शब्दसागरका मोतीहरुको सार सङ्क्षेप


फाल्गुन २१, २०८०, सोमबार | विहान ०६:०८ बजे | 50


शब्दसागरका मोतीहरुको सार सङ्क्षेप

प्रो. श्रीराम आचार्य
त्रिभुवन विश्वविद्यालय

प्रारम्भ
किताबहरुको पनि किताबको रुपमा लेखिएका ‘शब्दसागरका मोती’ पुस्तकद्वारा दिन खोजिएका दिग्दर्शनबारे मैले संक्षिप्त चर्चा गर्न चाहेँ । समाजमा छरिएर रहेका यस्ता मोतीहरुका ज्योतिभित्र रमाउन र केलाउन चाहने पाठक समीक्षकहरु कमै भेटिन्छन् । औंलामा गनिन सकिने यस्ता विरलै पाँच सातजना व्यक्तिहरुको सङ्ख्या भित्र मेरा श्रदय मित्र डा. इन्दुल केसी(झा) पर्नुहुन्छ । यसमा समालोचनाभन्दा पनि समीक्षाद्वारा आफ्नो बुझाइलाई प्रष्ट्याउन खोज्नु भएकोमा सर्वप्रथम म उहाँलाई धन्यवाद, साधुवादको साथै नयाँ वर्ष २०८० विक्रम सम्वत्को शुभकामना तथा सु–स्वास्थ्यका साथ साहित्य सृजनामा सफलता प्राप्त भई रहोस् भन्ने कामना गर्दछु ।
बहुआयामिक व्यक्तित्वका धनी केसीजीले यस पुस्तकमा साहित्य, दर्शन, कविता, यात्रा, नियात्रा, अध्यात्म, कथा, नाटक, रोग, योग, संभोग, आहार–विहार, गीत, भजन तथा सङ्गीत जस्तो गहन विषयलाई समेत समेटेर अध्ययन गरी लेखक विशेषज्ञहरुको परिचय दिन र आफ्नो समेत परिचय बौद्धिक जगतमा दिन सफल हुनु भएको स्पष्ट देखिन्छ । व्यवस्थापन विषयमा तालिम परामर्श, सर्वाेच्चमा वकालत बहस, नेपाल बुद्धिजीवी परिषद्को पहिलो विधान निर्माण र माक्र्सवादी दर्शनको व्याख्या विश्लेषणमा समेत वहाँको ठूलो योगदान रही आएको छ । उहाँले गर्नुभएको विशुद्ध चोखो समाज सेवा अन्तर्गत भक्तपुर न.पा.–४ स्थित उहाँसमेतको आगन चोक नासमना मंगलाछें स्थित श्यामसुन्दर रास भजन चारतले घरको भूकम्पपछिको जिर्णोद्धार प्रशंसनीय मात्र नभई जनसहभागिता तथा जनसमर्थन उहाँको पक्षमा रहिरहनु भनेको चानचुने कुरा होइन । सरकारको रू. १,५०,००,०००।– (एक करोड पचास लाख), निजी तथा अन्य सहयोगसमेतको आधारमा सरकारकै ठेकेदार कामदारहरुको निगरानी र आफ्नो समेत रेखदेखमा पूराताङ्खिवक रुपमा सम्पूर्ण कार्य सम्पन्न भई २०७७ सालको कृष्णजन्माष्टमीको उपलक्ष्यमा उद्घाटनसमेत भएर हाल नित्य भजन तथा सांस्कृतिक कार्यक्रमहरु भइरहेकोमा सबैमा आनन्द र सन्तुष्टि लहर छाई रहेको मैलै पाएँ । यो त उहाँको एउटा सानो समाज सेवको उदाहरण मात्र हो । आदरणीय इन्दुलजीले पचासौं करोडको सामाजिक संरचना जोहो गरिदिनुकासाथै मानव कल्याण, स्वास्थ्य शिविर, योग चिकित्सा र धार्मिक मेला, कला, सांस्कृति भजन महागुठीको माध्यमद्वारा सामाजिक सेवाहरुमा ठूलो योगदान पु¥याउँदै आइरहनु भएको छ । यी सबै कुराहरुको स्पष्टीकरण शताब्दी पुरुष संस्कृकतिविद् डा. सत्यमोहनले दिनुभएको उद्गार दूई थुङ्गा फूलमा पनि झल्किन्छ । पूर्व प्रशासक, पत्रकार, भजन गायक, कथाकार मात्र नभई जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्दछन् इन्दुल कविको भूमिका समेत निर्वाह गर्न सक्ने केसीजीको बारेमा यो भन्दा बढि केही भनी रहनु नपर्ला ।
