इन्दुलजीकी सहधर्मिणी सावित्री दिदीलाई यसरी सम्झिन्छु म
बैशाख ६, २०८१, बिहीबार | विहान ०७:३८ बजे | 40
पदम दाहाल
वि. सं. २००३ साल मङ्सिर २० गते जन्म भई ७६ वर्षको उमेरमा स्वर्गारोहण हुनुभएकी भक्तपुरको मङ्गलाछें निवासी डा. इन्दुल केसीकी सहधर्मिणी सावित्री राणा केसी मुटुसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । औषधि सेवन र चिकित्सकको नियमित निगरानीद्वारा उहाँको जीवन धानिइरहेको छ भन्ने देखिन्थ्यो । झट्ट हेर्दा उहाँको मुहारमा रक्ताल्पताको अड्कल काट्न सकिन्थ्यो ।
मेरा आत्मीय साहित्यकार मित्र इन्दुल केसीजीको निवासस्थानमा हामी प्रजापति तिमिल्सिना, सुनील सापकोटा, जीवनाथ अधिकारी लगायतका साहित्य–सर्जकहरू बेलाबेला जाने–आउने गरिरहन्थ्यौँ । त्यस क्रममा सावित्रीजी दाशुवंश राणाजीकी छोरी तथा वत्सगोत्रीय चेली पनि हुनुभएको नाताले र म आफू पनि दाहाल भएको हैसियतले उहाँलाई दिदीको स्थानमानमा राखेर सम्बोधन गर्ने गर्थें । उहाँ असाध्य भद्र, शालीन र विनम्र स्वभावकी लाग्थ्यो मलाई । सकी–नसकी जसरी भए पनि पुग्नेबित्तिकै चिया ल्याएर स्वागत गर्नुहुन्थ्यो उहाँ हामीलाई ।
‘के छ दिदी खबर ? सन्चै हुनुहुन्छ नि ? कस्तो छ हजुरलाई ?’ भनी प्रश्न गर्थें म । अत्यन्त धैर्यशाली भावमा उहाँको मृदुभाषी स्वर यसरी झल्कन्थ्यो, ‘राम्रै छ, ठिकै छ, सन्चै छु । अहिलेसम्म आराम
छु ।’ तर लिस्नोबाट ओर्लिनु–उक्लिनुपर्दा भने उहाँ निकै अस्वस्थ हुनुहुन्छ, उहाँको शारीरिक अवस्था तन्दुरुस्त छैन भनेर अड्कल लगाउन भने कठिन थिएन ।
एकचोटि डा. इन्दुलले आफ्नो बैठककोठामा कवितावाचन कार्यक्रम गर्ने भनेर हामीलाई निम्तो दिनुभयो, कविता वाचनपछि हामीलाई उहाँको किचेनमा खाजानास्ताका निम्ति बोलावट भयो । बिचरी सावित्री दिदीले सकी–नसकी भक्तपुरे जुजुधौका साथमा चिउरा, तरकारी, अचार, मिठाई आदि विभिन्न परिकार आफँैले भाग लगाएर हाम्रा अघिल्तिर डाइनिङ टेबलमा राखिदिनुभएथ्यो । हल्का सहयोग मित्र इन्दुलजीबाट पनि नभएको होइन । उहाँहरूले हामीलाई प्रदान गर्नुभएको खाजानास्ताका साथमा प्राप्त सद्भाव, सुमिष्ट बोली र सावित्री दिदीले थप्नुभएको मन्द मुस्कानले उहाँमा एक असल गृहिणीको सुपरिचय सहजै झल्किएको भान हुन्थ्यो, जसद्वारा हामी निम्तारू अत्यन्त पुलकित भएका थियौँ, जसलाई आज पनि झलझली सम्झिरहेछु म । कसै गरे उक्त दृश्य भुल्नै सकिन्न ।
साहित्यकार मित्र इन्दुलजी उस्तो घरमा बसिरहन नसक्ने
