आफैलाई चिनाउने कृति ः जीवन दर्शन
बैशाख २७, २०८१, बिहीबार | विहान ०२:३० बजे | 65
डा इन्दुल केसी
दर्शनको पृष्ठभूमि
प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतनाबारेको विवेचना र विश्लेषण गरिने विधालाई दर्शन भनिन्छ । कुनै विषयमा व्यापक रुपमा यथार्थ परिचय दिने शास्त्र – आध्यात्मिक तथा भौतिक वस्तु चिन्तन वा विश्लेषण गरिएको कथन नै अर्को शब्दमा दर्शन हो । वास्तवमा यो एउटा गहन विषय हो । कुनै कथा, निबन्ध या उपन्यास जस्तो सामान्य पाठकले सजिलै दर्शन बुझिने विषय होइन । विभिन्न विषयका अनेकौँ नामका दर्शनहरु छन् । पूर्वीय दर्शन, पश्चिमा दर्शन, आध्यात्मिक दर्शन, भौतिकवादी दर्शन इत्यादि नामले दर्शनलाई नामकरण गरिएको पाइन्छ । दर्शनबारे लेखिएका अनेकौं ग्रन्थहरु पाइन्छन् । केही पुस्तकहरुका नाम हुन् ः (१) वेदान्त दर्शन (ब्रह्मसूत्र) महर्षि वेदव्यास प्रणित (२) दर्शन शास्त्रको प्रारम्भिक ज्ञान रसियन लेखक – भिक्टर, आफ्ना सयम (३) दर्शन दिग्दर्शन – राहुल सांकृत्यायन (४) सारसङ्क्षेपमा पूर्वीय दर्शन र सारसङ्क्षेपमा पश्चिमी दर्शन पुस्तकहरु – श्री विष्णु अधिकारी (५) पूर्वीय दर्शनको पूनव्र्याख्यान – डा. प्रमोद ढकाल (६) अध्यात्म दर्शन – पवित्र बहादुर खड्का । उल्लिखित पुस्तकहरुले वैदिक दर्शन, भारतीय दर्शन, युनानी दर्शन, इस्लामी दर्शन, बौद्ध दर्शन, युरोपेली दर्शन आदिबारे विशद ज्ञान प्रदान गर्दछ ।
प्रारम्भ (लेखक श्री अर्यालज्यूको सङ्क्षिप्त परिचय)
श्री टीकाराम उपाध्याय अर्यालज्यूले लेख्नुभएको ‘जीवन दर्शन’ पुस्तक हालै मैले पढ्ने सौभाग्य पाएँ । अर्यालज्यू आध्यात्मिक पुस्तकहरुका एक सशक्त लेखक हुनुहुन्छ । उहाँ एक सफल एवं कुशल प्रशासक पनि हुनुहुन्छ । सरकारको उच्च ओहदाहरु– प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय प्रशासक एवं विभिन्न मन्त्रालयहरुका उच्च पदहरुमा सेवा गरी हाल सेवा निवृत्त हुनुहुन्छ । सामाजिक अभियन्ता, आध्यात्मिक चिन्तक हुनुको साथै विभिन्न सामाजिक एवं धार्मिक सङ्घ सङ्स्थाहरुमा आवद्ध भई सक्रिय जीवन यापन गरिरहनु भएको छ । उहाँले लेख्नुभएका (१) नेपालको मुलुकी प्रशासन र प्रशासनिक सुधारहरु (२) सङ्युक्त राष्ट्र सङ्घीय शान्ति सेवामा शाही नेपाली सेनाको सक्रिय योगदान (३) भावनाका तरङ्गहरु (कविता सङ्ग्रह) (४) गीता ज्ञान एवम् जीवन सार र (५) तीर्थ यात्रा पुस्तकहरु नेपाली पाठकहरुको माझ लोकप्रिय रहेका छन् ।
