मेरी परी कृति नियाल्दा
चैत ५, २०८०, सोमबार | विहान ०४:४७ बजे | 55
डा इन्दुल केसी
प्रारम्भ
२०७९ सालमा प्रकाशित ६८ पृष्ठको यो पुस्तक २०७९ भाद्र २ गते श्री विष्णुप्रसाद ओलीजीले मलाई उपहार दिनुभयो र यस पुस्तकबारे मैले समीक्षात्मक टिप्पणी गरिदिन अनुरोध गर्नुभयो । म कुनै समीक्षक वा टिप्पणीकार नभए तापनि यस पुस्तकलाई एउटा सामान्य पाठकको रुपमा पढेँ । त्यसपछि केही बुँदागत टिपोट गरेँ । यसैलाई यो एउटा सानो लेखको रुपमा प्रस्तुत गर्न चाहेँ ।
१) श्रीमती देवी ओलीजीले प्रकाशित गर्नुभएको यो पुस्तक लेखकका आफ्ना पिता रामप्रसाद ओली, माता देवीमाया ओली, छोरी निरु ओली पोखरेलको सम्झनामा समर्पण गर्नुभएको रहेछ । यसमा २१० ओटा मुक्तकहरु छन् । कोभिड १९ ले आफ्नी प्यारी छोरी निरुलाई असमयमै हरण गरी लग्यो । आफ्नो मुटुको टुक्रा समानकी छोरीको देहावसानले मर्माहत हुनुभएका विष्णु ओलीजीले स्मृतिमा यो मुक्तकसङ्ग्रह तयार गर्नु भएको रहेछ । स्वर्गीय निरुजीले आफ्ना सम्पूर्ण स्वजनहरु माता–पिताको साथै २ वर्षे सानी छोरी आरुषीलाई पनि यो धर्तीमा छोडेर गइन् । मुक्तककार विष्णु ओलीजीले आफ्नी छोरी निरुको आत्माले शान्ति पाओस् भन्ने कामनासाथ शोकाकुल भै भन्नुहुन्छ – “....... यो पीडा शब्दमा व्यक्त गर्न कठिन हुन्छ । मेरी छोरी जहाँ रहुन् म सधैँ उनको स्मरण गरिरहनेछु ।”
२) मुक्तक साहित्यका बारे केही चर्चा ः
कविताको छोटो रुप, प्रसङ्गविना नै रसबोध गर्ने कवितालाई मुक्तक भन्ने प्रचलन छ । मुक्तकलाई फुटकर कविता मानिन्छ । दोहा, सायरी, हाइकु, रुवाइ इत्यादीलाई जस्तै मुक्तकलाई कविताको रुपमा पनि लिइन्छ । प्रसङ्गवश यहाँ कविताको बारे दुई शब्द उल्लेख हुनु सान्दर्भिक देखियो । शब्दलाई ध्वनिसँग जोड्ने ताल छन्दका साथै अनुप्रास, बिम्ब अनुभूति, विचारलाई विशेष रुपमा प्रयोग गरिने साहित्यिक विधा विशेष, बोलीचालीभन्दा बढी सघन रुपले वाक्य गठन र विशिष्ट प्रकारको हुन्छ । आयामलाई आधार मानेर कविता लघुतम, लघु, मध्यम, वृहत् र वृहस्त्तर गरी पाँच प्रकारका हुन्छन् । मुक्तकको रचनाकार कवि पनि हो । कविता रचना गर्ने व्यक्तिले आफ्नो काल्पनिक शक्ति, प्रभावकारी अभिव्यक्ति क्षमता, सङ्वेदनशीलता र भाषिक प्रयोगको आधारमा कवितालाई हेरिने गरिन्छ । यस आधारमा मुक्तककारलाई निष्पक्ष रुपमा लिनुपर्छ भन्ने मेरो सोच हो ।
यस सङ्ग्रहमा अरुको दृष्टि
क) डा. शान्तराज सुवेदीले यस सङ्ग्रहलाई दिनुभएको शुभकामनामा– विष्णु ओलीजीलाई भन्नहुन्छ, “गीत, कविता, गजल र मुक्तक विधामा अब्बल सर्जक ।”
ख) डा. तुलसी भट्टराई – कवि विष्णु ओलीको मुक्तकयात्रा शीर्षकमा भन्नुहुन्छ, “यस मुक्तकसङ्ग्रहमा वर्तमान नेपाली समाज, सरकार, पार्टीहरुका तान्डव लीलासँगै केही प्रेम विछोड र विभिन्न सन्दर्भ जोडिएका मुक्तकहरु सङ्कलित छन् ।”
ग) उपन्यास समाज नेपालका अध्यक्ष श्री शङ्कर भारतिजीले मेरी परी मुक्तकसङ्ग्रह बारे भन्नुहुन्छ, “उहाँका मुक्तकहरुमा देश दुखेको छ । हरेक नागरिकको मन पोलेको छ । देशको दिन प्रतिदिन बिग्रँदो अवस्थालाई स्पष्टसँग प्रस्तुत गरिएका छ ।”
३) यस सङ्ग्रहमा रहेका मुक्तकहरु प्राय सबैमा अन्त्यानुप्रास रहेकोले यसलाई पढ्दा आनन्द आउने, सुन्दा कर्णप्रिय हुन्छन् । उदाहरणका लागि यस सङ्ग्रहमा ओलीजीले प्रयोग गर्नुभएका केही अनुप्रासयुक्त शब्दहरु ः– ल्याउँदैछु मनकी परी – मेरो वरिपरि । आफ्नो कोही भएन – जति पिए पनि छोएन । दैव रमाउन नखोज – खुसी समाउन नखोज ।
मुक्तकहरुमा रहेका नैतिक भाव, पीडा भाव, देश दुखेको भाव, प्रेम भाव मुक्तककार ओलीजीले यस पुस्तकमा पस्कनु भएको छ भन्ने – “शङ्कर भारतीको विचार मलाई साह्रै घत लाग्यो ।” ओलीजीका यी मुक्तकहरुमा राष्ट्र, राष्ट्रियता, सरकारको दायित्व, मुलुकको, जनताको वेदना, समस्या, नेताहरुको अकर्मन्यता, नेपालको प्राकृतिक सौन्दर्य, मायाप्रति नागरिकको दायित्व, इत्यादि अति महङ्खवपूर्ण विषयहरुले प्रशस्त स्थान पाएका छन् ।
अन्तमा,
पुस्तकको कभर डिजाइन आकर्षक पुतली जस्तै परी जस्तै आफ्नी नातिनीको सुन्दर फोटो, पुस्तकको अन्तमा लेखकको परिचयअन्तर्गत व्यक्तिगत विवरण, प्रकाशित तीन ओटा कवितासङ्ग्रहहरुको नाम, आवद्ध सङ्स्थाहरु, आजीवन सदस्यबारे उल्लेख भएका छन् । यो पुस्तक नेपाली पाठकहरुको लागि पठनीय, सङ्ग्रहनीय भएको मलाई लाग्छ । मुक्तककार विष्णु ओलीजीलाई मेरो साधुवाद ।
फाेटाेमा हेर्नुहाेस्...