सावित्री स्मृति पुष्प कृति संगालो


जेठ ७, २०८१, सोमबार | विहान ०५:३६ बजे | 65


सावित्री स्मृति पुष्प कृति संगालो

लालबहादुर भुजेल
 अध्यक्ष
चाँगुनारायण साहित्य समाज, झौखेल, भक्तपुर
प्रारम्भ
केही दिन अगाडि सावित्री स्मृति नामक पुस्तक मेरो हातमा परेको छ । उक्त पुस्तक शब्दयात्रा प्रकाशन काभ्रेद्वारा वैशाख, २०८१ भित्रै प्रकाशित भएको रहेछ । साहित्यकार एवम् लेखक, उमेरले ८ दशक पारगरिसक्नु भएका, अत्यन्त सक्रीय, ज्यूँदो जाग्दो, उत्प्रेरक डा. इन्दुल केसीकी सहधर्मिणी (अर्धाङ्गिनी) सावित्री राणा केसीको ७७ वर्षको उमेरमा दुःखद् निधनको घडिमा, स्मरण पुञ्जको रुपमा परिवारजनकै लगानीमा पुस्तक समर्पण गरिएको रहेछ । अर्थात्, वहाँ वि.सं. २०८०, असोज २१ गते आइतबार स्वर्गवास हुनुभएको रहेछ ।
एउटा विवाहित पुरुष र महिलाकोलागि जन्मदिने बाबु–आमापछिको नजिकको प्रगाद नाता भनेको श्रीमान्–श्रीमती नै हो । एउटा त बुढ्यौली उमेर आफैँमा विकराल र घोरपट्यारलाग्दो पश्चातपपूर्ण र निरस अवस्था हो । विवाहिता छोरी परघरमा जानु हाम्रो प्रचलन हो । छोराहरु छन् भने आ–आफ्नो गुँड र नितान्त पारिवारिक खर–खाँचो, वन्द–व्यापार, जागिरे जीवनमा सदा अभ्यस्त हुन्छन् । आ–आफ्नै बचेराको स्याहार–सुसार र व्यवस्थापनमा लिप्त हुन्छन् र प्रातः कालदेखि राती अबेरसम्म परिवारका समस्या निपटारा गर्न र चुनौटीको सामना गर्ने कुराले पिरोलिरहेको हुन्छ । “बाबु–आमाको मन छोराछोरी माथि र छोराछोरीको मन ढुङ्गामुढामाथि” भनेझैँ राती अबरेसम्म बाहिरै रहेको छोरालाई आँखा तन्काई–तन्काई, अधैर्यसाथ बसेका ती डाँडामाथिका घामलाई लत्याएर आफ्नो गुँडभित्र पस्छ र बल्ल थाकिसकेका नजर ओझेलमा पर्छन् । यो देशमा जतिसुकै विगतमा जेष्ठ नागरिकका कानून बने पनि स्थानीय निकायले ढाड्स दिए पनि, एकल जेष्ठ नागरिकलाई घर–पर कहीँ पनि सम्मानित र पुरस्कृतको अलावा तिरस्कृत हुन्छ । यही नै सत्य, तथ्य र यथार्थ पनि हो ।
अंग्रेजीमा एउटा उखान छ, स्त्जभ ध्भबचभच पलयधक धजभचभ तजभ कजयभ उष्लअजभकू अर्थात्, जुत्ता लगाउनेलाई मात्र जुत्ताले कहाँ दुखाउँछ भन्ने थाहा हुन्छ । आफन्तजन साथीभाई, छिमेकी त जुठो काज क्रिया छउञ्जेल सम्झाउने ढाड्स दिने न हुने, त्यसपछि त कोही कसैलाई फुर्सदै हुँदैन, सबैलाई आ–आफनै चटारो र हतारो हुन्छ । कृष्णपक्षका कालरात्री बेचैन दिन–रात त, आफैँले सम्हालिएर जिउँने जमर्को गर्नुपर्ने हुन्छ । कति ढुकुरका वा परेवाकाजस्ता जोडीहरु सदाकोलागि छुट्टिए पछि विस्तारै हतोत्साही, निरुत्साहित हुन्छन् र डिप्रेसनमा पर्छन्, केही गरौं भन्ने उमेर छँदैमा मानवचोला सेलाउँछन् र बिलाउँछन् ।
तर ८३ वर्षमा पनि डा. इन्दुल केसीमा प्रेरणादायी स्पूmर्ति, जोश र अनुकरणीय लगन पाइन्छ । वहाँको दौडधूप, मृदुभाषी बोली–व्यवहार अनुकरणीय छ । वहाँले सधैँको निम्ति विछोड हुनुभएकी धर्मपत्नी प्रतिको गहिरो समवेदना उक्त पुस्तकमार्फत अर्पण गर्नुभएको छ, जुन कमै मान्छेको सुझबुझमा पर्दछ ।
