साधना–सूत्र परिचर्चाको आलोकमा
बैशाख २६, २०८१, बुधबार | विहान ०१:०७ बजे | 15
डा इन्दुल केसी
शुभारम्भ
श्री योगाचार्य उद्धवप्रसाद भट्टराईज्यूले आफू लेखक एवं सड्ढलक भई प्रकाशन गर्नुभएको पुस्तक पढ्ने अवसर मैले पाएँ । हृदयस्पर्शी, महानतम् अनुभूति, विशिष्टतम् साधना, आत्मज्ञानपरक, ज्ञानबद्र्धक आध्यात्मिक विचार प्रेरक, भक्तिरसपूर्ण एवं रहस्यमय ज्ञान–विज्ञानले ओतप्रोत भएको जीवनउपयोगी नेपाली भाषामा लेखिएको यो पुस्तक पढ्ने र यसमा रहेका अमूल्य ज्ञान र सिप आफ्ना जीवनमा अवलम्बन गर्नुहुने सबैको जीवन धन्य हुनेछ भन्ने मलाई लाग्छ ।
परिचय
(क) भारतको जम्बु कास्मिरमा जन्मनुभएका स्वामी १००८ सच्चिदानन्द विशुद्धदेव (पूर्णचन्द्र शर्मा)ले दिल्ली विश्वविद्यालयबाट भौतिक शास्त्र, राजनीतिक शास्त्र र दर्शन शास्त्रसमेत तीन विषयहरुमा स्नातकोत्तर गर्नुभएको थियो । साथै वेद, वेदान्त शास्त्र, पुराण, योग, मनोविज्ञान र आयुर्वेद शास्त्रको प्रचुर ज्ञान उहाँले हासिल गर्नुभएको थियो । उहाँले मानसरोवर कैलाश पर्वत नजिकै रहेको गन्धमादन पर्वतमा बिस वर्षसम्म कठोर तपस्या गर्नुभएको थियो । उहाँ चारित्रिक चेतना र आध्यात्मिक ज्ञान प्रसारको सिलसिलामा विश्वका सयौँ मुलुकहरुको यात्रा गरिसकेपछि सन् १९८३ मा नेपाल आउनुभयो । नेपालमा उहाँको बसाइ १८ वर्षमा दाङ जिल्लाको बेलझुण्डी, काठमाडौं स्वयम्भूको गीता मन्दिर, काठमाडौं लाल दरबार तथा काभ्रे जिल्लाको जनागालस्थित हंसदा आश्रममा भएको थियो । उहाँले नेपालमा चरित्र निर्माण सङ्घको स्थापना गर्नुका साथै चरित्र विज्ञान पुस्तक लेखी प्रकाशित गर्नुभयो । नेपालमा हजाराँै शिष्यहरुलाई चरित्र योग–ध्यान आदिको शिक्षा दिनुका साथै सयौँ जनालाई दीक्षा प्रदान गर्नुभयो । स्वामी विशुद्धदेवका शिष्यहरुमा तत्कालीन दरवारका उच्च पदमा रहेका शाही परिवार, राणा परिवारका व्यक्तिहरु, निजामती, सैनिक, बहालवाला तथा भूतपूर्व कर्मचारीहरु, प्रोफेसर, लेखक बुद्धिजीवी तथा सयौँ महिला र सज्जनहरुले उहाँसँग प्रत्यक्ष साक्षात्कार गरी दिव्य चारित्रिक ज्ञान हासिल गरेका थिए । यसै क्रममा उक्त पुस्तकका लेखक श्री उद्धवप्रसाद भट्टराई र यो लेखको पङ्क्तिकार म स्वयम्ले पनि उहाँबाट ज्ञानगुनका शिक्षा प्राप्त गर्नुको साथै दीक्षित हुने सौभाग्य पाएका थियौँ ।
यहाँ चर्चा गर्न लागेको उक्त पुस्तकमा २६८ पृष्ठ छन् । यसको आकर्षक आवरण कला श्री माधवप्रसाद भट्टराईज्यूबाट तयार गरिएको स्वामी विशुद्धदेवज्यूको रङ्गीन चित्रले सजिएको छ । यो पुस्तक पाँच भागमा विभक्त छ । प्रथम भागमा सनातन चारित्रिक पुरूष श्री १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवज्यूसँग साक्षात्कार भएका स्वर्णिम ज्ञान र अनुभूतिहरुअन्तर्गत विभिन्न सात ओटा लेखहरु छन् । दोस्रो भागमा वैदिक ऋषिहरुको विचरण स्थल–हिमालय क्षेत्रको सामान्य परिचयअन्तर्गत पाँच ओटा लेखहरु छन् । तेस्रो भागमा स्वर्णिम साधना एवम् चिन्तन अन्तर्गत २४ ओटा लेखहरु छन् । चौथौं भागमा श्रीमद्भागवत् महापुराणसँग सम्बन्धित केही दिव्य ज्ञानमय कथा अन्तर्गत पाँच ओटा लेखहरु छन् । पाँचाँै भागमा केही दिव्य महापुरूषहरुको सङ्क्षिप्त जीवनकथाअन्तर्गत पाँच ओटा लेखहरु छन् । यसरी यस पुस्तकमा जम्मा ४३ ओटा साहै्र गहकिला लेखहरु रहेका छन् । यो पुस्तक तयार गर्न लेखकले सन्दर्भ सामग्रीको रुपमा ३८ ओटा विभिन्न पाठ्य सामग्रीहरुको फेहरिस्त पनि उल्लेख गर्नुभएको छ ।
