नगरकोटमा रुसी कविको १०० औं जन्मोत्सव
जेठ १३, २०८१, आइतबार | विहान ०५:२० बजे | 5
नगरकोट । २२ मे २०२४ का दिन रुस नेपाल सहयोग तथा मैत्री समाज, मस्को र रुसी भवन काठमाण्डौका प्रतिनिधि मण्डलबाट विश्वविख्यात रुसी तथा सोभियत कवि साहित्यकार रासुल गाम्जातोभको नगरकोटमा अवस्थित प्रतिमामा माल्यार्पण तथा काव्य वाचन कार्यक्रम सम्पन्न भयो ।
यो वर्ष रासुल गाम्जातोभको जन्म शताब्दी हो र रुस नेपाल सहयोग तथा मैत्री समाज, मस्कोको स्थापनाको साठीऔं वर्ष पनि हो ।
रुसी फेडेरेशनको दागेस्तान पहाडमा जन्मिएका कवि रासुल गाम्जातोभ तीनपटक नेपालमा आएका थिए र नेपालप्रेमी थिए । नेपालको सौन्दर्य र यसको रहस्यमयताबाट प्रभावित रासुलले नेपाल प्रति समर्पित ‘जीवनको पाङ्ग्रा’ र ‘जीवित देवी कुमारी’ कविता रचे । उनी ‘नेपाल कुँद्न बाँकी रहेको हीरा Непал( еще не отграненный алмаз ’ हो भन्थे ।
उनको काव्य जीवित देवी कुमारी यसरी शुरुहुन्छः
“......भारत नजिक, प्राचीन थलोहरू बीच,
हिमालयमा, जहाँ सगरमाथाको मुकुट आकाशमा छ
र मन्दिरहरू उसको पाउमा एकत्रित हुन्छन्,
जहाँ तिब्बती पहाडहरू सेता छन्,
... एशिया को चमत्कार सबै अनौठो –
यसमा सयौं सयौं देवताहरू बस्छन् ।......”
उक्त अवसरमा ई रामविन्दु श्रेष्ठले “..जब म अर्को लोकमा हुनेछु र युद्धमा मारिएका भाइहरूलार्ई भेट्नेछु ...” शिर्षकको रासुल गाम्जातोभको लोकप्रिय कविता पढेर सुनाए ।
जब म आफूलार्ई त्यो अर्को संसारमा भेट्टाउँछु –
र म युद्धमा मारिएका भाइहरूलार्ई भेट्नेछु ः
– अच्छा, देश कस्तो छ ? मातृभूमि कस्तो छ ? घर कस्तो छ..?
पहिलो पटक, तिनीहरू मसँग झूट बोल्न चाहन्छन् ।
यौटा महान युद्धको मैदानमा लडेको जस्तै
कसरी भनु कि उनको देश अब रहेन ?
रासुलको कविताको प्रत्युत्तरमा रुस नेपाल सहयोग तथा मैत्री समाज, मस्कोका उपाध्यक्ष बोरिस भेर्सिनिनले रामविन्दु श्रेष्ठ द्वारा रचित कविता “...जब म अर्को लोकमा हुनेछु र त्यहाँ सोभियत मान्छेहरुलाई भेट्नेछु...” रुसी भाषामा वाचन गरे ।
जब म अर्को लोकमा हुनेछु
र भेट्नेछु त्यहाँ सोभियत मान्छेहरु
खुशीले उद्वेलित हुँदै भुल्नेछु, त्यो क्षण म कहाँ छु ।
“ज्द्रास्तबुइचे कमरेडहरु !” अभिवादन गर्दै भन्नेछु,
र तिनीहरु प्रति कृतज्ञताले भरिएको, छताछुल्ल हृदय लिएर बोल्नेछु ः
“ म तपाईहरुले उ जुनीमा लगाएको
गुण कसरी चुक्ता गरुँ मेरा आफन्तहरु
जुन जगमा आज जे म उभिएको छु, तिम्रै थिए त्यहाँ लगानीहरु ” !
जवाफमा सत्तरी वर्षमा निर्मित त्यो नैतिकतामा ठेंस लागे झैं
आवाज आयो पछि मात्र , मायालु घुर्की डागे झैं ः
“ तैंले बिर्सिस ठिटो ! सोभियत युगमा सबै निःशुल्क थियो
हामीलाई पराइ ठान्ने शिक्षा , भन तँलाई आज कसले दियो ?”
यस कविताको रुसी भावानुवाद रुसी लेखक महासंघकी सदस्य प्रोफेसर कवियत्री ताच्याना पत्योम्किनाले गरेकी थिइन् ।
त्यस क्षणमा रुस नेपाल सहयोग तथा मैत्री समाजका मानार्थ अध्यक्ष अलेक्जेन्डर सलभ्योवले रसुल गाम्जातोभको सबैभन्दा लोकप्रिय गीत सारस गाउँदा वातावरण भावुक बनेको थियो ।
सोही कार्यक्रम बीच रुस नेपाल सहयोग तथा मैत्री समाज, मस्कोको स्थापनाको साठीऔं वार्षिकोत्सवको सन्दर्भमा रुसी–नेपाल मित्रताको पदकबाट माननिय शिवाजी यादव र सम्मान चिन्हबाट रुसी भवनका ड्राइभर साधुराम तामाङ्गलाई विभूषित पनि गरियो ।
फाेटाेमा हेर्नुहाेस्...