हाम्री जननी


बैशाख १३, २०८१, बिहीबार | विहान ०८:२८ बजे | 40


हाम्री जननी

रजनी केसी मानन्धर 

संसारकै सबैभन्दा प्यारी हे आमा !
अनित्य यो संसारमा छैन नित्य केही 
अनित्यताको यही भुमरीमा 
अनित्यताको यही शाश्वत सत्यतामा 
छोराबुहारी, छोरीज्वाइँ, नातिनातिना, साथीसँगी 
सबलाई छोडी त्यागेर यो नश्वर देह अनि 
आफ्नो सौभाग्यका प्रतीक 
श्रीमान समेतको यो ब्रह्माण्ड 
हो, तिमी गयौ, 
सम्झनामा सीमित गरी तिमी गयौ । 

जीवनले काँचुली फेरेको यो बेला 
तिम्रो माया अनि वात्सल्यमा रमाएको यो परिवारको 
तिमीले सँगालेका आफन्त अनि इष्टमित्रको 
श्रद्धाले चढाएका पुष्पगुच्छाका सुगन्ध लिएर जानु 
परिवारजनको अनन्य असीमित माया लिएर जानु 
हाम्रा अश्रुमिश्रित नयनको प्रेम लिएर जानु 
सबैको स्नेहयुक्त श्रद्धा शब्दथुँगाका भाव लिएर जानु । 

यो एक जुनीमा 
तिमीले भोगेका पलहरू साक्षी छन् 
तिमीले निर्माण गरेको धरातलले बोल्नेछन् 
तिम्रो आत्माले 
अब फेरि अरूको कोख खोज्नु नपरोस् 
तिम्रो आत्माले 
जन्ममरणको चक्रमा पर्नु नपरोस् 
आमा तिमीलाई हार्दिक श्रद्धाञ्जली 
आमा तिमीलाई भावपूर्ण श्रद्धाञ्जली 
आमा तिमीलाई गहिरो श्रद्धाञ्जली ।

तिम्रो आत्माले सुखावती भुवनमा बास पाओस् 
तिम्रो देहले ब्रह्माण्डमा विलीन हुन पाओस् 
तिम्रो अटुट सम्झना हामीमाझ सदा रहने गरी आमा 
तिमी जानु, तिमीलाई अलबिदा 
आमा तिमी जानु, तिमीलाई अलबिदा ।
.............................................................................................

Comments