मैले चाल नपाएको २०७२ सालको त्यो महाभूकम्प


बैशाख १२, २०८१, बुधबार | साँझ ०४:१६ बजे | 45


मैले चाल नपाएको २०७२ सालको त्यो महाभूकम्प

कृष्णराम किसी 
आज बैशाख १२ अर्थात् २०७२ सालमा भूकम्प आएको दिन । बारपाक केन्द्रविन्दु भएर नेपालमा आजकै दिन विनाशकारी भूकम्प गएको थियो । यही भूकम्पले धेरैको ज्यान लियो । काठमाडौंकै कुरा गर्ने हो भने धेरै घरहरु ध्वस्त भए । 
भूकम्प गएको पनि नौ वर्ष वितिसकेको छ । दुर्भाग्य अहिलेसम्म पनि मानिसहरु टहरामै छन् । चाहेर पनि विविध कारणहरुले घर बनाउन पाइरहेका छैनन् । यो हामी सवैको लागि दुःखको विषय हो । भूकम्प गएको यति वर्ष वितिसक्दा पनि न सरकारको ध्यान छ न त अरु एवीसीडीको नै । विचरा गरिव जनता पीडामै जीवन गुजार्न बाध्य छन् । 
मेरो झण्डै २५ वर्षको पत्रकारिताको यात्रामा भुल्नै नसकिने एकजना पत्रकार मित्र हुन् गोपाल बराइली । मेरा उही अनन्य मित्रकै सहयोगमा रिर्पोटिंगको लागि पश्चिम नेपालमा हामी एउटा टोली थियौ । ललितपुरमा केन्द्रिय कार्यालय रहेको दलितसँंग सम्वन्धित एउटा एनजीओको आयोजनामा हामी वैशाखको पहिलो हप्तामै सुदुरपश्चिम हुइकिएका थियौं । 
सुदुरपश्चिमको कैलाली, कञ्चनपुरको रिपोर्टिगमा हाम्रो टोली थियो । त्यस क्रममा हामी नेपाल छोडेर पनि आउने अर्काे नेपाल चाँंदनी दोधारामा पनि पुगेका थियौं । नेपालको सिमाना कटेर भारतीय भूमि हुँंदै फेरि नेपाल नै चाँंदनी दोधारामा पनि हामी गएका थियौं । 
झण्डै एक हप्ताको भ्रमण सकेर हामी गाडीबाट कञ्चनपुरबाट धनगढी विमानस्थलमा फर्कैदै थियो निजी गाडीबाट समूह नै । तर जव हामी धनगढी विमानस्थलमा पुग्न बाटोमा आउँंदै थियौ, त्यही बेला काठमाडौंमो ठूलो भूकम्प गएको खवर हामीले पायौं । तथापि हामीलाई खासै चिन्ता लागेन किनकि यति ठूलो भूकम्प गयो र यति धेरै क्षति पुगेको होला भनेर हामीले कल्पनासम्म गरेनौं । 
यसरी नै सामान्य मानेर हामी विमानस्थलतर्फ पुग्यौं । त्यहाँं विमानको प्रतीक्षामा रहयौं । तर विमान त पुग्यो तथापि चढन पाएनौं । खवर आयो काठमाडौंमा ठूलो भूकम्प गएर त्रिभुबन विमानस्थल नै अवरुद्ध भयो अर्थात् विमानस्थलबाट विमान उड्न पनि छोड्यो र रोकिन पनि अर्थात् अवतरण पनि बन्द भए । त्यसपछि हामी त्यही अलपत्र परयौं । हवाइजहाजबाट आउन सम्भब नभएपछि हामी त्यही रातको नाइट गाडीमा हामी काठमाडौको लागि हिडयौं । भोलिपल्ट दिउँसो काठमाडौं पुगियो । काठमाडौ पुग्दा त भएभएरका घरहरु सवै ध्वस्त भएको देखियो ।

Comments