शब्दसागरका मोती
यस पुस्तकको पृष्ठ भागमा डा.इन्दुल केसी(झा)ले रचना गर्नुभको “सगुन भजन” मेरै शिष्य सत्यनारायण मानन्धरले सङ्गीत हालेर आफैँले गाएको भनज सुन्दा मलाई आनन्दित तुल्यायो । यस भजनका शब्दहरुमा उहाँले सर्वधर्म समभावको दर्शनलाई अङ्गालेको पाएँ । सुरुको शुभेच्छामा छोरी रजनी केसी मानन्धरको प्रगाढ माया, प्रेम र स्नेहप्राप्तिको साथै बुबा, मुमाको अथक परिश्रमको प्रतिफल आफू सपरिवार भएको र आफ्नो कर्तव्य समेतको बोध भएकोमा यस्तो छोरीको बाबु इन्दुलजीलाई धन्यवाद बधाई दिनै पर्ने हुन्छ ।
उक्त पुस्तकको पृष्ठ ४५ सम्मको ११ वटा मोतीहरुबाट निस्किएको पहिलो खण्डको ज्योतिमा वेद, उपनिषद र अध्यात्म दर्शन शास्त्र सम्बन्धि पुस्तक तथा लेखकका परिचयात्मक विवरणहरु दिने कार्य सम्पन्न गरिएको छ । इन्दुलको नजरको यिनको विश्लेषण र संक्षिप्त व्याख्यामा प्रवेश गर्नको लागि मेरो यो सूत्र दोहाबाट प्रारम्भ गर्न अठोट गरेँ ।
सतगुरू संत महानको 
राधास्वामी नाम ।
काल ब्रह्मको टेक तजी
नाम गुरुको थाम ।।
सतगुरुद्वारा प्राप्त हुने यो ध्वन्यात्मक नामलाई धारण गर्नको लागि चित्त वृत्तिमा एकाग्रता र मनोवासना नाश हुनु जरुरी छ । यसको लागि आफ्नो आहार, विहार, व्यवहार र खानपान व्यवहारमा शुद्धता पवित्रता ल्याउनु पर्दछ । कुनै पनि किसिमको हिंसाद्वारा प्राप्त हुने विषयवस्तु वा पदार्थको लिनु दिनु सेवन गर्नु आहार तथा उपयोग गर्नुबाट आफूलाई बचाएर राख्नु पर्दछ । मुभोक्षुताको लागि आफ्नो ध्यान धारणा र विचारलाई दृढ विश्वासका साथ परिपक्व सुनिश्चित गर्नु नित्तान्त आवश्यक र प्राथमिकतामा राख्नु पर्दछ । त्यो अनन्त स्रोतबाट पहिले वर्णात्मक र पछि ध्वन्यात्मक नाम प्राप्तीको लागि निरन्तर याचना गर्दै दयाकृपाको लागि विनम्र निवेदन गरिरहनु पर्दछ । विना शुद्धता र साधना शास्त्रीय ज्ञानले मात्र कहिले पनि मोक्ष तथा उद्धार हुन सक्दैन । 
मेरो टिप्पण्ी
अब यस पुस्तककमा मोतीको ज्योतितर्फ नियालेर हेर्दा ‘वेद के भन्छ ?’ भन्ने तर्फ पहिलो प्राथमिकतामा डा. केसीको भनाई छ कि प्राचीनतम वेद विश्वमै अति महङ्खवपूर्ण अतुलनीय संस्कृत वाङ्मय हो । आफूलाई सामान्य पाठक मात्र हुँ भन्ने केसीजीले यस पुस्तक प्रति टीकाटिप्पणी भने पक्कै गर्नुभएको मेरो ठम्याई छ । ‘वेद के भन्छ ?’ यो पुस्तक हिन्दीबाट नेपाली भाषामा अनुवाद पारिएको पुस्तक हो ।
