अलविदा परशु प्रधान ः धनिया ः कथा र व्यथा
चैत ६, २०८०, मङ्गलबार | विहान ०५:४२ बजे | 5
डा इन्दुल केसी
प्रारम्भ
वरिष्ठ आख्यानकार परशु प्रधानज्यूले लेख्नुुभएको, श्री विमल भौकाजीले सम्पादन गर्नुभएको र डिकुरा पब्लिकेसन काठमाडौले प्रकाशन गरेको यो कथा सङ्ग्रह २०७५ सालमा प्रकाशित भएको हो । कथाकार श्री परशु प्रधानज्यूले स्वहस्ताक्षरमा “सादर स–प्रेम प्रिय मित्र डा. इन्दुल केसीमा समर्पण” भनी यस कथा सङ्ग्रहको एक प्रति मलाई २०७५ आश्विन १९ गते उपहार दिनुभएको थियो । यसरी प्राप्त २६४ पृष्ठको यस पुस्तकको एक पाठकको हिसाबले मैले सरसर्ती पढेँ । विद्यार्थी अवस्थादेखि साहित्यका विभिन्न पुस्तकहरु मैले पढ्ने गरेको मध्ये कथा विधा पनि एक हो । कथामा मूूलतः निम्न र मध्यम वर्गका पात्रहरुको पारिवारिक र आर्थिक अवस्था, तिनीहरुको अभिरूचि, समाजमा हुने विभिन्न प्रकारको सङ्घर्षको प्रतिनिधित्व गर्ने साहित्यको एक विधा मानिन्छ । परशु प्रधानजीलाई नेपाली साहित्यको आकाशको एउटा चम्किलो तारा भन्न म रूचाउँछु । उहाँको परिचय मैले खासै दिइरहनु पर्दैन । सबै नेपाली साहित्यको अनुुरागीलाई उहाँ परिचित हुनुहुन्छ भन्ने ठान्दछु । उहाँ कथाकार, निबन्धकार, सिद्धहस्त आख्यानकार, नविन चिन्तक, नयाँ पुुस्ताको लागि उत्प्रेरक, अथक साधक पनि हुनुहुन्छ ।
मेरो र परशु प्रधानजीको सम्बन्धका कुरा गर्ने हो भने हामी एक अर्काका घनिष्ट मित्र हौँ । हामी २०३० सालदेखि सरकारी जागिरमा शिक्षा मन्त्रालयअन्तर्गत विभिन्न कार्यालयहरुको अधिकृत स्तरका जागिरे–सहयात्री, साहित्यिक सहयात्री, विभिन्न धार्मिक स्थलहरुमा परिवारसहित धार्मिक तीर्थयात्री पनि हौं । स्रष्टा समाज नामको साहित्यिक सङ्स्थाको उहाँ सस्थापक अध्यक्ष र म त्यो सङ्स्थाको विधान मौस्यादाकार तथा आजीवन सदस्य हौं । प्रेस (छापाखाना) का हामी द्वय सह–सञ्चालक पनि थियौँ । म योग तथा प्राकृतिक उपचारकको नाताले कहिलेकाँहि उहाँको अनुरोधमा उहाँकै स्वास्थ्य समस्या समाधानको लागि सेवा गर्ने एक उपचारक पनि हुुँ । मैले गरेको उपचारको प्रशंसा गरी उहाँले आफ्ना लेखहरुमा उल्लेख पनि गर्नुभएको छ ।
कथा विधा र यौन
नेपाली साहित्यको क्षेत्रमा कथोपन्यास (ज्थउभच ल्यखभ)ि मा उहाँ पहिलो प्रयोगकर्ताको रुपमा हुनुहुन्छ । मनोवैज्ञानिक सिग्मन फ्राईडको यौन ९कभह० सम्बन्धी विचार, सम्भोगबाट समाधिका विश्वविख्यात लेखक रजनीस ओसो, श्री विश्वेश्वरप्रसाद कोइरालाज्यूको यौन साहित्यबाट परशु प्रधानज्यूलाई प्रभाव पारेको हो कि जस्तो मलाई लाग्छ । परशुज्यूको कथालेखनका पात्र चयन, अधिकांश नारी पात्रको प्रधानता र यौन विषयले प्राथमिकता पाएको हुुन्छ । यस सन्दर्भमा यस पुस्तकका सम्पादक श्री विमल भौकाजीको शब्दमा –“नारी पात्रबिना पुरूषको कथा लेख्नै सकिन्न र पुरूषको कथा नहुुने हो भने फेरि एक्लै नारीको कुनै कथा बन्न सक्दैन, नारीको इतिहास बन्न सकिँदैन । एक आपसमा अभिन्न नारी र पुरूष न पुरूषबिना नारी र नारीबिना पुरूष ।” साहित्यमा कथाको विधागत सैद्धान्तिक मान्यता प्रवर्तन गर्ने काम सन् १९४३ एडगर एलेन पोलेले गरेको मानिन्छ । कथाको रचना गर्दा एउटै भावमा केन्द्रित भएर गरिन्छ ।
