प्राचीन विश्वइतिहासको सङ्क्षिप्त चर्चा ः मेरा आखामा


जेठ ७, २०८१, सोमबार | विहान ०१:५२ बजे | 25


प्राचीन विश्वइतिहासको सङ्क्षिप्त चर्चा ः मेरा आखामा

डा इन्दुल केसी
प्रारम्भ
साहित्यका पुस्तकहरु पढ्नु मेरो रुचि हो । मैले विभिन्न पुस्तकहरु पढ्ने क्रममा श्री जीवनाथ अधिकारीज्यूले लेख्नुभएका विभिन्न विधाका निम्न लिखित ४ ओटा पुस्तकहरु उहाँले मलाई उपहार दिनुभएको थियो । उक्त पुस्तकहरु हुन् ः (१) जुनभित्रको आगो (छन्द कविता सङ्ग्रह २०५९), (२) प्राचीन विश्वको इतिहासको सङ्क्षिप्त चर्चा (२०६१) (३) अविदित यात्रा (छन्द कविता सङ्ग्रह २०७७० (४) मास्कले थिचिएको जिन्दगी (छन्द कविता सङ्ग्रह २०७७) । उक्त पुस्तकमा रचनाकारको भाव, विचार, अभिव्यक्तिलाई बुझ्ने प्रयास गरेँ । छन्दहरुमा (१) पञ्चचामर (२) शार्दूल विक्रीदित (३) मालिनी (४) शिखरिणी (५) सुग्धारा (६) अनुष्टुप (७) मन्दाकान्ता (८) उपजाति (९) भुजङ्गग प्रयात आदि छन्दहरुमा रचिएका कविताहरु हुन् । हुन त मैले आफ्नो विद्यार्थी जीवनमा अध्ययन गर्दा नेपाली भाषाको छन्दको बारेमा पनि केही पढेको थिएँ । तर खासै भन्नुपर्दा मलाई विस्तृत जानकारी छैन । उहाँका कविताका शीर्षकहरुको चयन, शीर्षकहरुसँग मिल्दो विभिन्न विषयका विभिन्न भावहरुमा लेखिएका कविताहरु मलाई ज्यादै राम्रो लाग्यो । तर मेरो यो रचना केवल “प्राचीन विश्व इतिहासको सङ्क्षिप्त चर्चा”मा मात्र केन्द्रित भएको छु ।
जीवनाथ अधिकारीज्यूले लेख्नुभएको “प्राचीन विश्व इतिहासको सङ्क्षिप्त चर्चा” पुस्तिकामाथि मेरो दृष्टि पर्यो । यो लेख उक्त पुस्तिकामाथि सङ्क्षिप्त चर्चा मात्र हो । समयलाई विभाजन गर्ने हिसाबले भुतकाल, वर्तमानकाल र भविष्यकाल भनी वर्गीकरण गरिन्छ । अझ यसलाई पनि वर्गीकरण गर्दा हिजोका दिनहरुलाई हालै वितेको समय, धेरै पहिले वितेको समयलाई प्राचीन समय भनी छुट्याइन्छ । अतीतकालको समयमा यो विश्वमा घटीत अनेकौं घटनाहरु वर्णन विश्लेषण गरी अधिकारीज्यूले यो पुस्तिका तयार गरेको देखिन्छ । आफ्नो माता नर्वदा अधिकारी तथा पीता नन्दलाल अधिकारीज्यूहरुमा समर्पण गरी प्रकाशित केवल ३२ पृष्ठको यो पुस्तिका २०६१ सालमा नै प्रकाशन भएको रहेछ । इतिहासकार जीवनाथजी अन्नपूर्ण, दिप्ला, भोजपुर जिल्लामा २०१८ सालमा जन्मनु भएको हो । उहाँ शिक्षण पेशामा संलग्न हुनुहुन्छ । उहाँकै शब्दमा “इतिहास आफैमा वर्तमानको ऐना हो ।” विश्व इतिहासको यो प्राचीन गाथा विशेषगरी किशोर तथा युवावर्गलाई विश्व इतिहासको प्राचीन गाथा सरल ढङ्गले सम्प्रेशन होस् भन्ने उहाँको ध्यय रहेछ ।
सन्दर्भ
यो पुस्तिका आकारमा सानो भएतापनि यसलाई तयार गर्न निकै मिहनत गरी सम्बन्धित विभिन्न पुस्तकहरु अध्ययन पश्चात यसलाई तयार गर्नुभएको देखिन्छ । यस पुस्तिकामा सन्दर्भ सामग्रीको रुपमा निम्न ५ वटा पुस्तकहरुलाई आधार मान्नुभएको रहेछ । 
क) फ्रेडरिक एन्गेन्स, ‘परिवार निजी स्वामित्व र राज्यको उत्पति’ (नेपाली अनुवादक ः राजेन्द्र मास्के), मास्को, प्रगति प्रकाशन –१९८६