पुस्तकमा मेरो दृष्टि
सर्वप्रथम त डा. केसीले मृतकको जीवनयात्रा उतार्नु भएको छ जसमा, वहाँको जन्म÷मृत्यु, माइती, शिक्षा, विवाह, सन्तान, पेसा, भ्रमण, धार्मिक सहभागिता र सरसहयोगको झलक देखिन्छ । त्यस्तै, वहाँले अर्धाङ्गिनीलाई विगतमा आइपरेका वखतमा स्वास्थ्यसम्बन्धी झमेलादेखि लिएर अन्तिम दाहसंस्कारसम्मको फेहरिस्त प्रस्तुत गरेको देखिन्छ । वहाँको स्मरणमा ताजै स्व. श्रीमतीसँगको रहेको सहयात्रा मार्मिक छ । यस पुस्तकमा, स्व. सावित्री राणा केसीको टिचिङ अस्पतालमा रहँदा, तथा निधन हुँदा आर्यघाटमा वा क्रियापुत्री भवनमा उपस्थित भई मानवीय सद्भाव र मतैक्यता जनाउने इष्टमित्र, साथीसङ्गी, शुभचिन्तक, संघ–संस्थाका हितैसी मित्र शुभचिन्तकहरुको नाम–नामेषी लगायत जीवनका दुर्लभ पलहरु र स्मरणहरु यसभित्र समाहित छन्, यादहरु ज्वलन्तरुपमा विपनीजस्तै छर्लङ छन् । सावित्रीको कुनै कुरा छुटेको छैन÷छुटेको छ त कहिल्यै नफर्कने बाचा गरी विरानो मार्ग सदा–सदाको लागि पछ्याएको मान्छे ! आश्चर्य लाग्छ, हामी घर–व्यवहार, सञ्चो–बिसञ्चोका कुरा एक हप्ता हुँदै महिनादिन हुँदा प्रायः बिर्सदै जान्छौँ तर यसमा डा. केसीको मानसपटलमा ती अस्पतालका होस् वा अन्य घटनाहरु पुस्तकारका रुपमा जाज्यल्यमान भई झझल्काहरु जीवन्तरुपमा ताजगी छन् । 
आ–आफ्ना श्रद्धाञ्जली अर्पण गर्ने केही निम्नानुसार छन् ः
१. अन्तष्करणका शब्दद्वारा कवितामा मर्मश्पर्शी भावद्वारा स्वर्गवासीलाई श्रद्धा–सुमन व्यक्त गर्नुभएको छ प्रा.डा. कृष्णप्रसाद दाहालले । जस्तै डा. इन्दुललाई वहाँ भन्नुहुन्छ –
सावित्रीको स्मरणमा दिनहुँ
उसले आफ्नो श्रद्धा र आस्थाको
नओइलने फूल चढाउने गरेको छ ।
प्रा.डा. दाहाल भन्नुहुन्छ– “स्व. श्रीमती सावित्री, इन्दुल केसीको हरक्षेत्रमा, हरपल सारथीको भूमिका निर्वाह गर्दै अतिथि देवो भवःलाई अङ्गिकार गरेकीले इन्दुलको साहित्य साधनामा सक्रियरुपमा लाग्ने चाहना देखिन्छ ।”
२. कवि जीवनाथ अधिकारीद्वारा स्व. सावित्री राणा केसीलाई श्रद्धाञ्जलीस्वरुप श्रद्धाका दुई थुँगा फूल समर्पण गर्नुहुन्छ । आखिर नश्वर देह शरीर त्याग गर्ने अन्तिम सत्य आर्यघाटै हो । यस्तैमा, एउटा कविका पे्ररणापद दुई पद्य हरफहरु स्मरण गर्न चाहन्छु ः
“आए जो पहिले गए सबजना हामी सबैको पनि
एउटै मार्ग छ जानुपर्छ सबले बस्दैन कोही पनि ।”
३. सिक्किम डेभलपमेन्ट एरिया पी.ओ. गान्तोकका लेखक टिका ढुङ्गेल ‘रटन’ले, स्व. सावित्री राणा के.सी.को मिलनसार र अतिथिप्रिय स्वभावको मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । इन्दुल केसीको साहित्यिक र सामाजिक क्षेत्रको योगदानको ठूलो श्रेय नै सावित्री हो ।