१) शुक्ल आयुर्वेदको ४० औं अध्यायको नाम “ईशावास्योपनिषद्” जुन उपवेदको रुपमा रहेको छ । इन्दुलको भनाई अनुसार वेदको निष्कर्षको रुपमा रहेका ११८० उपनिषदहरु मध्य हाल १०८ मात्र उल्लेख्य रहेको पाइन्छ ।  केसीजीले यसमा प्रथम मन्त्र “ईशा वास्यभिदं सर्व......” देखि अठारौं मन्त्र “अग्ने नयसुपथा राये अस्मान् .....” सम्मका मन्त्रहरुको नेपालीमा अनुवाद व्याख्या समेत गर्ने प्रयासलाई लरतर मान्न सकिँदैन ।
२) “पाशुपत योग” अन्तर्गत योगका प्रचार हठ योग देखि मन्त्र योगका साथै शिवले पार्वतीलाई दिनुभएका योग शिक्षाका दुर्लभ ग्रन्थहरुको सार रहेको परिचय गराउन खोजिएको छ । त्यसैगरी “साधना सूत्र” र “जीवन दर्शन” पुस्तकहरुमा पहिलो महात्मा विशुद्धदेवजीको चरित्र निर्माणको महान वाणी मस्तिष्कमा समझदारी, काँधमा जिम्मेदारी र हृदयमा इमान्दारीका रोचक प्रसङ्गका साथै चरित्र नै व्यक्तिको पहिलो सर्वसम्पदा हो भन्ने कुरालाई इन्दुलजीले प्रष्ट्याउन खोज्नु भएको छ । “जीवन दर्शन” पुस्तकमा पूर्वीय दर्शन र पाश्चात्य दर्शन दुई भिन्न विचारको आधार उभिएको एक आक्रान्त मनोदशा र अर्को बौद्धिक जिज्ञासाका प्रतिफल भन्ने नै मुख्य देखिएका भएतापनि, दर्शनका विविध पाटाहरु रहेका इन्दुलजीले परिचय दिन खोज्नु भएको छ । डा. इन्दुल भन्नुहुन्छ पूर्वीय धर्मशास्त्रहरुका ८० वटा महङ्खवपूर्ण श्लोकहरुको आधारमा यो “जीवन दर्शन” जस्तो गहन पुस्तकको निर्माण भएको हो ।
३) डा. इन्दुल केसीले डा. सत्यमोहन जोशीद्वारा लिखित विदेह राजा जनकको ब्रह्म सभाका निर्णायक नाटकका दृश्यहरुलाई नेपालको सम्पत्ति ठानी जनकपुरधाम कमला खोँचदेखि  चिसापानी र माझगाउँ हुँदै अन्त्यमा राजा जनकको सभाभवनमा जहाँ ब्रह्मवेत्ताहरुद्वारा भइरहेको तङ्खव ज्ञानको चर्चालाई नै एक मोतीको रुपमा ठान्नु भएको छ । महर्षि याज्ञवल्क्य नै तङ्खवज्ञानी ब्रह्मविद् ब्रह्मवेत्ताका रुपमा छानिएर १००० गाई जसका सिङ् र खुर सुनका पाताले मोढिएका थिए । पुरस्कार स्वरुप जितेर सम्पूर्ण हिमाल, पहाड, तराई भरी गाईपूजा गरियोस् भनी छाडिदिएका थिए । निष्कर्षमा डा.इन्दुलकै शब्दमा यस नाटकले “नेपाल राष्ट्रको इतिहास, भूगोल, आध्यात्मिक दर्शन, समाजका महिलाको स्थान, नेपाली समाजको चालचलन, लोक व्यवहार, सम्पत्ति भागवण्डा, नैतिक शिक्षा आदिकोबारे राम्रो दिग्दर्शन गरेको पाइन्छ ।”
४) “छ्यासमिस” पुस्तक रुपी स्वादिष्ट खिर खाँदै ध्यानकको ज्ञान र साधनाद्वारा आफूलाई विचारले परिष्कृत गर्ने क्रममा बौद्ध दर्शनद्वारा समेत आफ्नो आँखा उघार्न खोज्नु, साथै भजन र जीवनको अन्तर सम्बन्धमा निर्गुण सगुण भजनमा रमाउन स्वयम् हार्मोनियम बजाएर सुमधुर स्वर गाउँदा गाउँदै प्राचीन विश्वइतिहासको संक्षिप्त चर्चा नामक पुस्तिकामा ध्यान तानिदा अरबौं वर्षपछाडी सूर्यबाट पृथ्वीको उत्पत्ति प्राणीहरुको सृष्टि, विविध सभ्यता हुँदै धर्म सम्प्रदायको निर्माणसँगै लेखककै शब्दमा “इतिहास आफैमा वर्तमानको ऐना हो” भन्ने उक्ति र पुस्तिकाको गहनता मापन गर्ने उखान “गागर में सागर” समेतमा दृष्टि पु¥याउनु भनेको डा. इन्दुलको भावनात्मक सोचको पराकाष्ठा मान्न सकिन्छ ।
