सावित्री केसी ः शब्द–श्रद्धाञ्जली
बैशाख ७, २०८१, शुक्रबार | विहान ०२:३३ बजे | 50
प्रा. डा. कृष्णप्रसाद दाहाल
१. कवितामा सावित्री ः
मलाई सावित्री भएको इन्दुल मन पर्छ
मलाई इन्दुल भएको सावित्री मन पर्छ
चिताले म¥याकम¥याक चपाउँदै उगेलेको उज्यालो होइन
मलाई सावित्री र इन्दुलको काव्यिक मुस्कानको प्रकाश मन पर्छ
मलाई इन्दुलको कवितामा सावित्रीको मन्त्र जपेको मन पर्छ
मलाई इन्दुलको भजनमा सावित्रीको सरस्वती नाचेको मन पर्छ
सुरतालविना अलापिएको राग होइन
मलाई सावित्रीको काखमा
इन्दुलले झारेको आँसुको दाग मन पर्छ
म सावित्रीविनाको इन्दुलमा पनि सावित्री देखिरहेको छु
प्रत्येक दिन इन्दुल महादेवले जस्तै
आफ्नी मायाकी सतीदेवी सावित्री
बोकेर हिँडिरहेको देखेको छु
सपनामा मात्र होइन, विपनामा पनि
इन्दुलले आजै मात्र लेखेका कविता
आफ्नो प्रिय श्रोता सावित्रीलाई सुनाउँदै हिँडेको देखेको छु
बरू हिजोको दिनमा सावित्रीलाई छोडेर
इन्दुल यदाकदा हिँड्ने गथ्र्यो
खर्चबर्च छोडेर घरव्यवहार हेर्नु है भन्दै
सावित्रीलाई घरकी रानी बनाएर फुत्त बाहिरिने गथ्र्यो
मोबाइलमा तेल दलेर श्रीमतीलाई फकाउँदै
बाहिरहुँदी रात बिताउने गथ्र्यो
तर आज यस्तो छैन
आर्यघाटमा सावित्रीको भौतिक शरीर सेलाएर आएको दिनदेखि
इन्दुलले सावित्रीलाई एक पल पनि छोडेको छैन, बिर्सेको छैन
आफ्नो स्मृतिको आसनमा अरू कसैलाई पनि बस्न दिएको छैन
बरू अब भने इन्दुलले इन्दुल बिर्सिएला
आफ्नो गन्तव्यमा अल्मलिएला
तर आफ्नो स्मृतिको कोषागारमा भने
उसले सावित्रीलाई बज्रलेप गरेर राखेको छ
सावित्रीको स्मरणमा दिनहुँ
उसले आफ्नो श्रद्धा र आस्थाको
नओइलने फूल चढाउने गरेको छ
त्यसैले
मलाई सावित्री भएको इन्दुल मन पर्छ
मलाई इन्दुल भएको सावित्री मन पर्छ ।
२. सावित्रीको व्यक्तित्व ः
डा. इन्दुल केसीको अर्धाङ्गिनी सावित्री केसी राणा केसीले यो धराधाम २०८० साल असोज २१ गते छोडेकी हुन् । वि. सं. २००३ सालमा पिता ब्रिगेडियर लक्ष्मी शमशेर राणा र माता विष्णुकुमारी राणाको गर्भबाट जन्मेकी सावित्रीले एसएलसी परीक्षा उत्तीर्ण गरेकी थिइन् । साक्षरताको सोपान चढ्दै गर्दा २०२४ सालमा इन्दुल केसीसित पञ्चेबाजाका साथ वैदिक विधिद्वारा उनको विवाह भएको हो । सामाजिक एवं धार्मिक प्रवृत्तिकी केसीले इन्दुलको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । छोरा उज्वल र छोरीहरू रजनी र सजनीकी आमा सावित्रीले आफूलाई सधैँ मानवहितकै निम्ति समर्पित गराइरहिन् । धार्मिक प्रवृत्ति भएकी हुनाले तीर्थव्रत र दानदक्षिणादि कर्म गर्न कहिल्यै पछि परिनन् । आफ्ना ससुरा र श्रीमान्ले सुसञ्चालन गर्दै आएको श्यामसुन्दर भजनघर (भक्तपुर) मा उनले पनि उल्लेख्य योगदान पु¥याएको पाइन्छ । असल पत्नी र असल आमा हुनुको छवि बनाएकी सावित्रीले श्रीमान् डा. इन्दुल केसीको साहित्यिक यात्रामा सारथीको भूमिका निर्वाह गर्न कहिल्यै पनि पछि परिनन् । श्रीमान्का पुस्तकमकार कृतिहरूको प्रकाशनमा यिनको योगदान प्रशस्त पाइन्छ अतिथि देवो भवः को महत्त्व बुझेकी सावित्री राणा केसीले अतिथि सत्कारमा पनि आफूलाई त्यत्तिकै क्रियाशील राख्ने गरेकी थिइन् । पतिले गरेका हेरेका क्रियाकलापमा उनले पत्नीको हैसियतले मात्र होइन, एउटा मार्गप्रदर्शक साथीको भाँती कर्म गरेकी थिइन् । राणा कुलघरानाकी छोरी भएर पनि मध्यवित्त परिवारकी बुहारी र पत्नी हुनुमा गर्व गर्दथिन् । यस्ती सुलक्षणकी प्रतिमूर्तिको मुटुको रोगका कारण निधन भएको थियो ।
उनको दाहसंस्कारमा भेला भएका हामीहरू आर्यघाट परिसरमा चिताको पिरो धूवाँसँगै आँसुले आफ्ना नयन धोइरहेका थियौँ । डा. इन्दुललाई सम्झाउने हिम्मत कसैमा थिएन । ‘मुुटुमाथि ढुङ्गा राखी’ उनी आफैँ बोलिरहेका थिए — ‘नश्वर देह, जतिसुकै उपचार गर्दागर्दै केही चलेन । आखिर अन्तिम सत्य भनेको यही ठाउँ रहेछ । उनले मलाई छोडेर गइन् । सम्झना भने गएको छैन । झन् गाढा भएर बसेको छ । मैले उनको भनाइमा टाउको हल्लाएँ । सावित्री चितामा खरानी भइरहेकी थिइन् । वातावरण मौन थियो । यस्तैमा म चिता अगाडि उभिएर सावित्रीको आत्माप्रति चिरशान्तिको कामना गरी शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गरेर शोकपुस्तिकामा श्रद्धाञ्जलीका दुई शब्द लेखेर आफ्नो गन्तव्यतर्फ लाग्दछु । इन्दुल भन्दै थिए — ‘सावित्रीको काम सिध्याएपछि साहित्यिक लेखनमा पुनः सक्रिय भएर लाग्नेछु ।’ यो स्मृतिग्रन्थ यसैको उपज हो । सावित्रीको जीवनका विविध आयामलाई यो स्मृतिले स्पष्ट पारेको छु ।
फाेटाेमा हेर्नुहाेस्...