कालो पहाडको दृश्य÷चित्र


जेठ १६, २०८१, बुधबार | दिउँसो ०२:२० बजे | 15


कालो पहाडको दृश्य÷चित्र

डा इन्दुल केसी
प्रारम्भ
प्रजापति तिमल्सिनाले नेपाली साहित्यक्षेत्रमा ‘अनेरुवा’ उपन्यास (२०७३), ‘विधुवा वासना’ (२०७६), तथा ‘कालो पहाड’ उपन्यास (२०७८) सालमा प्रकाशित गर्नुभयो । प्रकाशित कृतिहरुको समयमा मात्र हेर्ने हो भने उहाँले विगत ६ वर्षदेखि आफ्ना कृतिहरु पाठकसमक्ष पस्किँदै आउनुभएको छ । कुनै लेखकले आफ्नो पुस्तक प्रकाशन गर्नुभन्दा पहिले निकै समय आफूले साहित्यका विभिनन पुस्तकहरु अध्ययन गर्ने, विभिनन फुटकर लेखहरु लेख्ने र पत्रपत्रिकामा आफ्ना लेखहरु प्रकाशित गर्ने गर्दछन् । यसको अर्थ प्रजापति तिमल्सिनाको साहित्यिकयात्र कहिलेदेखि कसरी सुरू भयो भन्ने कुरा एकिनका साथ म भन्न सक्दिनँ ।
उपन्यास
नेपाली भाषामा लेखिएका उपन्यासको इतिहासलाई हेर्ने हो भने गिरिशवल्लभ जोशीको ‘वीरचरित्र’ नामक पुस्तक वि.सं. १९६० मा प्रकाशित भएको मानिन्छ । रुद्रराज पाण्डेको ‘रुपमती’ वि.सं. १९९१ मा प्रकाशित भएको थियो । यसपछि रुपनारायण सिङ्हको ‘भ्रमण’ नामको उपन्यास प्रकाशित भएको थियो । त्यसपछिका धेरै उपन्यासकारहरुमा लैनसिङ्ह वाङ्देल, डाइमन्ड शमशेर, रुद्रराज पाण्डे, पुष्कर शमशेर आदिको नाम आउँछ । नवोदित उपन्यासकारहरुको पङ्क्तिमा प्रजापति तिमल्सिना पनि देखा पर्नुभयो । उपन्यासकारहरुले मानिसको अनुभवलाई आफ्नो काल्पनिक रङ्ग दिएर कुनै निश्चित परिवेशमा पात्रहरुको कामलाई सुत्रवद्ध गरिएको हुन्छ । खासगरी समाजमा रहेका विभिन्न वर्गका पात्रहरुका पारिवारिक, आर्थिक, सामाजिक, अभिरूचि इत्यादि कुराहरुलाई उपन्यासमा दर्साइने गरिन्छ । 
कालो पहाड
यो उपन्यासलाई उपान्यासकार तिमल्सिनाले निम्नलिखित पाँचओटा परिच्छेदहरुमा विभक्त गर्नुभएको छ। 
१) शब्द हराएको कथा, २) लुगा च्यातिएको पिर छैन तर मनै च्यातिन्छ कि भन्ने पिर, ३) आँधीमा चिराक जल्दैन, ४) त्यसैले होला पशुले आँसु नझार्ने, ५) पुरूष भेडो जात पो हो ।
उल्लिखित परिच्छेदहरुको शीर्षकले यस उपन्यासका पाठकहरुलाई कौतुहलता जगाउँछ । ती कौतुहलताभित्र केही प्रश्नहरु उब्जिनछ । उदाहरण्को लागि ः
१) कसको कथा ?, २) के कुरामा के शब्द हराएको ? ३) किन मनै च्यातिन्छ कि भनने पिर ?
यसरी नै आँधीबेरी, हुरी चलेको बेला हावाको झोक्काले कुनै पनि बत्ती बल्न सक्दैन । यो कुरा सबैलाई थाहा नै भएको होला तर यहाँ उपन्यासकारले कस्तो आँधी र कस्तो चिराक भन्न खोेको हो ? भन्ने कुराले सबैलाई कुरिकुरी लगाउँछ । दुःख पर्दा मानिसको आँखाबाट आँसु झर्छ यो स्वाभाविक छ तर किन पशुको आँसु झर्दैन ? यसरी नै यो उपन्यासको अन्तिम परिच्छेदको शीर्षकले पुरूष भेडो जाता हो भनेर किन भनियो ?
उपन्यासकार प्रजापति तिमल्सिनाले यस उपन्यासको अग्र भागमा उपोद्घात शीर्षकअन्तर्गत यो उपन्यास कुन परिवेशमा कसरी तयार गरियो भन्ने कुरालाई प्रकाश पार्नुभएको हो । यस उपन्यासका पात्रहरु माइला, अमृत, रुपालगायतले आफ्नोे समाजमा भोगिआएको वर्गीय विभेद, लैङ्गिक र जातीय विभेदको एक सशक्त चित्रण उपान्यासकारले अति रोचक साथै मार्मिक रुपमा प्रस्तुत गर्नुभएको पाइन्छ ।
यस उपन्यासबारे विद्वान्को दृष्टि
यो उपन्यासलाई डा. यज्ञश्वर निरौलाले सीमान्तकृत दृष्टिकोणमा कालो पहाडअन्तर्गत निम्न उपशीर्षकहरुमा विस्तृत चर्चा गर्नुभएको छ । 
१) कालो पहाडमा सिमान्तियता, २) महिलाको परिचय, ३) वर्गीय आधारमा महिला, ४) लैङ्गिक विभेदमा महिला, ५) जातीय आधारमा महिला, ६) वर्चश्व÷प्रभुत्वको आधारमा महिला, ७) लेखकीय दृष्टिकोण र ८) निष्कर्ष गरी ८ ओटा बुँदाहरुमा विवेचना गर्नुभएको छ । डा. निरौलाले यहाँ प्रस्तुत गर्नुभएको ९ पृष्ठको समीक्षा उच्च कोटिको रुपमा रहेको मैले पाएँ ।
अन्तमा
पुष्पापराग साहित्य प्रतिष्ठान भक्तपुरले प्रकाशन गरेको २१७ पृष्ठको यो पुस्तकको मूल्य रु. ३७५ मात्र रहेको छ । सन्तोष दाहालले तयार गर्नुभएको आवरण डिजाइन आकर्षक छ । नेपाली साहित्यमा अभिरूचि राख्ने पाठकहरुले यो उपन्यास पढ्नलायक तथा पुस्तक सङ्ग्रहणीय छ भन्ने मलाई लाग्दछ ।

Comments