालक्ष्मीस्थान थालाछें ः ०८१ मा बन्द 
जेनिठ स्कुल, बाराहीस्थान ः ०८१ मा स्थानान्तरण 
कालिका सेकेन्डरी स्कुल, कमलविनायक ः ०७८ मा बन्द 
जनता इंग्लिस स्कुल, नागपोखरी ः ०७७ मा बन्द 
सिद्धि ग्लोरियस स्कुल, इनाचो ः ०७५ मा बन्द 
हात्तीहोम स्कुल, दागाचा जगाती ः ०७४ मा बन्द 
जुन इंग्लिस स्कुल, व्यासी ः ०८१ मा बन्द 
निलोजिय स्कुल, कमलविनायक ः ०७७ मा बन्द 
तारा माउन्ट स्कुल, ग्वाछें नवदुर्गास्थान ः ०७३ मा बन्द 
फ्युचर स्टार स्कुल, बाराहीस्थान ः ०८१ मा स्थानान्तरण 
एकता इंग्लिस स्कुल, कमलविनायक ः ०७३ मा बन्द 
रोशनपूर्व स्कुल, सिर्जनानगर ः ०७८ मा बन्द 
सिरिङ्केन इंग्लिस स्कुल, कालीघाट व्यासी ः ०८१ मा बन्द 
इजिपायनियर स्कुल, इटाछें ः ०८१ मा स्थानान्तरण 
दरबार शिशु स्याहार स्कुल, व्यासी ः ०८१ मा बन्द 
एक्टिभ इंग्लिस बोर्डिङ स्कुल, व्यासी ः ०८१ मा बन्द 
मम्टी बोर्डिङ स्कुल, व्यासी ः ०७४ मा बन्द 

Comments