ख) योदोर कोरोब्किन, ‘प्राचीन विश्व इतिहासका परिचय’ (हिन्दी अनुवादक ः बुद्धिप्रसाद भट्ट), मास्को, प्रगति प्रकाशन – १९८६
ग) विष्णु प्रभान – ‘माक्र्सवाद र त्यसको विकास प्रकृया’, काठमाडौं, पैरवी प्रकाशन – २०४७ (१९९०)
घ) मोदनाथ प्रश्रित, ‘जीवाणुदेखि मानवसम्म’, लिसन प्रकाशन – २०४३
ङ) मोदनाथ प्रश्रित, ‘नारी ः बन्धन र मुक्ति’, सिलगुडी, सूर्याेदय प्रकाशन – सन् १९८६
उत्पत्ति
लेखकले उल्लिखित महङ्खवपूर्ण पुस्तकहरुको सार यस पुस्तिकामा चर्चा गरिए अनुसार अर्बौ वर्ष पहिले सूर्य केन्द्रको रुपमा रहेको र त्यसैबाट टुक्रिएर यो पृथ्वीको उत्पत्ति भएको हो । यसरी नै मानिसको उत्पत्ति कहिले भएको र वनस्पति तथा उत्पत्ति कसरी भयो ? सुरुका मानिस जसलाई आदिमानव पनि भनिन्छ, तिनीहरुको रहनसहन – कन्दरा, गुफामा बस्ने, नरमाससमेत भोजन गर्ने, कन्दमूलको आहारा, शिकारी जीवन, पछि खेतीपाती, पशुपालनसमेत गर्न थालियो । यसरी खेतीपाती पशुपालनको लागि आवश्यक साधन कुन रुपको थियो ? सोको चर्चाको साथै तिनीहरुले जङ्गली युगको चरणपछि आफूलाई चाहिने भाँडाकुडा निर्माण, ढुङ्गे हतियारको निर्माण कसरी गरियो ? भन्ने विषयको चर्चा अति रोचक ढङ्गले गर्नुभएको छ । 
वंश, गोत्रको सामूहिक क्रियाकलापको समाप्ति पश्चात आदिम साम्यवादी युगको अन्त्यपछि क्रमशः विभिन्न युगहरु – दास युग प्रारम्भ हुन पुग्यो । प्राचीन मिश्र, मेशोपोटामिया, प्राचीन भारतीय उपमहाद्वीप, प्राचीन चीनमा, प्राचीन युनानमा, रोममा चलेको दास प्रथाको चर्चा यस पुस्तिकामा पाइन्छ । दासहरुले गरेको विद्रोहको परिणाम वर्ग सङ्घर्ष भएको बारे पनि यहाँ चर्चा पाइन्छ । 
प्राज्ञ मानव (होमोसेपिन्स)हरुले करिब ३० हजार वर्ष अघि नै चित्रकलाको शुरुवात गरेको र तिनीहरुमा धार्मिक विश्वासको जन्म के–कसरी भयो ? बारे पनि चर्चा भएको पाइन्छ । झण्डै १८ हजार वर्षपहिले पृथ्वीमा प्राकृतिक वातावरण परिवर्तन भई गर्मी बढेको, उत्तरी क्षेत्रको हिउँ हराउँदै गएको, पशुपालनको मानिसहरुले कसरी शुरुवात भयो ?, फिरन्ते जीवनबाट एकै ठाउँमा बसोबास गर्ने र समूहका कबिलाका मुखिया सेनापतिले भूमि वितरण कसरी ग¥यो ?, समाजमा धनी र गरिब, शासक र शासित, मालिक र दासको वर्ग विभाजनको साथै दास युगको आरम्भ कहाँ–कहाँ, कुन रुपमा भयो ? ती स्थानहरुको नाम माथि उल्लेख भइसकेको छ । 
लेखन कला
मानिसहरुले आफ्नो आवश्यकता परिपूर्ति गर्ने क्रममा अक्षर, अङ्कहरुको आविष्कार गरेको र मिश्रमा, मेसोपाटामियामा, भारतमा र चीनमा लेखनकला कहिले र कसरी भयो ? भन्ने कुराको पनि यस पुस्तिकामा उल्लेख भएको पाइन्छ । 
अन्तमा
यो पुस्तिका आकारमा सानो भएतापनि एउटा हिन्दी उखान ‘गागरमे सागर’ भनेजस्तै धेरै कुराहरुको महङ्खवपूर्ण तथ्य, तथ्याङ्कसहितको यो पुस्तिका केवल विद्यार्थीहरुको लागि मात्र होइन, सबैलाई अत्ति नै उपयोगी ऐतिहासिक कुराहरूको वर्णन गरिएको छ । यस पुस्तिका लेखक इतिहासकार जीवननाथ अधिकारीज्यू धन्यवादका पात्र हुनुहुन्छ ।

Comments