मेरो यो सानो लेखको सन्दर्भ अर्यालज्यूले लेख्नुभएको पुस्तक ‘जीवन दर्शन’ हो । म एक स्वयम् सामान्य पाठकको हिसाबले दर्शन शास्त्रका पुस्तकहरु पढ्न अभिरूचि राख्छु । दर्शन जस्तो अति गहन विषयमा मैले चासो राख्नु भनेको – पौडी खेल्न नजान्ने व्यक्तिले समुद्रमा डुबुल्की मार्ने जस्तो दुरूह प्रयास मात्र हुने ठान्दछु । तैपनि मैले दर्शन शास्त्रका केही पुस्तकहरु चियाइसकेको थिएँ ।
प्रस्तुत ‘जीवन दर्शन’ पुस्तकमा निम्नलिखित शीर्षकका ११ ओटा लेखहरु रहेका छन् । (१) जीवन दर्शन (२) गहना कर्मणोगति (कर्मको गति गहन छ) (३) धर्म (४) सम्भवामी युगे युगे (म युग युगमा अवतरित हुन्छु) (५) सुखमय जीवन (६ं) धूवाँ (७) माकुरो (८) कुर्सी (९) त्रिविधा भवति श्रद्धा (१०) कीर्तियस्य र जीवती (११) युध्यस्व विगत ज्वरः (सन्ताप मुक्त भएर लड) । यी सबै लेखहरु अध्यात्म दर्शनमै आधारित छन् ।
उल्लिखित लेखका शीर्षकहरुले पुस्तकको गहनताको छनक दिन्छन् । पाँच ओटा लेखहरुको शीर्षक सङ्स्कृत भाषामा रहेका छन् । पहिलो लेखको शीर्षकबाटै यस पुस्तकको नाम रहन गएको छ ।
पुस्तकको भूमिका
यस पुस्तकको भूमिकामा प्रा. शिवगोपाल रिसालज्यूको शब्द – “जीवन दर्शनको दर्शन भएपछि” रहेको छ । रिसालज्यूले यहाँ दर्शनको बारे ज्यादै राम्रो शब्द निम्नअनुसार प्रस्तुत गर्नु भएको छ । जीवन नै एउटा दर्शन हो । मृत्यु अर्को दर्शन हो । सृष्टि पनि महान् दर्शन हो । सुसुप्तिमा जगत् छैन । समाधिमा जगत् छैन । नचिताएको बेलमा जगत् छैन भने जगत् कुनै हालतमा पनि छैन । यही हो दर्शनको पनि दर्शन । यही हो सर्वोच्च दर्शन, यही दर्शनलाई आत्मसात् गरी जीवन कालमा नै ब्रह्मात्मै क्यबोध गरी मुक्त हुनु नै जीवनको दर्शन हो । यो पुस्तक (जीवन दर्शन) लाई चिनाउनै पर्दैन, यहाँका प्रत्येक शीर्षक, अनुच्छेद, पङ्क्ति र शब्द–शब्दले बोलिरहेका छन् । यी कति गहन, गम्भीर र गतिशील छन् । यसरी प्रा. शिवगोपाल रिसालज्यूको लेखनीले पुस्तकको अति सुन्दर एउटा तस्बिर प्रस्तुत भएको छ ।
आत्म निवेदन
लेखक श्री टीकाराम अर्यालज्यूले आफ्ना आत्मनिवेदन शीर्षकमा पोख्नुभएको निम्नलिखित कुरालाई पनि यहाँ उद्धृत गर्न सादन्र्भिक ठान्दछु ।
“जीवनदर्शन अत्यन्त गम्भीर र गहन विषय हो । सबैले आफ्नो जीवनको लक्ष्य परमात्मा प्राप्तिलाई बनाउनुपर्दछ भनेर, धर्मशास्त्र, वेद, पुराण, सन्त, महात्मा, तपस्वीहरुले उद्घोषण गर्नुभएको छ । हाम्रो मानवजीवन दर्शन हो, देख्न योग्य हो, दर्शनीय हो । कुनै पनि वस्तुको वास्तविकता बुझ्ने कोसिस नै दर्शन हो । जड र चेतनको सूक्ष्मभन्दा पनि सूक्ष्म तङ्खवलाई केलाएर देखाउनुलाई दर्शन भनिन्छ ।” यसरी अर्यालज्यूले आफ्नो लेखको अन्तमा दर्शनको बारे अझ व्यापक रुपमा निम्नअनुसार व्याख्या गर्नुभएको छ ।