मान्छे । प्रायः बाहिरफेर घुम्न र हिँड्न रुचाउनुपर्ने । उहाँको न खानको न फिर्नको टुङ्गो । कहिले भजनकीर्तनमा, कहिले साहित्यिक कार्यक्रममा, कहिले सामाजिक सेवामा । छोराबुहारीको बसोवास र लहनतहन उता काठमाडौँ तीनकुनेतिरै । गफैगफमा कहिलेकाहीँ इन्दुलजी भनि पनि हाल्नुहुन्छ, ‘म त उटपट्याङ मान्छे ।’ यसो भनिरहँदा न उहाँले कसैलाई भनी विराम गर्नुभएको छ न गरी विराम । सायद सावित्री दिदीले ७६ वर्षको उमेर छउन्जेल आफ्ना पतिदेवले भनेको वचनलाई कदापि इन्कार गर्नुभएन भन्ने लाग्छ । सकी–नसकी आफ्नो जिन्दगानीलाई इन्दुलजीको अनन्य र आत्मीय बनेर नै धानिरहनुभयो ।
अन्तमा जब रोगले सताउँदै लग्यो, तब उहाँ काठमाडौँको तीनकुनेस्थित दोस्रो निवासस्थानतर्फ लाग्नुभयो र त्यहीँ बस्न थाल्नुभयो । तर मुटुको जस्तो घातक रोगका अगाडि कसको के लाग्थ्यो र ? छोराछोरी, श्रीमान्लगायत सम्पूर्ण परिवारजनबाट उहाँलाई निरन्तर चिकित्सकसमक्ष पु¥याउने र उपचार गर्ने–गराउने कार्यमा किञ्चित् कमी आउन नदिँदा–नदिँदै पनि आयु पुगेका दिन कोहीकसैले यस लोकमा न बाँच्न सकिन्छ न बचाउन नै । चुपचाप–चुपचाप बिदाइको हात हल्लाएर बिदावारी हुनैपर्छ र जानैपर्छ । यही त हो प्रकृतिको नियम भन्नु !
गत २०८० असोज २१ गते आइतबारका दिन एकबिहानै मेरा परम आदरणीय मित्र इन्दुल केसीज्यूले सावित्री दिदीको अवसानको नमीठो र उदासीन खबर सुनाउनुभयो । उहाँका हामी निकटतम आफन्तजनलगायत शुभेच्छुक साहित्यकारहरू प्रजापति तिमिल्सिना, चूडाप्रसाद चौलागाईं, डा. कृष्णप्रसाद दाहाल, जीवनाथ अधिकारी आदिको उपस्थिति थियो आर्यघाटमा । अन्तर्दिलमा जतिसुकै पीडा र दर्द परेको भए पनि विचलित देखिनुहुन्नथ्यो सर । शोकलाई शक्तिमा बदल्न सक्ने सामथ्र्य भरपुर अटाएझैँ लाग्यो उहाँमा ।
हुन पनि हो, हरेक कमजोर मानसिकता बोक्नेहरूले मात्र कहिल्यै नफिर्ने गरी बाटो लाग्नेका पक्षमा कोकोहोलो र चीत्कार पोख्ने गर्छन्, जो केवल देखावटी र बहानाबाजीको विषय मात्र हुन्छ । इन्दुलजीमा भने त्यस्तो अधैर्य देखिएन । कसैले उहाँको पाखुरा समातेर सान्त्वना र ढाडस दिनु पर्दैपरेन । उहाँ आफैँले आफैँलाई सम्हालिरहनुभएथ्यो । यो भनेको उहाँमा लुकेको विशाल धैर्य नै हो । सावित्रीजीको काजक्रिया कर्म उहाँका सुपुत्र उज्वल केसी र छोरीबाट कोटेश्वरको महादेवस्थान मन्दिर परिसरमा भएथ्यो, जहाँ डा. इन्दुलका शुभेच्छुक, शुभचिन्तक जन दैनिक रूपमा खचाखच आउने–जाने गरेका थिए । धेरै साहित्यिक सङ्घसंस्थाहरू हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न र समवेदना प्रकट गर्न त्यहाँ पुगेको कुरालाई पनि भुल्न सकिन्न ।
आफ्नी जीवनसँगिनी गुमाउँदाको पीडा सायद कसैलाई असह्य नहुँदो हो र ? अहिले अर्धाङ्गिनी गुमाएर आधा जीवन कटाउँदै हुनुहुन्छ उहाँ । यसका निम्ति उहाँप्रति हार्दिक समवेदना ! अनि मृतक सावित्री दिदीको आत्माले चिरशान्ति प्राप्त गरिरहोस्, वैकुण्ठवासको प्राप्ति होओस्, हार्दिक श्रद्धाञ्जली उहाँलाई पनि ।
फाेटाेमा हेर्नुहाेस्...