नगर प्रमुखसँग विस्थापित शिक्षकहरूको भेट
बैशाख २१, २०८१, शुक्रबार | विहान ०५:४० बजे | 30
भक्तपुर। भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिसँग बिहिवार कार्यकक्षमा विस्थापित शिक्षकहरूको भेट भयो । भेटको क्रममा उहाँले नयाँ पदस्थापन भई आएका स्थायी शिक्षकहरूको चार दिने पाठयोजना निर्माण तालिम सञ्चालन भएको समयमा भक्तपुरका विद्यालयमा शिक्षक लगायत विभिन्न समस्याहरुको समाधानका लागि समय दिएको बताउनुभयो । उहाँले चालु आव २०८०/८१को नीति तथा कार्यक्रममा समावेश भएको स्वयंसेवक शिक्षक व्यवस्था बारे आवश्यक छलफल भइरहेको बताउँदै मावि स्तरको विद्यालयमा आफ्नै स्रोत भएकोले स्वयंसेवक शिक्षक माग नभएको तर आधारभूत विद्यालय सञ्चालनमा समस्या आएकोले स्वयंसेवक शिक्षक माग भएको बताउनुभयो । भेटमा विस्थापित शिक्षकहरूले चालु आव २०८०/८१ को नीति तथा कार्यक्रममा समावेश भएको स्वयंसेवक शिक्षकको व्यवस्थालाई मूर्त रुप दिई सेवा निरन्तरता तथा विद्यालयमा बाँकी रिक्त दरबन्दीमा तिनै विस्थापित शिक्षकलाई स्वतः पदस्थापनको माग गरेका छन् । उक्त भेटमा सामुदायिक विद्यालयमा करारमा नियुक्ति हुँदा शिक्षक सेवा आयोगकै पाठ्यक्रम अनुसार परीक्षा दिइ विशेषज्ञ शिक्षकबाट छनोट समितिको निर्णय बमोजिम विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा विद्यालयको शैक्षिक तथा भाैतिक स्तर उकास्न नेपाल सरकारको नियमित तलबमा ३५ प्रतिशत सम्म कटौती गरेका शिक्षकहरू सहभागी भएको छ ।