मानव जीवनको जटिलताबारे चिन्तन गरिने मानसिक क्रियाकलाप दर्शन हो । दर्शन दिमागी कसरत मात्र नभएर जीवन पद्धति पनि हो । कुनै पनि ज्ञानको गहिराइतर्फको यात्रा नै दर्शन हो । जीवनमा प्राप्त अनुभूतिहरुको आधारमा बुद्धिको माध्यमले गरिएको अन्तिम सत्यको खोजी नै दर्शन हो । हजारौँ वर्ष पहिलेका तङ्खवजिज्ञासु ऋषिहरुले ज्ञानको ज्योति बालेर यथार्थताको अन्वेषण गरे । त्यही अन्वेषण नै पूर्वीय दर्शनको आधारस्तम्भ बन्यो । मान्छेले जीवन र जगत् अझै विसङ्गत अनुभव गर्न थाल्यो र त्यही विसङ्गतिबाट सङ्गति खोज्ने प्रयास नै मानव जीवनदर्शन हो, अन्तिम सत्यको खोजीमा मानिसले आफूलाई लगाइरह्यो । मृत्युको भयले मानिसलाई छोडेन । पाश्चात्य परम्परामा दर्शनको अर्थ ज्ञानप्रतिको प्रेम अथवा ज्ञानको अन्वेषण भन्ने हुन्छ । भारतीय (पूर्वीय) दर्शनको उत्पत्ति मानसिक असन्तोषको कारण हुन्छ तर पाश्चात्य दर्शनको उत्पत्ति बौद्धिक जिज्ञासाबाट हुन्छ । दर्शनको अध्ययन केवल ज्ञानप्राप्ति मात्र नभएर मोक्षप्राप्ति पनि हो । जीवनको चरम उद्देश्य मोक्षप्राप्ति हो ।
सारसङ्क्षेपमा
हाम्रा पूर्वीय आध्यात्मिक दर्शनका असङ्ख्य शास्त्रहरुमा उल्लेख भएका सङ्स्कृत श्लोकहरुमध्ये लेखक श्री टीकाराम अर्यालज्यूले अति महङ्खवपूर्ण ८० ओटा श्लोकहरुलाई मूल आधार बनाई यो जीवनदर्शन पुस्तक तयार गर्नुभएको देखिन्छ । विशेष गरी गीताका श्लोक, श्रीमद्भागवतका श्लोक, उपनिषदका श्लोकहरु रहेका छन् । सम्पूर्ण शास्त्रहरु कुनै मानवले जीवनभरि अध्ययन गरे तापनि सम्पूर्णरुपमा अध्ययन गर्न सम्भव छैन । केवल पुस्तक अध्ययन गर्नु मात्रको अर्थ पनि छैन । जबसम्म शास्त्रले बताएका कुरालाई आफ्नो जीवनमा उतार्न सकिदैन, त्यसको कुनै मूल्य रहँदैन । मलाई लाग्छ, यो जीवनदर्शन पुस्तकको गहन अध्ययन गरी आफ्नो जीवनमा व्यावहारिक रुपमा उतार्न सकियो भने त्यसको जीवन धन्य हुन्छ । यस्तो महङ्खवपूर्ण पुस्तक तयार गरी प्रकाशन गर्नुभएकोमा श्री अर्यालज्यू धन्यवादका पात्र हुनुहुन्छ । वास्तवमा म पुस्तकको समीक्षक होइन । समीक्षा गर्ने क्षमता पनि ममा छैन । केवल मलाई लागेका २–४ शब्दहरुमात्र टिपोटको रुपमा यहाँ प्रस्तुत गरेको हुँ ।
श्री भीम तामाङज्यूले तयार गर्नुभएको रङ्गीन चित्रद्वारा यो कृतिलाई आकर्षित पारिएको छ । श्रीमती कृष्णकुमारी उपाध्यायले प्रकाशन गर्नुभएको यो पुस्तकको मूल्य मात्र रु.१००।– रहेको छ । आफ्ना माता स्व. श्रीमती शिवधरा उपाध्याय र पिता स्व. कलाधर उपाध्यायप्रति समर्पण गरिएको यो पुस्तक पठनीय र सङ्ग्रहणीय छ भन्ने मलाई लागेको छ । धन्यवाद ।
ॐ शान्तिः शान्ति शान्ति
८८८८