धनिया कथा
परशुुजीको यो कथा सङ्ग्रह ‘धनिया’ मा विभिन्न शीर्षकका ४४ ओटा कथाहरु सङ्ग्रहित छन् । ती कथाहरुमध्ये केही कथाहरु मैले पहिल्यै नै उहाँका अरु पुस्तकहरुबाट पढिसकेको थिएँ । यसै क्रममा सीताहरु नामको उहाँको कथासङ्ग्रह मैले पहिल्यै नै पढिसकेको थिएँ । त्यो कथा पनि यस पुस्तकमा समावेश भएको रहेछ । यस पुस्तकमा रहेका ४४ ओटा कथाहरुमध्ये एउटा कथा यो धनिया कथा पनि हो । त्यही धनियाको नामले नै यो पुस्तक प्रकाशित भएको छ । मैले यो लेखमा त्यही धनिया कथा एउटामा मात्र सीमित हुन खोजेको छु ।
यस पुस्तककोे कभर डिजाइन अर्मिता शाक्यले गर्नुभएको रहेछ । त्यहाँ नेपाली गाउँको एउटा चित्रको पृष्ठभूमिमा डालिमा (हाँगा) केही फलहरु फलिरहेको, आगलागीले गाउँ जलिरहको, तराई क्षेत्रको पहिरनमा एक नारीको चित्र छ । त्यो चित्रले यस धनिया कथाको कलाकारिताको प्रतिनिधित्व गरेको जस्तो मलाई लाग्यो । नेपाली समाजको सामाजिक, आर्थिक पृष्ठभूमि वर्गीय चरित्रमा निर्मित भएको कथा धनिया हो । नेपालको मोरङ जिल्ला, विराटनगरको सिमानापारि जोगबनी (भारत) बजारको परिवेश छ । यस कथाका विभिन्न पात्रहरु – धनिया, रामदेव, राम लगन, जुुङ्गे हवाल्दार, गाउँका धनाढ्य सेठ, वडा अध्यक्षसमेत हुन् । यस कथामा करिब १४,०० शब्दहरु छन् । धनियाको लोग्नेको टिबी रोगले मुुत्यु भइसकेको छ, धनिया २५ वर्षे एक विधवा नेपाली नारी हुन् । तिनको गर्भमा एउटा बच्चा छ । धनियाको देवर रामदेव आफ्नी भाउजूलाई दाइको मुत्युुपछि आफ्नो हक लाग्ने भनेर अनुुचित सम्बन्ध राख्ने गरिआएको रहेछ । सीमापारीको त्यो जोगबनीमा किनमेल गर्न एक दिन धनिया पुुग्दछे, त्यहाँ एउटा भट्टीमा धनियाले नचिनेका, नशामा लठिएका व्यक्ति रामलखनले धनियाको जबरजस्ती यौन शोषण गरेको छ । गाँउका एउटा धनी सेठ आफू निसन्तान भएकाले धनियालाई किनेर आफ्नी श्रीमती बनाउने र बच्चालाई आफ्नो सन्तान बनाउन चाहन्छ । एक दिन त्यो गाउँमा वडा अध्यक्षको उपस्थितिमा गाउँसभा हुन्छ । त्यो सभामा देवर रामदेव, चौकीदार हवल्दरसमेत मिलेर धनियालाई बिक्री गर्न सहमत हुुन्छन् । सभा चलिरहेको हुुन्छ केही केटाहरु त्यहाँ आई धनिया अलि परको रुखमा झुन्डि रहेको जानकारी दिन्छन् । सबै मानिसहरु त्यो घटना स्थलमा पुगी हेर्न जाँदा साच्चै नै धनिया रुखमा पासो हाली झुुन्डेर मरिसकेको दृश्य देखिन्छ । यसरी कथा समाप्त हुन्छ ।
यस कथामा धनियालाई बिक्री गर्दा प्राप्त हुने रकम आपसमा भागबन्डा गरी आफूले पाउने रकम वडा अध्यक्षज्यूले आउँदो चुनावमा खर्च गर्न रकम प्राप्त गर्न चाहेको, हवाल्दार पनि आफ्नो भागमा केही रकम पाउन सहमत भएको, देवर रामदेवले आफ्नी भाउजु आफ्नै सम्पत्ति जस्तो मानेर बिक्री गरी केही आर्थिक धन प्राप्त गर्न खोजेको रहेछ तर धनियाले झुुन्डिएर आत्महत्या गरेको घटनाले अनुचित अर्थलाभ गर्ने सबैको इच्छा चकनाचुर भएको कुरा नै यो धनिया कथाको इतिवृत्ति हो ।
धन्यवाद !
फाेटाेमा हेर्नुहाेस्...