ध्यानको ज्ञान र साधना
बैशाख ३१, २०८१, सोमबार | विहान ०२:३३ बजे | 70
डा इन्दुल केसी
प्रारम्भ
नेपाली साहित्यका हजारौँ पुस्तकहरु प्रकाशन भइसकेका छन् । उपन्यास, कथा, नाटक, कविता, नियात्रा आदि विषयमा विभिन्न लेखकहरुले विभिन्न विधामा लेखिएका पुस्तकहरु दिनहुँजसो प्रकाशित भइरहेका छन् । यस क्रममा मलाई जानकारी भएअनुसार श्री एस.पी. आसाज्यूले २६ ओटा पुस्तकहरु लेखी प्रकाशित गरिसक्नु भएको छ । प्रत्येक प्रकाशित पुस्तकहरुका भिन्ना भिन्नै विशेषता हुने गर्दछन् । एस.पी. आसाज्यूले लेख्नुभएको “छयास्मिस” नामको पुस्तकमा रहेको ‘ध्यानका अनेक प्रकार’ शीर्षकको एउटा लेखमा म केन्द्रित हुन खोजिरहेको छु । एस.पी. आसाज्यू एक सुपरिचित लेखक हुनुहुन्छ भन्ने कुरा उहाँले लेख्नुभएका २६ ओटा पुस्तकका बारे हजारौं पाठकहरुलाई जानकारी भएको हुनुपर्छ । उहाँले लेख्नुभएका ती पुस्तकहरुको साथै स्वदेश तथा विदेशमा रहनुभएका विभिन्न लब्धप्रतिष्ठित विद्वान्हरुले श्री एस.पी.ज्यूको बारेमा लेखिएका आठ ओटा पुस्तकहरु पनि प्रकाशित भइसकेका रहेछन् ।
मेरो यो लेख छयास्मिस पुस्तकको टुक्राटाक्री खण्डमा रहेको एउटा लेख ‘ध्यानका अनेक प्रकार’मा सीमित हुन खोजेको छु ।
ध्यानका अनेक प्रकार
श्री एस.पी. आसाज्यूको त्यो पुस्तकको नाम नै छयासमिस रहेझैँ त्यो लेखमा पनि ध्यानका अनेक प्रकाहरु पनि उहाँकै शब्दमा छयासमिस छ । तर मैले यसलाई छयास्मिस भन्नुभन्दा पनि पायस (खिर) भन्नु उचित ठानँे । जसरी खिरमा दुध, चिनी, विभिन्न मसलाको रुपमा नरिवल, छोकडा, डाक, अलँैची, सुकुमेल आदि मिसाएर मिठो, स्वादिलो, पौष्टिक खाना तयार गरिन्छ, त्यसरी नै ध्यानका अति महङ्खवपूर्ण कुराहरु समिश्रण गरी यो लेख तयार गर्नुभएको छ ।
पूर्वीय आध्यात्मिक दर्शन, धर्मशास्त्र र महापुरूषहरुले ध्यानको बारे भन्नुभएका केही अंशहरु समावेश गरी एस.पी. आसाज्यूले त्यो सङ्क्षिप्त लेख तयार गर्नुभएको छ । उक्त लेखमा श्रीमद्भागवत, गीता, रजनीश, विपश्यनाका ध्यान, भावातीत ध्यान, जैन धर्मको – शरीर ध्यान, योग शास्त्र – हठ योग, सूक्ष्म शरीर र स्थूल शरीर, षडचक्र, पिङ्गला, सुषुम्ना नाडी, ब्रह्मकुमारी राजयोगका अनेकौँ ध्यानविधि, इस्कोनको हरेकृष्ण अभियान आदि कुराहरुका नामहरु उल्लेख गरिएका छन् । लेखक एस.पी. आसाज्यू स्वयम् भन्नुहुन्छ – “मैले जानेका छोटकरी परिचय गराएँ । यहाँ ज्ञानको भण्डार छ । अझ कैयौं लुप्त छन् । जुन तपस्वी र साधकले यो समाजमा फैलाउने छन् ।”
छयास्मिस पुस्तकमा रहेको यो लेख नै छयास्मिसको एउटा नमुना जस्तो भन्ने लाग्छ । ध्यानको एउटा विशाल समुद्रलाई एस.पी. आसाज्यूले लोहोटामा भर्नुभएको देखिन्छ । ध्यानका बारे जान्न चाहने व्यक्तिहरुका लागि त्यो सङ्क्षिप्त लेखले ध्यान मार्गमा लाग्नेहरुका लागि मार्ग निर्देशन गर्नुभएको छ ।