४. साहित्यकार नविना श्रेष्ठको डा.इन्दुल केसीसँग चिनचान हुने सुअवसर शब्दयात्रा प्रकाशन बनेपामा भएको रहेछ । उहाँ सावित्री विरामी भई सिद्धिस्मृति अस्पताल, भक्तपुरमा स्वास्थ्य लाभको कामना गर्ने सिलसिलामा जाँदा स्वयम् सावित्री र वहाँका भद्र एवम् सहृदयी परिवारजनसँग चिनचान भई नविना श्रेष्ठ ज्यादै प्रभावित हुनुभएको देखिन्छ । डा. इन्दुल केसीको भक्तपुर नासमना टोल ब्रम्हपुर चोकस्थित थातथलोमा स्वादिलो खाना, आत्मीय वातचित, कोठोचोटाको सरसफाईकोसाथै इन्दुल केसीलाई समाजमा चिन्हाउन वहाँले खम्बाको रुपमा भूमिका खेलेको कुरा चरितार्थ देखिन्छ । परिवारले मृत्युलाई सहज बन्नु उत्प्रेरणायुक्त कुरा हो ।
५. कवि श्री पदम दाहाल – स्वर्गवासी सावित्री राणा केसीको अतिथिपूजक आनिवानि, व्यवहार, शिष्टता, शिलस्वभाव, भद्र, शालिन, विनम्रता र मुस्कानसहितको बोलीले अत्यन्त प्रभावित हुनु भएको पाइन्छ । जीवनको अन्तरालमा मुटु रोगले पीडित जटिल अवस्थामा पनि घरमा साहित्यिक माहोल हुँदा वा अन्य साथी–भाई, नातागोताको आगमनमा वहाँ एक्लैले गरेको आतिथ्यता र स्वागत अलोकिक छ । एक्कासी अर्धाङ्गिनीले छोडेर चितामा जलिरहँदा पनि डा. इन्दुलजीको धैर्यताको बाँध न टुट्नु सबैको निंति अविस्मरणीय पाठ मान्नु हुन्छ वहाँ ।
६. साहित्यकार प्रजापति तिमिल्सिना – साथी सङ्गति हुन उमेरले रोक्दैन, कोही असाध्यै गरीब कोही अत्यन्त धनी भएपनि छेकवार लगाउन कसैको तागत हुँदैन । कृष्ण र सुधामा पनि साथी थिए । सहयात्री सावित्रीको विछोडमा स्तब्ध भएका डा. इन्दुललाई ढाड्स दिँदै मृतकको स्वर्गलोकमा सुनिश्चितताको लागि प्रजापति तिमिल्सिनाले सहर्ष कामना गर्नुहुन्छ ।
७. छोरी रजनी केसी मानन्धरको आफ्नी साखिल्ये आमा सावित्री प्रतिको स्नेह, वात्सल्यता, साथै आफ्ना सन्ततिप्रतिको वहाँको अनन्य र असीमित माया–ममता कवितात्मक शैलिमा छताछुल्ल भई ९ महिना कोखमा पीडा सहेर दशधारा दूध चुसाउँने महातारीप्रति अन्ततः अलविदा भन्नुहुन्छ ।
८. शब्दयात्रा प्रकाशनका अध्यक्ष हरिमञ्जुश्रीको शब्दमा स्वर्गीय सावित्री राणा केसी बिहेगरी भित्रिएपछि सती–सावित्री हुनुहुन्थ्यो । वहाँ इन्दुल केसीको पथप्रदर्शक, सासु–ससुराको सेविका, सन्ततिको लागि मायाकी खानी, समाज, धार्मिक संघ–संस्था र नाताकुटुम्ब र साथीसङ्गीको मुटुको वहाँ हुनुहुन्थ्यो ।
अन्त्यमा
विभिन्न समाचार माध्यमहरु, धार्मिक–सामाजिक–साहित्यिक संघ–संस्थाहरु एवम् पशुपति आर्यघाटमा तथा कृयापुत्री भवन कोटेश्वर महादेवस्थानमा उपस्थित भई भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्नेहरु मसमेतको भावना गहु्रङ्गो ढङ्गले मुखरित भएको छ । भारतमा तिर्थाटन गरिएकी निज स्व. सावित्री केसी राणाले जीवनमा प्राप्त गरेको सम्मानपत्र तथा अन्य विविध कुरा पनि यस पुस्तकमा संलग्न छन् । 
अलविदा भाउजु !

फाेटाेमा हेर्नुहाेस्...

सावित्री स्मृति पुष्प कृति संगालो

Comments