हनुमानको जागर र सरस्वतीको कृपा


जेठ ८, २०८१, मङ्गलबार | विहान ०१:५३ बजे | 0


हनुमानको जागर र सरस्वतीको कृपा

रामप्रसाद शर्मा
पोखरा, कास्की
रचनाकार र पाठक
अक्षरको जिवन्तता पाठकबाट मात्र हुन्छ । विना पाठक अक्षरको महङ्खव छैन । आवाजलाई आकार दिएर अक्षरमा अवतरित गरिएको हो । अक्षरले आवाजलाई आकार दिएर पाठक छेउ जस्ताको तस्तै कालान्तरमा पेश गर्ने अत्यन्त अचुक औजारको रुपमा काम गर्छ । अक्षरलाई कलमको सहारामा कागजमा मसीलाई छताछुल्ल बनाएर भावना व्यक्त गर्नलाई लेखकले मात्र सक्छ । विना लेखक न त अक्षरको जीवन्तता रहन्छ न त कुनै भावले नै आफ्नो अस्तित्व सँगालेर राख्न सक्छ । अक्षरका खेलाडीहरु लेखक बन्छन अनि त्यसका पारखीहरु पाठक बन्छन । लेखकको लेखले पाठकको आँखामा जीवन्तता प्राप्त गर्दछ । 
नेपालीहरु किताव पढ्नु भन्दा किताव भित्रका चित्र नियाल्न उत्सुक हुन्छन । निकै वर्ष अगाडी मैले एउटा फ्रेन्च गाइडबुकमा एकजना फ्रेन्चले नेपालीहरुको पढ्नु प्रतिको मनोविज्ञानलाई यसरी व्यक्त गरेको भेटाएको थिएँ । मलाई त्यतिबेला अचम्म लागेको थियो तर अहिले सो सन्दर्भलाई प्रत्यक्ष रुपमै महशुस गर्छु । फेसबुकका स्ट्याटसहरुले यो कुरालाई छर्लंग बनाउने रहेछन । पोष्टहरुमा अक्षरमा पोखेका भावहरुलाई त्यति साहारो लाइक र कमेन्ट आउँदैनन तर फोटोहरुमा पत्याउनै नसकिने लाइक कमेन्ट आउँछन । यो प्रसंगले मलाई हामी नेपालीहरुमा पढ्ने जाँगर लगभग नै छैन कि जस्तो महशुस गराउँछ । यसै परिवेशमा डा. इन्दुल लिखित शव्दसागरका मोती समिक्षा संग्रह हातमा प¥यो । पढ्नु जस्तो हनुमानी जाँगर चलाइ बाइस वटा किताव आद्योपान्त पढेर सार सहित समिक्षा पनि प्रस्तुत गर्नु अहिलेको युगमा साँच्चै नै हनुमानको जाँगर र सरस्वतिको कृपा नै प्राप्त भएको अनुभुति गरें मैले । त्यतिमात्र कहाँ हो र ? अझ सबै समिक्षाहरुलाई पुस्तककार दिएर बजारमा ल्याउनु त लक्ष्मीको अनन्य कृपाबाट मात्र सम्भव छ । यस अर्थमा समिक्षा अवतार डा. इन्दुल के.सी. बधाईका पात्र हुनुहुन्छ । 
विभिन्न पुस्तकहरु
ओतबहादुर खड्काद्वारा कल्याण पत्रिकामा राधेश्याम खेमका द्वारा लिखित हिन्दी भाषाको लेखलाई अनुवाद गरी पुस्तिकाको आकार दिनुभएको रहेछ । समालोचक डा. इन्दुल के.सी. ज्यूले यसै पुस्तकसँग सिलसिलावार हुने गरी जीज्ञासुहरुको ज्ञान पिपाशुलाई शान्त पार्ने कोशिसको रुपमा इशावाश्योपनिषद, पाशुपतयोग, साधनासूत्र परिचर्चा, जीवन दर्शन, औपनिषदिय कालको नाटकिय रुपान्तरण याज्ञवल्क्य नाटकका दृश्य, ध्यानको ज्ञान र साधना बौद्ध वाङ्मय सम्बन्धी संक्षिप्त दृष्टिकोण, भजन र जीवनको अन्तरसम्बन्ध, मान्छे प्रकृति र भेगन एक उपयोगी कृति जस्ता पुस्तकहरुको आद्योपान्त अध्ययन गरी सागरबाट गागर अनि गागर भित्रबाट मोति निकाली सूत्रबद्ध गरी एउटा आध्यात्मिक दर्शन र चिन्तनको बडो गजबको मालाको दर्शन पाएँ मैले । 
एउटा निरो पाठकको रुपमा वेदलाई देख्दा म चकित हुन्छु । वेदका हरेक सुक्तहरु, ऋषि, देवता अनि छन्दको तादात्म्यता के होला भन्ने कुरामा म अझ पनि कुहिराको काग नै छु । वेदका ति ऋषिहरुसँग प्रत्यक्ष संयोग गर्न पाए, देवता तत्वको गुह्य कुरा बुझ्न पाए, छन्दहरुको सही उपयोग गरेर ती सुक्तहरु पढेर प्रयुक्त देवताहरुसँग सिधै साक्षात्कार गर्न पाए भन्ने बालसुलभ कौतुहलता ममा जीवन पर्यन्त नै रहन्छ कि ? भन्ने भान हुन्छ प्रायः गरी मलाई । 
वेदलाई आत्मसात गर्न ब्राम्हण, आरण्यक, उपनिषदहरुको आवश्यकता किन पर्छ ? अन्ततोगत्वा उपनिषदको घाघडान प्रश्नोत्तर पछि शिष्यको र गुरुको सम्बन्ध कस्तो रहन्छ ? ऋषि र प्रकृतिको सम्बन्ध कस्तो हो ? जस्ता गुढ विषयहरुलाई लगभग धेरै विश्लेषकहरुले र समालोचकहरुले खुट्टयाएको आज सम्म मैले पाएको छैन, सायद यो मेरो कुपमण्डुक बुद्धिको कारणले नदेखेको हुन सक्छ । 
जति धेरै पढ्यो कतै झन् सानो हुँदै गयो भन्ने उक्ति ममा चरिचार्थ भैरहेको छ । कुनै दिन सायद क क नै रहँदैन कि ? जे होस यो विषयवस्तुलाई अहिले परिहासको रुपमा लिँदा सान्दर्भिक होला । ऋषिहरुले सारा लौकिक कुराहरुलाई त्याग गरी महिनौं बर्षौं अझ कहिँकहिँ त जन्मजन्मान्तर सम्म पनि तपस्या किन गर्छन होला ? सबै लौकिक कुराहरुलाई त्याग गरिसकेपछी छन्दोवद्ध रुपमा ति वेदका ऋचाहरुको माध्यमबाट स्तुति गरी देवताबाट नै तिनै लौकिक बस्तुहरुको माग किन गरेका होलान ? वेदविहित ऋषि हुनु भन्दा पहिले र भैसके पछी ऋषिमा आउने तात्विक अन्तर के हो ? यी सबै कुराहरु सायद गुढ रहस्य भित्र पर्छन कि ? अथवा ति कुनै रहस्य नै होइनन खुल्ला किताव नै हुन कि ? जस्ता विचारघटाहरुले मथिंगललाई कुहिरिमण्डल बनाउँछन् । 

