नेकका विद्यार्थी सर्वोत्कृष्ट राष्ट्रिय निर्देशक पुरस्कारबाट टर्कीमा पुरस्कृत
कार्तिक १०, २०७७, सोमबार | विहान ११:५९ बजे | 40
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका २० वर्षीय नेपाली युवा विद्यार्थी शिवांग दत्त टर्कीको इस्तानबुलमा सर्वोत्कृष्ट राष्ट्रिय निर्देशक पुरस्कारबाट सम्मानित भएका छन् । नेकमा बि.ई. इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा पहिलो वर्षमा अध्ययनरत दत्तले संयुक्त राज्य अमेरिकामा प्रमुख कार्यालय रहेको अन्तरराष्ट्रिय संस्था ग्लोबल पिस चेनद्वारा आयोजित ग्लोबल पिस समिट (ग्लोबल शान्ति सम्मेलन) २०२०, टर्कीमा सो पुरस्कार पाएका हुन् ।
नेकका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले आफ्नो विद्यार्थीको त्यो सफलता सम्पूर्ण नेपालीको गर्वको विषय भएको बताए । एक सय ३० भन्दा बढी देशमा नेटवर्क रहेको सो संस्थाको अन्तरराष्ट्रिय सम्मेलनमा विश्व शान्ती सम्वन्धी सर्वाेत्कृष्ट कार्यपत्र प्रस्तुत गर्नुभएको आधारमा दत्तलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।
राष्ट्रिय निर्देशकहरूमध्ये सबैभन्दा कान्छो उमेरका दत्तलाई सो पुरस्कारबाट संस्थाका कार्यक्रम निर्देशक मुहम्मद अहमदले सम्मानित गरेको बताइएको छ । १५ देखि १८ अक्टोबर २०२० सम्म चलेको सम्मेलनमा बिभिन्न देशको प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ ।