स्वर्गीय श्रीमती सावित्रीको सम्झना


बैशाख १४, २०८१, शुक्रबार | विहान ०४:४८ बजे | 25


स्वर्गीय श्रीमती सावित्रीको सम्झना

डा. इन्दुल केसी
आजभन्दा ५४ वर्षपहिले २०२६ सालको एक दिन मेरो परिवारमा घटित एउटा घटना आज २०८० सालमा याद आयो । उक्त घटनाबारे आज सम्झनामा जे आयो, त्यो एक यथार्थ हो । यसमा कुनै काल्पनिक कुरा छैन । 
भक्तपुर नगरपालिका — ४ मङ्गलाछें टोल, जहाँ म जन्मेँ, हुर्कें, जुन घरबाट २०२४ साल आषाढ महिनामा टोलका छरछिमेकी, दाजुभाइ, इष्टमित्र सबैलाई वरियातीका रूपमा लगी ललितपुर मानभवनका ब्रिगेडियर जनरल श्री लक्ष्मी शमशेर जङ्गबहादुर राणाकी छोरी सुश्री सावित्री राणालाई हिन्दू संस्कार अनुसार कन्यादान मागी विवाह गरी श्रीमतीका रूपमा मेरो घरमा प्रवेश गराएको थिएँ । तिनैको कोखबाट मेरी पहिली पुत्री रजनी केसी जन्मेकी थिइन्, जुन त्यति बेला दुईवर्षे सानी केटी थिइन् र एक वर्षको मेरो छोरो उज्वल केसी, एकहत्तर वर्षकी मेरी आमा शेरकुमारी तथा मेरो सहोदर भाइ बलराम केसी समेत जम्मा ६ जनाको मेरो परिवार थियो । 
एक दिन एकाबिहान सबेरै मेरी श्रीमती सावित्रीलाई अति रक्तस्रावका कारणले फुस्रो नीलो र बोल्नलाई पनि कठिन स्थितिमा ऐया–ऐया भनेर छटपटाइरहेको मैले पाएँ । घर वरिपरिका छिमेकी दिदी–भाउजूहरूलाई सहयोगको याचना गर्दै घटनाको विवरण सुनाउन 
पुगेँ । तत्काल मेरो घरमा भेला हुन आउनुभएका तीन–चारजना महिलाको सल्लाह अनुसार मेरी श्रीमतीलाई अस्पताल लैजानुपर्ने अन्यथा ज्यानको जोखिम हुने जानकारी पाएँ । आमाले ‘बाबु ! तुरुन्तै तिम्री दुलहीलाई अस्पताल लैजाऊ’ भन्ने आज्ञा भयो । 
झिसमिसे अलिअलि उज्यालो मात्र भएको त्यो समयमा म दौडेर भक्तपुर इताछेँ टोलको देव बाटीको चिया पसलमा गएँ । उहाँ त्यो व्यवसाय गर्नुका साथै आफ्नो सानो ट्याक्सी गाडी पनि आफैँ हाँक्नुहुन्थ्यो । मैले तत्काल गाडीबाट मेरी श्रीमतीलाई अस्पताल पु¥याइदिन आग्रह गरेँ । उहाँले आफ्नो गाडी मेरो चोकको छेउसम्म ल्याउनुभयो । अचेत अवस्थामा रहेकी मेरी श्रीमतीलाई त्यहाँ भेला भएका तीन–चारजना महिलाहरू र म स्वयम्ले बोकेर गाडीसम्म पु¥यायौँ । देव दाइले गाडी भक्तपुर अस्पतालमा पु¥याउनुभयो । इमर्जेन्सी अवस्थामा रहेकी बिरामीलाई तत्कालीन मेडिकल डाक्टर त्रिभुवनानन्द वैद्यले जाँच्नुभयो र एउटा ग्लुकोज सलाइन दिनुभयो । मैले नजानेका केही औषधि पनि अस्पतालकै तर्फबाट पिलाउनुभयो । 