हाम्रा ६ ओटा वैदिक दर्शनहरुमा योगदर्शन पनि एउटा हो । भौतिक शरीरलाई र चैतन्य शरीरलाई ध्यानले जोड्छ । ज्ञानलाई आत्मासँग जोड्ने, द्रष्टा र दृश्यलाई जोड्ने गरिन्छ । यसरी ध्यानको चर्चा गर्दा योग दर्शनको कुरा आउँछ ।
ध्यानबारे अरु थप जानकारी
हाम्रा धर्म शास्त्रहरुमा उपनिषद्को विशेष स्थान छ । विभिन्न नामका १०८ ओटा उपनिषद्हरुमध्ये ध्यानको बारे चर्चा गर्दा (१) योग राजोपनिषद् (२) योग तङ्खवोपनिषद् (३) योग चूडामणि उपनिषद् (४) योग कुण्डली उपनिषद् (५) ध्यान विन्दू उपनिषद्हरुको अध्ययन पनि उपयोगी हुन्छ । यी कुराहरु एस.पी. आसाज्यूले यस पुस्तकमा उल्लेख गर्नुनभए तापनि उपनिषद्का सार कुरालाई छयास्मिस रुपमा राख्नुभएको देखिन्छ । यसैले प्रसङ्गवश मैले उल्लिखित पाँच उपनिषद्हरुको नाम जिज्ञासु पाठकका लागि उपयोगी हुने ठानी यहाँ उल्लेख गरेँ ।
१) रजनीश
ओशो रजनीशज्यूको नाम पनि एस.पी. आसाज्यूले उक्त लेखमा उल्लेख गर्नुभएको छ । वास्तवमा ओशो रजनीशज्यूले ध्यानलाई वैज्ञानिक रुपले चर्चा गर्नुभएको पाइन्छ । उहाँले ध्यानका २१ ओटा सक्रिय विधिहरु, २१ ओटा निष्क्रिय विधिहरु पनि हामीलाई प्रदान गर्नुभएको छ ।
२) विपश्यना
प्रसङ्गवश एस.पी. आसाज्यूले बुद्धको विपश्यना ध्यानको नाम पनि उल्लेख गर्नुभएको छ । शान्त, मौन भई आन पान – केवल श्वासको गति हाम्रो नाकको प्वालबाट प्रवेश गराउने र निष्काशन गर्ने कुरालाई केन्द्रित गरी गरिने क्रियालाई विपश्यना ध्यान भन्ने गरिन्छ ।
अन्तमा
पतञ्जलि ऋषिले अष्टाङ्ग योगको प्रतिपादन गर्नुभएको हो । अष्टाङ्ग योगका आठ ओटा अङ्गहरुमध्ये ध्यान पनि एक अङ्ग हो । ध्यानको सैद्धान्तिक पक्षको ज्ञान र उक्त ज्ञानलाई प्रयोगका रुपमा गरिने क्रिया नै साधना हो । यस साधनाले ब्रह्म तङ्खवको साक्षात्कार हुने बताइन्छ । ध्यानको बारे चर्चा गर्दा (१) शिव सङ्हिता (२) घेरेन्द्र सङ्हिता (३) पतञ्जलि ऋषिले देखाउनुभएको अष्टाङ्गयोग (४) खप्तड स्वामीज्यूको धर्मविज्ञान पुस्तक (५) स्वामी श्री विशुद्धदेवज्यूले रचना गर्नुभएको चरित्र विज्ञान पुस्तक (६) महात्मा सुशीलज्यूले लेख्नुभएको पाशुपत योग पुस्तक इत्यादिले दिएको ज्ञान हासिल गर्नु उपयोगी हुन्छ । पुस्तक मात्र पढेर ज्ञान आर्जन गर्नुभन्दा ध्यानलाई स्वयम्ले प्रयोग गरी – साधनाद्वारा यसबाट पाइने फाइदा प्राप्त गर्नु अति उपयोगी हुन्छ ।
आसा प्रकाशन केन्द्रबाट प्रकाशित यो छयास्मिस पुस्तक नेपाली साहित्यका अनुरागीहरु तथा ध्यानका मुमुक्षीहरुको लागि ज्यादै उपयोगी पुस्तक सङ्ग्रहणीय भएको मैले पाएँ ।