मेरो जीवनको तीता अनुभव
फाल्गुन २५, २०८०, शुक्रबार | विहान ०९:१२ बजे | 60
पम्फाकुमारी नेवार
जीवन के हो भन्ने कुरा अहिलेसम्मको तीतामिठा अनुभवहरुले वास्तविक कुराहरू बुझाइसकेको छ । जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । वास्तवमा मानिसहरूले देखिरहेको मेरो जीवन र मैले भोगिरहेको मेरो जीवनमा आकाश पातालको फरक छ, जुन कुरा न भन्न नै सक्छु न त बयान गर्न नै सक्छु । केवल सक्छु त अनुभव गर्न मात्र तर म स्वयंले मात्र ।
अहिलेको यो समयसम्म आइपुग्दासम्म मैले राम्रोसंगले यो समाज र दुनियाँलाई बुझेकी छु । को कस्तो छ र हुन्छ भन्ने कुरा । कसैले यहाँ भनिरहनु नै पर्दैन । अहिले आएर आफूमा आफूलाई प्रश्न गर्न मन लाग्छ कि पहिला यानिकी बालापनमा मलाई किन चाँडोचाँडो यति ठूली हुन मन लागेको होला ? किन हतार गर्या होला ? र अहिले ठूली भएर के पाए मैले ? पाउन त पाए, केवल मानिसहरूको खोक्रो आश र झुटा साथ र फेला ।
बालापन कति रमाइलो थियो । न केही चिन्ता, न केही पिर, न केही कुराको दुःख, थियो । थियो त केवल रमाइलो क्षण र आमाबुवाको मिठो साथ र माया । आमाबुवाको साथ र माया त अहिले पनि छ । तर उहाँहरुको साथमा रहेर पाउने माया र यति टाढाबाट गरिने माया केवल अनुभवमा मात्र सीमित हुँदो रहेछ । सानोमा एकछिन आमालाई नदेख्दा रुने म अहिले कति महिनौंसम्म नजिकैबाट देख्न र भेट्न नपाउँदा पनि मन बुझाएर बस्नुको पीडा केवल मलाई मात्र थाहा छ ।
सानोमा आफूले भनेको चिज नपाउँदा रुने म आजभोलि पाएको कुरा गुमाउँदा पनि चित्त बुझाएर बसिरहेकी छु । अहिलेको समय र समस्यालाई झेल्दै देखावटी हाँसो लिएर हिँडिरहेकी छु,, जुन कुरा मैले सोचेकी पनि थिएन यस्तो हुन्छ भनेर । देख्न त मान्छेहरुले मलाई खुसी नै देख्छन् । तर मेरो मनको पीडा मलाई मात्र थाहा छ ? म कस्तो छु, के छु भन्ने कुरा त केवल मलाई मात्र थाहा छ । बालापनमा खाली खेल्थ्यौँ, रमाउँथौ, हस्थेयौं । अहिले त पीडालाई लुकाएर देखावटी हाँसो लिएर हिँडिरहेकी छु । मुहारमा हाँसो छ तर भित्र छुट्टै प्रकारको पीडा, जसलाई म केवल महसुस मात्र गर्न सक्छु, न कसैलाई मेरो पीडा सुनाउन न सक्छु न त बयान गर्न नै सक्छु । सक्छु त केवल लुकाएर हिँड्न मात्र ।
अहिले यो उमेरले यो कुरा सिकाएको छ कि आफ्नो भन्दा पनि बढी अरूले केही भन्लान् कि ?, केही सोच्लान् कि भन्ने डर । भय लिएर जीवन जिउनु परिरहेको छ । जबजब उमेर बढ्दै गयो, त्यतित्यति जिम्मेवारी पनि बढ्दै गएको छ । कतै डर लाग्छ, कतै म मेरो बुवाआमाले मप्रति देख्नुभएको सपना पूरा गर्न सक्छु कि नाई ? यो कुराले झस्काइरहन्छ । जब म बुझ्ने भए तबदेखि सानोसानो कुरामा पनि खुसी हुन थालेकी छु ।
अहिलेको यो समयमा पैसाको महत्व पनि बुझिरहेकी छु, जुन हुँदा र नहुँदा मान्छेले गर्ने व्यवहार पनि महसुस गरी रहेकी छु । भनिन्छ नि, सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ । हो, यसैलाई आधार मानेर म हार नमानिकन सफलता चुम्न लगिपरिरहेकी छु । जीवन त संघर्षले भरिएको एउटा जालो रहेछ, जहाँ एकपछि अर्को समस्या थपिँदै जाँदा, जीवन जिउन पनि निकै कठिन हुँदो रहेछ भन्ने कुरा अहिलेसम्मको भोगाइले प्रष्टसँग बुझाइसकेको छ । हामीले जीवनलाई ‘भागेर’ होइन ‘भोगेर’ जिउनु पर्दछ । त्यसैले जबसम्म सपना पूरा हुँदैन, तबसम्म हार मान्ने छैन र संघर्ष गर्न छाडिने छैन । चाहे जतिसुकै समय किन नलागोस् । सफलता हासिल नगरिकन त म कदापि हार मान्ने छैन । प्रयास जारी रहने छ । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ, जो निरन्तर आफ्नो लक्ष्य प्राप्तिको लािग खटिरहेका हुन्छन । त्यसैले मेरो अगाडि संघर्षको पहाड नै आए पनि त्यसलाई म आफ्नो तरिकाले फोडेर अगाडि बढ्ने छु । यो संघर्षमा अरूको साथ होस् या नहोस् मेरो बुवाआमाको साथ भए म जस्तोसुकै परिस्थिति र बाधालाई झेलेर अगाडि बढ्न र सफलता हासिल गर्न म सजिलैसंग सक्छु ।