वेदको मन्त्र नेपाली गीतमा —
बैशाख १६, २०८१, आइतबार | दिउँसो ०२:५३ बजे | 25
अथर्ववेदको मन्त्र ‘अयमात्मा ब्रह्मः’ लाई आध्यात्मिक गीतमा ढालिएको छ । उक्त गीत शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीको लेखन, सङ्गीत र स्वरमा वैशाख १६ गते इ. रोशन अधिकारीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । वेदको मन्त्रलाई नेपाली गीतमा ल्याउने क्रम हरि मञ्जुश्रीले नै सुरु गर्नुभएको हो । यसअघि उहाँले आफ्नै शब्द, सङ्गीत र स्वरमा ऋग्वेदको मन्त्र ‘प्रज्ञानं ब्रह्मः’ लाई गीति स्वरूप दिनुभएको थियो । ‘अयमात्मा ब्रह्मः’ आध्यात्मिक गीत ७ मिनेट ५ सेकेन्डको छ । हरि मञ्जुश्रीको यो तेस्रो आध्यात्मिक गीत हो । उहाँले नीलकण्ठेश्वरको आरती पनि प्रस्तुत गरिसक्नुभएको छ । ‘अयमात्मा ब्रह्मः’ आध्यात्मिक गीतका निर्माता सकुल थापा, प्रस्तुतकर्ता इ. रोशन अधिकारी र वाद्यसंयोजक बालकृष्ण सेवाचार्य हुनुहुन्छ । यस गीतले आत्मा नै ब्रह्म हो, ब्रह्म नै ईश्वर हो, तसर्थ हरेक मानिस ईश्वर हो भन्ने सन्देश प्रवाह गरेको छ ।