बिरामीको अवस्था केही सुधार भएको आभास मिल्यो । उक्त डाक्टरले मलाई भन्नुभयो — ‘इन्दुल ! तिम्री श्रीमतीलाई रगत दिनुपर्ने आवश्यकता छ । तर यस अस्पतालमा रगत दिने व्यवस्था नभएको हुँदा तत्काल काठमाडौँको वीर अस्पतालमा लैजानू’ भन्ने सल्लाह दिनुभयो । साथै बिरामीलाई वीर अस्पताल रेफर गरेको पत्र पनि थमाउनुभयो । 
त्यो बेला रगत दिने भनेको के हो, रगत पाइने स्रोत के हो, सो सम्बन्धी जानकारी मसँग थिएन । त्यसैले मैले डाक्टरसँग रगत कहाँबाट प्राप्त गर्ने ? पैसा लाग्ने नलाग्ने, लागे कति लाग्ने भनेर मैले सोधेँ । उहाँले मलाई बताउनुभयो — “यो मैले लेखेको रेफर पत्र लिएर त्यहाँको इमर्जेन्सी वार्डमा पु¥याउनू । तत्काल बिरामीको रगत समूह जाँचिनेछ र सो समूहको रगत प्रतिपिन्ट एक सय बीस रुपियाँमा किन्नुपर्नेछ ।” 
मैले आफ्नो खल्ती छामेँ । मसँग त्यति बेला केवल साठी रुपियाँ मात्र थियो । त्यति रुपियाँले न त मैले बिरामीलाई काठमाडौँ लैजान सक्थेँ, न त रगत किन्नलाई नै त्यो रकम पर्याप्त थियो । मैले लाजै नमानीकन डाक्टर त्रिभुवनानन्द वैद्यलाई भनेँ — “डाक्टर साहेब ! अहिले मसँग साठी रुपियाँ मात्र छ । बिरामीको अवस्था गम्भीर छ । घरमा पुगी छरछिमेकीसँग सापटी लिने अवस्था पनि छैन । त्यसैले तपाईं मलाई केही रकम सापटी दिन सक्नुहुन्छ ?’ 
तत्काल डाक्टर साहेबले मलाई रु. तीन सय सापट दिनुभयो र भन्नुभयो — “ढिलो नगर्नू । बिरामीलाई सकभर छिटो वीर अस्पताल पु¥याउनू ।” 
त्यो बेला भक्तपुर अस्पतालमा एम्बुलेन्सको व्यवस्था पनि 
थिएन । मैले श्रीमतीलाई अस्पताल लगेको गाडी स्ट्यान्डबाई थियो । ‘मेरी श्रीमतीलाई छिटै वीर अस्पताल पु¥याइदिनुस्’ भनेँ  । मेरी श्रीमती र मलाई हुइँक्याएर आधा घन्टामा वीर अस्पतालको इमर्जेन्सी वार्डमा पु¥याउनुभयो ।
इमर्जेन्सी वार्डमा खबर गरेपछि त्यहाँका कर्मचारीहरूले स्टे«चरमा राखेर मेरी श्रीमतीलाई भित्र पु¥याए । ड्युटीमा रहनुभएका डाक्टर र केही नर्सहरूले के जाँच्नुभयो, के गर्नुभयो, मलाई केही थाहा थिएन । त्यहाँ पनि अर्को सलाइन दिन थाल्नुभयो र ‘तपाईंकी श्रीमतीको रगत ओ पोजेटिभ हो, त्यो समूहको रगत दुई पिन्ट तुरुन्त किनेर ल्याउनुस्’ भन्नुभयो । मलाई थाहा थिएन रगत पसल कहाँ छ ? मेरो प्रश्नको जवाफमा ती नर्स बहिनीहरूले मलाई बताए — ‘त्यहाँ बाहिर जानुस् र यो कागत देखाएर ओ पोजेटिभको रगत चाहियो भन्नुस् । ओ पोजेटिभ रगत भएको व्यक्तिलाई भित्र लिएर आउनुस् ।’ 
नर्सको सल्लाह अनुसार म बाहिर गएँ र भनेँ — “यहाँ ओ पोजिटिभ रगत भएको को हुनुहुन्छ ?” 
