विस्का जात्राः– विद्रोह या क्रान्ति ?


चैत २४, २०८०, शनिबार | दिउँसो ०१:०७ बजे | 50


विस्का जात्राः– विद्रोह या क्रान्ति ?

रामकृष्ण प्रजापति

विस्का भन्ने
भैरव रथ तान्ने 
तल माथि लाने 
जित हार सोच्ने 
ढुङ्गामुढा बर्षिने 
विद्रोह या क्रान्ति मान्ने ?
एक प्याला झोलमा पागलपन बन्ने विस्का जात्रा ।

न सिद्धान्त विचार
न संगठित शक्ति
न उद्देश्य
न कसैको मुक्ति
न कसैको स्वतन्त्रता
न समानता
हरपल जितको लागि संघर्ष गर्ने विस्का जात्रा ।

न एक आपसमा सत्रुता 
न वर्ग संघर्ष
न खेलको नियम 
न क्रान्तिकारीपन
न गाँस बाँस र कपासको ग्यारेन्टी 
न नयाँ निर्माण
साम दाम दण्डभेदबाट जित्न खोज्ने विस्का जात्रा । 

गलत मानसिकता पालेर
डोरीमा पक्षपात सम्झेर
चुडाईमा अन्याय सोचेर
कुहेको झोलमा दुबेर
देशका कर्णधारहरु बेहोसी भएर
फगत जात्रा मानेर
अनाहकमा मर्न तयार हुने विस्का जात्रा ।

देशमा व्याप्त व्यतिथि
शासक दलहरुको ढटुवापन
अन्याय, अत्याचार र भ्रष्ट्राचार
शोषण विरुद्धको संघर्षमा
तयार हुनपर्ने युवाहरु
जात्राको रणभूमि मैदानमा 
किन हुन्छ झैं–झगडा विस्का जात्रा ।

सदियौं पुरानो 
स्थानीय पहिचान
कला संस्कृति
रमाइलो भोज भतेर
झुठी शानको जित
अन्धविश्वासमा रमेर
किन गर्छाैं ढुङ्गामुढा विस्का जात्रा ।

विस्का भौतिक दृष्टिकोणमा
विज्ञान प्रविधिको अद्भूत नमूना
ट्राफिक ईन्जिनियरिङ्ग
भुकम्पीय इन्जिनियरिङ्ग
संरचनात्मक इन्जिनियरिङ्ग
दिनरात बराबर हुने 
ज्यातिष विज्ञान हो विस्का जात्रा ।


त्यसैले, जात्रा मनाऔं
संस्कृतिको संरक्षण गरौं 
विकृति नफैलाऔं
सद्भाव र सहकार्य
मेलमिलाप र सम्मानका साथ
झै–झगडा र ईट्टा हानाहान छोडेर
शान्तिपूर्ण मनाऔं विस्का जात्रा ।

Comments