फूलको श्रद्धाञ्जली


बैशाख १२, २०८१, बुधबार | विहान ०२:२६ बजे | 65


फूलको श्रद्धाञ्जली

नवीना श्रेष्ठ
डा. इन्दुल केसी बहुआयामिक व्यक्तित्वका धनी व्यक्तिसँग सुपरिचित हुने सुअवसर शब्दयात्रा प्रकाशन बनेपा र साहित्यकार श्री पशुपतिमान पःमाज्यूमार्फत श्री स्वस्थानी व्रतकथा पुस्तक प्रकाशित गर्ने क्रममा भएको हो । यसै क्रममा डा. इन्दुल केसीकी श्रीमती सावित्री केसी अस्वस्थ्य हुनुभई स्वास्थ्यलाभको क्रममा भक्तपुरस्थित सिद्धिस्मृति भवनमा सुस्वास्थ्यको कामना गर्न गएकी थिएँ । साँझ–साँझपख एकै क्षण सावित्री केसी दिदी र उहाँकी सुपुत्रीसँग पनि भेटघाट गर्न सुअवसर प्राप्त भएको स्मरण हुन्छ । डा. इन्दुल केसीजस्तै उहाँका पारिवारिक सदस्यहरू पनि सहृदयी र मिलनसार पाएँ । दोस्रोपटक सावित्री दिदीलाई भेट्ने सौभाग्य श्री स्वस्थानी व्रतकथा लेखनकै क्रममा छलफल गर्न भक्तपुरमा भएको समयमा म र भाइ हरि मञ्जुश्री डा. इन्दुल केसीको भक्तपुरको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको ब्रह्मपुर चोकको बासस्थानमा मिलेको थियो । दिदीसँग रमाइलो भलाकुसारी गर्दै मीठो खाना खायौँ । घरका मतान, चोटा र बुइँगल हुँदै कौसीसम्म पुगेर घरको दैनिक आवश्यकतादेखि सांस्कृतिक सम्पदाका सरसामानहरूको व्यवस्थापन आकर्षक ढङ्गले कुशलतापूर्वक व्यवस्थापन गरिएको देख्यौँ । फेरि सशरीर भेट्ने अवसर भने पाएनौँ । तर बेलाबखत फोन र भाइबरमा कुराकानी त हुन्थ्यो । 
२०८० असोज २२ गते सोमबार दैनिक प्रभातीय नित्यकर्म पूजापाठ सकेर केही समाचार पाउन ‘फेसबुक’ खोलेँ । अचानक आँखा हरि मञ्जुश्रीको पोस्टमा प¥यो — ‘डा. इन्दुल केसीलाई पत्नीशोक’ । अहो ! कस्तो दुःखद समाचार । 
केही समयपश्चात् डा. इन्दुल केसीसँग फोन सम्पर्क गरेँ । दुःखमनाउ गरेँ मृत्यु एक तीतो सत्य सबले सामना गर्नुपर्ने । मर्नु ठाउँ फेर्नु मात्र हो । यो लामो निद्रा सुत्नुजस्तो मात्र भन्छन् । कतै फेरि देहान्तरणको यात्रा सुरु हुन्छ भन्छन् । तर पनि वियोगको पीडा त हुँदै हो । २०८० असोजमा हामी पनि त्यस दुःखद क्षणको साक्षी बनेर सावित्री दिदीको सतगतको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न कोटेश्वर महादेवको परिसरमा रहेको क्रियापुत्री भवनमा उपस्थित 
भयौँ । डा. इन्दुल केसी तथा उहाँका परिवारजनको दुःखद घडीको साथी बन्यौँ । डा. इन्दुल केसीको श्रीमती गुमाउन तथा सन्ततिलाई माता गुमाउनुको गहिरो पीडा त छँदै थियो, तापनि उहाँहरू आफूहरूलाई  आगन्तुकहरूका सामु सहज स्वरूपमा प्रस्तुत भइरहनुभएको पाएँ । जति दुःखमनाउ गरे पनि मृत व्यक्ति तथा सद्गतको कामना र संस्कारादि कर्मले सिँगारिदिनु नै बुद्धिमत्ता ठहरिने पक्कै हो । 
डा. केसी र उहाँका परिवारले मृत्युलाई सहज रूपमा स्वीकार्न सक्नु नै ठूलो बुद्धिमान् भएको महसुस गरे मैले पनि लगेको पारिजातको फूलले श्रद्धाञ्जली अर्पण गरेर फर्कें । 

Comments