‘म छु, म छु’ भन्दै तीन–चारजना मेरा अगाडि दौडँदै आइपुगे । त्यसमध्येका दुईजनालाई भित्र लगेँ र मेरी श्रीमती रहेको बेडको छेउमा उभिएका डाक्टरका अगाडि पु¥याएँ । 
डाक्टरले नर्सहरूलाई ‘उहाँहरू दुईजनाको रगत जाँचेर मिलेछ भने एक–एक पिन्ट झिक्नू’ भनेर अह्राउनुभयो । संयोगवश दुवैको रगत मेरी श्रीमतीको रगतसँग मिल्दो रहेछ । दुवैलाई शुल्क बुझाएँ । नर्सले दुवैको रगत झिके । तत्काल त्यो रगत मेरी श्रीमतीको शरीरमा एक–एक पिन्ट गरी चढाइयो । फेरि मलाई डाक्टरले ‘झोल र तात्तातो दाल लिएर आउनुस्’ भनी अह्राउनुभयो । उहाँको निर्देशन अनुसार मैले किनेर लगेको दाल नर्सहरूको चम्चाले श्रीमतीको मुखमा हाल्दै पिलाउनुभयो । यतिन्जेलसम्ममा बिहानको साढे नौ बजिसकेको 
थियो । डाक्टरले भन्नुभयो — “तपाईंकी श्रीमतीलाई अब यहाँ भर्ना गर्नुपर्छ । उहाँ खतरामुक्त भइसक्नुभयो । अब दिउँसोसम्ममा अरू दुई पिन्ट रगत आवश्यक पर्न सक्नेछ ।” 
त्यतिन्जेलसम्ममा डाक्टरले लेखिदिएका केही औषधि पनि मैले खरिद गरिसकेको थिएँ । मेरो खल्तीमा अब रु. बीस मात्र बाँकी 
थियो । नर्सहरूले मलाई भन्नुभयो — “तपाईंसँग बिरामी कुर्ने अर्को मान्छे को छ ?” 
मैले जवाफ दिएँ — “हाल मसँग कोही छैन । म एक्लै आएको, आवश्यक परे भक्तपुर गएर कुरुवा बोलाएर ल्याउनेछु ।”
नर्सहरूले भन्नुभयो — “तपाईं पीर नगर्नुस् । तपाईंले मुख पनि धुनुभएको रहेनछ । अब हामी हेर्छौं । गएर चियासिया खानुस् र कुरुवा लिएर आउनुस् ।” 
त्यतिखेर घरमा खबर गर्न फोनको व्यवस्था पनि थिएन । त्यसैले मैले मेरो भाइ बलरामलाई कुनै खबर गर्न पाइनँ । नर्स बहिनीहरूलाई मेरी श्रीमतीलाई म नफर्कुन्जेल स्याहार गर्न आग्रह गरेँ र सहयोगका लागि धन्यवाद दिएँ । नर्स बहिनीहरूले ‘तपाईं धन्दा नमान्नुस्, निश्चिन्त भएर जानुस्, तपाईं नफर्कनुभएसम्म हामी हेरिदिन्छौँ’ भन्नुभयो । 
म वीर अस्पतालबाट बाहिर निस्केँ । अस्पतालको बाहिर पेटीमा मेरा मित्र तत्कालीन शाखा अधिकृत श्री विदुर केसी सिंहदरबार कार्यालय जानका लागि हिँड्दै आइरहनुभएको भेटेँ । विदुरजीले मलाई सोध्नुभयो — “यति बेलासम्म कार्यालय नगई यहाँ किन इन्दुल ?” 
मैले बिहानदेखिको घटनाक्रमलाई सङ्क्षिप्तमा सुनाएँ र भनेँ —“श्रीमतीलाई अस्पतालमा भर्ना गरिएको छ, तर मेरो खल्तीमा अब बीस रुपियाँ मात्र छ, के तपाईं केही रकम सापटी दिन सक्नुहुन्छ ?” 