एउटा रोचक घटना
यस्तैमा बुढिया छेउमा टुसुक्क बस्दै सोधिन, “के लेख्दै हुनुहुन्छ ? म पनि के कम, “मैले लेखेको सुन है त” भनेर माथिबाटै अर्धलिखित यो लेखलाई पढेर सुनाएँ अनि सोधें, “के बुझ्यौ ?” उनले स्वाभाविक रुपमा उत्तर दिइन, “होइन यी कहाँबाट ल्याएका शव्दहरु हुन हँ ? मैले त केही बुझिन ।” म पनि विनोदी भाषामा भन्दै गएँ, “जति क्लिष्ट शव्दावली राख्यो त्यति ठुलो दार्शनिक भइन्छ रे । म पनि त्यही बाटो पछ्याउँदै छु ।” 
मेरी बुढीसँगको परिहास बास्तवमा परिहास नभएर एउटा तितो सत्य हो । वेद, उपनिषद, वेदान्त, योगसूत्रहरुलाई जति सरल रुपमा व्यक्त गरिन्छ प्रत्येक शव्दको तात्विक अर्थ बुझ्न वेदविहित ऋषिहरुको तपस्या र तपस्चर्यालाई सकेसम्म हुबहु बुझ्ने प्रयास गर्नु पर्छ । ऋषिको मार्गलाई गुरुको सान्निध्यमा गुरुद्वारा बुझेर गुरुत्वको अनुभूति गर्नु प्रत्येक शिष्यको कर्तव्य हुन्छ । यिनै भावहरुलाई डा. इन्दुलले धेरै पुस्तकहरुको सारलाई आध्यात्मिक रुपमा पस्केको मैले पाएँ । उहाँको यो अगम्य यात्रामा ईश्वर सधैं दाहिना रहुन भनेर सर्वदा प्रार्थना गर्दछु । अस्तु ।

Comments