(ख) लेखक श्री उद्धव प्रसाद भट्टराईज्यूका आर्थिक, सामाजिक, आध्यात्मिक, शैक्षिक, राजनैतिक, प्रसिद्ध माहात्माहरुको जीवनी तथा सन्देश र चारित्रिक चेतना सम्बन्धी लेख रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भै रहेको हँुदा धेरै पाठकहरुमा उहाँ परिचित व्यक्ति हुनुहुन्छ । यस पुस्तकको बारे अझ बढी बुझ्न चाहनुहुने महानुभावहरुले लेखक श्री योगाचार्य, उद्धव भट्टराईज्यूलाई (फोन नं. ९८४१३४५०६९) मा सम्पर्क राख्न सक्नुहुनेछ ।
यस पुस्तकका बारे तीन जना विशिष्ट महानुभावहरुको उद्गार
१. तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य डा. स्वामी प्रपन्नाचार्यज्यूले आफ्नो शुभकामना मन्तव्यमा लेख्नुभएको छ— “.......मेरा अनन्य मित्र स्वामी विशुद्धदेवजीलाई अँगालेर उद्धवप्रसाद भट्टराईजीले स्वामीजीको बारेमा एउटा परिच्छेद नै पूरा लेखेर स्वामीजीको धेरै ऐतिहासिक कुरा प्रस्ट पार्नुभएको छ । यो अत्यावश्यक काम थियो । जो उद्धवजीले पूरा गर्नुभएको छ ।”
२. शङ्कराचार्य मठ, देवपतन पशुपतिका डा. स्वामी रामानन्द गिरीजीले शुभ सम्मतिमा लेख्नुभएको छ — “...... यस ग्रन्थमा योगाचार्यज्यूले गागरमा सागर भरेझँै जीवनका लागि अत्यन्त उपयोगी, अमूल्य रत्नहरुको सङ्ग्रह गर्नुभएको छ । यो ग्रन्थमा के छैन ? सद्गुरूको लक्षण यस ग्रन्थमा छ भने सत्शिष्यको लक्षण पनि त यसमा छ ।”
३. राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूले आफ्नो मन्तव्यमा लेख्नुभएको छ —“.......महर्षि विशुद्धदेव एवम् दिव्य साधना–सूत्र” नामक पुस्तकका प्रणेता – योगाचार्य उद्धवप्रसाद भट्टराईज्यूले महर्षिको जीवनचरित्रलाई सरल शैलीमा लेखेका छन् र स्थिति गत्यात्मक दर्शनलाई पनि रोचक शैलीमा लेखेका छन् ।
अन्त्यमा
मस्तिष्कमा समझदारी ! काँधमा जिम्मेवारी !! हृदयमा इमान्दारी भन्ने स्वामी विशुद्धदेवज्यूको महान्वाणीलाई आत्मसात् गरी लेखकले लेखेका यस पुस्तकमा रहेका सबै लेखहरु रोचक छन् र ज्ञानवद्र्धक छन् । मानव जीवनमा चरित्रको ठुलो महङ्खव रहन्छ । सबै मानिसहरु चरित्रवान् हुन सके यो धर्ती नै स्वर्ग हुनेछ । चरित्रवान हुनुका साथै मानिसहरुलाई सही शिक्षादीक्षा प्राप्त हुन जरूरी छ । यसरी नै मानिसहरु निरोगी हुनु पनि अत्यावश्यक छ । यसका लागि अति महङ्खवपूर्ण कुराहरु— योग सङ्स्कृति, आध्यात्मिक साधना, योगसाधना, अष्टाङ्ग योग–यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान, निर्वाण वा समाधिका बारे पनि यस पुस्तकमा विषद्रुपमा चर्चा गरिएको पाइन्छ । अर्काे यस पुस्तकको विशेषताको रुपमा श्रीमद्भागवत् महापुराण महात्म्य, ऋषि गुरू दत्तात्रय, भगवान् श्री कृष्ण, सन्त तुलसीदास, माहात्मा गौतम बुद्ध र शिवपुरी बाबाको बारे पनि समुचित चर्चा गरिएको छ । शुभम् ।
८८८८