उहाँले मलाई आफ्नो गोजी छामछुम गरी एक सय रुपियाँ दिनुभयो । विदुरजीलाई धन्यवाद दिँदै म रत्नपार्क नजिकको भक्तपुर बसपार्कमा आएँ । बस चढी भक्तपुर पुगेँ । मलाई याद छ त्यति बेला घरमा पनि मसँग अरू कुनै रकम जगेडा थिएन । सरासर मेरो टोलमा पुगी कपडा पसल चलाइरहेका मेरा मित्र शम्भुराम श्रेष्ठलाई सारा कथा सुनाएँ । तत्काल उहाँले मलाई सापटीस्वरूप रु. एक हजार दिनुभयो । घरमा गएर मैले आमा र भाइलाई सम्पूर्ण घटनाको विवरण सुनाएँ । मुख धोई एक गाँस भाग खाएँ । तत्काल मेरी भाउजू नाताकी एउटी महिलालाई लिएर इताछेँमा गाडीको भाडा बुझाउन गएँ । उहाँले ‘किन आजै दिनुप¥यो ? भोलिपर्सि दिँदा पनि त हुन्छ’ भन्नुभयो । त्यसपछि भक्तपुर अस्पताल पुगी डाक्टर त्रिभुवनानन्द वैद्यको रु. तीन सय पनि बुझाएँ । उहाँले पनि सोध्नुभयो । सबै कुरो बताएँ । 
मेरी भाउजू र म तत्काल भक्तपुर बसपार्कबाट बस चढी वीर अस्पताल पुग्यौँ । इमर्जेन्सी वार्डमा पुगी हेर्दा मैले मेरी श्रीमतीलाई देखिनँ । म अलिकति आत्तिएँ । बिहानका नर्सहरू पनि देखापरेनन् । उहाँहरू आफ्नो ड्युटी सिध्याएर गइसक्नुभएको रहेछ । मैले ड्युटीमा रहेका नर्सहरूसँग बिहानदेखिको बेलिबिस्तार लगाएर सोधेँ । उहाँहरूले मेरी श्रीमती जनरल वार्डमा सिफ्ट भइसकेको जानकारी दिनुभयो । 
तत्काल मेरी भाउजू र म मेरी श्रीमती रहेको वार्डमा पुग्यौँ । श्रीमतीलाई देखेँ । श्रीमतीको अवस्था बिहानको भन्दा निकै सुधारिएको र केही बोल्न सक्ने अवस्थामा पाएँ । अस्पतालकै बिहानको खाना खाइसकेकी रहिछन् । त्यहाँका नर्सहरूले मलाई पुनः अर्को चिट 
दिनुभयो । अर्को दुई पिन्ट रगत तुरुन्तै ल्याउन र बिरामीलाई तागतिला जुसहरू जे खुवाए पनि हुन्छ भन्नुभयो । मैले बिहानकै तरिकाबाट दुई पिन्ट रगत र केही जुस नर्सलाई उपलब्ध गराएँ । 
मेरी भाउजू र मैले बिरामी कुरुवाका रूपमा त्यस रात वीर अस्पतालमै बितायौँ । त्यस वार्डभित्र पुरुष बस्न नमिल्ने भएकाले त्यस रात वीर अस्पतालको बाटोमा राखिएको बेन्चमा सुतेको थिएँ । 
उक्त कुरा अब इतिहास भइसक्यो । मेरी श्रीमती सावित्री २०८० साल आश्विन २१ गते काठमाडौँ महाराजगन्जस्थित टिचिङ हस्पिटलमा आफ्नो देह त्यागी परलोक भइन् । यस दुःखद घडीमा समवेदना दिनुहुने सम्पूर्ण सङ्घ, संस्था एवं महानुभावहरूलाई म हार्दिक धन्यवाद अर्पण गर्दछु । 

फाेटाेमा हेर्नुहाेस्...

स्वर्गीय श्रीमती सावित्रीको सम्झना

Comments