विषय र विवेचना कृतिको उपयोगिता


जेठ १७, २०८१, बिहीबार | विहान ०२:५९ बजे | 10


विषय र विवेचना कृतिको उपयोगिता

डा इन्दुल केसी 
प्रारम्भ
२००४ सालमा जन्मनुभएका चूडाप्रसाद चौलागाईंले लेख्नुभएको ‘विषय र विवेचना’ (लेखसङ्ग्रह) पुस्तकबारे म सङ्क्षिप्त टिप्पणी प्रस्तुत गर्दैछु । लेखकको यस पुस्तकमा रहेका ४० ओटा लेख यसभन्दा पहिले नै ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकामा प्रकाशित भइसकेका हुँदा कतिपय पाठकहरुमा उहाँको लेखनीबारे ज्ञात भइसकेको हुनुपर्छ । प्रभा माध्यमिक विद्यालय काभे्रपलान्चोकबाट प्रकाशित १४४ पृष्ठको यो पुस्तकका लेखक चौलागाईंज्यू ४५ वर्षसम्म शिक्षण पेसामा लाग्नुभएकाले उहाँका विद्यार्थी, अभिभावकलगायत हजारौं व्यक्तिहरुले उहाँको स्वभावबारे सहजै जान्नु बुझ्नुभएको हुनुपर्छ । अब यो कृतिलाई अझ व्यापक जनसमुदाय, साहित्यप्रेमीहरुले उहाँको सोचविचार, दृष्टिकोणबारे नयाँ–नयाँ कुरा अझ बढी थाहा पाउनुहुनेछ भन्ने मलाई लाग्छ ।

विषय
यो कृतिको मूल विषय साहित्य, सङ्स्कृति, धर्म र आध्यात्मिकता हुन् । प्रायः यसमा रहेका लेखहरुमा दर्शनजस्तो गहन विषयलाई उहाँले सरल भाषामा प्रस्तुत गर्नुभएको छ । दार्शनिक चिन्तकहरु जस्तै सुकरात, प्लेटो, अरिस्टोटल, अल्वर्ट आइनस्टाइन, कार्ल माक्र्सका साथै अध्यात्मवादी चिन्तक वेदव्यासले रचना गर्नुभएका धर्मशास्त्र, वेद, कथा, पुराणको चर्चा यस कृतिमा भएको छ । चौलागार्इंको शब्दमा अध्यात्मवाद र भौतिकवाद एक नदीका दुई किनारा हुन् । पूर्वीय दर्शन र पाश्चात्य दर्शनको भिन्नता देखाउनुहुँदै उहाँ भन्नुहुन्छ – ‘पूर्वीय दर्शन शरीरको मासु हो र पाश्चात्य दर्शन शरीरको हाड हो ।’

साहित्य
प्रस्तुत पुस्तकमा साहित्यतर्फ रहेका लेखहरु नियाल्दा चाणक्यनीति तथा कविवर सिद्धिचरण श्रेष्ठको प्रभाव लेखनमा परेको बुझिन्छ । उहाँ साहित्यको नौलो परिभाषा दिनुहुन्छ– ‘साहित्य मुटुको बोली हो, मस्तिष्कको खुराक हो, जीवनको ऊर्जा हो । हाँसो र आँसु पनि सहित्य हो ।’ यो उहाँको अभिव्यक्ति साहित्य –अनुरागीहरुका लागि एउटा मिठो खुराक हो । 
निबन्ध
निबन्धकार चौलागाईंज्यूको अर्को विशेषता निबन्धहरुको शीर्षक छनोटमा पनि देखिन्छ । यसमा ‘प्रेम’ सम्बन्धमा तीन ओटा निबन्धहर छन् । (१) सच्चा प्रेम र जीवनको ऊर्जा, (२) आहा, यस्तो प्रेम पो प्रेम, र (३) प्रेम गरौं, प्रेम गर्न सिकाऊँ । यी निबन्धहरुले प्रेमका विभिन्न पहलुहरुलाई उजागर गरेका छन् । प्रेम सन्देशमूलक रुपमा जीवनसँग गाँसिएको कुरा यहाँ प्रस्तुत भएको छ । 

महिला
यसरी नै महिलाबारे दुई ओटा लेखहरु छन् (१) नयाँ पुस्तक राम्री तरूनी, र (२) पुरूषहरु महिलाको वशमा । यी निबन्धहरुले महिलाका बारे जुन विचार निबन्धकारले दिनुभएको छ, त्यो हाम्रो समाजको वास्तविक पक्ष हो । चौलागार्इं सचेतकका रुपमा देखापर्नुभएको छ । शुभकार्य सबैले गर्नुपर्छ सबैले भन्ने गर्दछन् तर अशुभ कार्यमा पनि सबैको ध्यान जानु आवश्यक छ । मानिसमा अहम् भाव हुनु राम्रो होइन । कसैको सेखी नगरौँ भन्ने सन्देश यहाँ पाइन्छ ।

आत्मा, सत्सड्ड र तपस्या
आत्मा, सत्सङ्ग र तपस्याबारे निबन्धकार चर्चा गर्नुहुन्छ । धर्म के हो भन्ने प्रश्नको जवाफमा अन्नदान भन्नुभएको छ । मानिसहरु आपूmलाई दुःख पर्ला भन्ने चिन्ताले पिरोलिने गर्दछन् तर दुःखलाई वरदानका रुपमा लिन सके राम्रो हुने सल्लाह दिनुभएको छ । ज्ञानको महङ्खव ठूलो छ । त्यसैले ज्ञानको चाहना गरिन्छ । यहाँ लेखकले ज्ञानलाई तीन भेदहरु सात्विक, राजस र तमस नामले विभाजन भएको चर्चा गर्नुभएको छ । 
यो पुस्तकको परिशिष्टमा गीता मञ्जुश्रीले लेख्नुभएको वाक्य ‘चूडाप्रसाद चौलागाई राम्रो अध्येता, राम्रो पाठक, राम्रो लेखक, राम्रो चिन्तक, राम्रो समीक्षक’ भएकोमा यो टिप्पणीकार सहमत छ । ‘विषय र विवेचना’ (लेखसङ्ग्रह) शीर्षक पुस्तकमा समावेश भएका निबन्धहरुसँग राम्रो तादात्म्य छ । समग्रमा भन्नुपर्दा यो पुस्तक पठनीय, सङ्ग्रहणीय भएकाले लेखक चूडाप्रसाद चौलागार्इं, शब्दयात्रा प्रकाशन, यसका सबै पाठकहरुमा मेरो साधुवाद छ ।

Comments