५) डा. केसीले मोतीको साथै ठूलै ह्वेल माछाको रुपमा “उत्तरी ध्रुवसमेतको जीवन यात्रा”, जस्तो गहन विषयलाई समाउँदै संसार रुपी समुन्द्र पार तर्न खोज्नु भएको छ । प्रारम्भ नै इन्दुल भन्नुहुन्छ की “हुन त सबै प्राणीको जीवन नै एउटा यात्रा हो” एकदम सही हो । मानिसले पैदलदेखि विभिन्न सवारी साधन अपनाएर यात्रा गर्छन् । जलथल नभ सर्वत्र । आफ्ना गन्तव्य र उपलब्धिको बखान र सन्तुष्टिको लागि । प्रकाशको वेगले एक सेकेण्डमा पृथ्वीलाई ७.५ पटक फन्को मार्न सक्दछ भने त्योभन्दा तीव्र गति मनको यात्रा छ । चितायो की पुगी हाल्नछ । मन्तव्य मुभोक्षुताको हुनु पर्दछ भने, गन्तव्य स्वच्छ, निर्मल चैतन्य स्वरुपतिरको हुनुपर्दछ । कोलम्बस, भास्को डीगामा, व्हेनसाङ र माओत्सेतुङको लङमार्चको जस्तो यात्रा हुनु हुँदैन । जता मच्यो तेतै थच्यो । शब्द योगको भजनद्वारा अन्तर घटको यात्रा गर्नु बाहेक सबै यात्रा भौतिक हुन् । योगाचार्यहरु प्रति मेरो यो लेख अन्तर्गत केसीजीलाई दुई लाइनको प्रश्न छ 
कुन गोरेटो जान्छौ यात्री, कहाँ गछौँ विश्राम ।
पन्थ अनेक अनेक छ मञ्जिल, कहाँ पुग्छौ कुन ठाम (यात्री) ।।
यो पहिलो खण्डको एघारवटा मोती पढिसक्दा आ–आफ्नो विचार अनुसारको आचार र भाव त्यसैगरी आ–आफ्नो मति अनुसारको गति र संस्कारमा खारिएको निष्कर्ष भेटाएँ । छरिएर रहेका मोतीहरुलाई एकै ठाउँमा समेटेर चिनारी गराइदिनुका साथै सुरक्षित गरिदिने जुन महायज्ञ सम्पन्न गर्न सफल हुनुभयो, त्यसका लागि डा.इन्दुल केसीज्यूलाई सबैको आशीर्वाद स्वरुप मोक्ष मार्गमा बाँकी जीवन सुखमय रहोस् भन्ने यो लेखक कामना गर्दछ ।
दोस्रो खण्ड
१) यस दोस्रो खण्डको सुरुमा “नुगः घाः” पुस्तकलाइ इन्दुल केसीले मुटुको चिरफार शीर्षकमा ११ वटै कथाभित्रका मर्म स्पर्श गर्न खोजेको पाएँ । सबै कथाहरुका शीर्षकहरु पनि व्यथा र वेदनाले भरिएको मुटुभित्र साँचेर राख्नेछु जस्तै । 
यस पुस्तकका ११ वटै कथामध्ये नुगःघाः (ब्नयलथ) कथाका मुख्य पात्र उमेशबहादुरको परिवेश, परिवन्द र अमेरिकाबाट छोराले पठाएको ज्बउउथ ँबतजभचुक म्बथ को शुभकामना नै “वन डढेको सबैले देख्छ, मन डढेको कसैले देख्दैन” भने जस्तै समाजमा घटिरहने धेरैसँग मिल्दो जुल्दो समवेदनाको मूर्तरुप चित्रण भएको मान्न पर्दछ ।
२) परशु प्रधानको धनिया कथा र व्यथामा धनियाको लोग्ने मर्नु, देवर रामदेवले भाउजु माथि आफ्नो हक जमाउनु । पछि नारीलाई वस्तु भाउ सरह चौकिदारको मिलिमतोमा जोगवनी भारतमा लगी बेच्न खोज्नु । अवला नारी धनियाँको त्यहीँ यौन शोषण हुनु । भारतीय एकजना सेठले २५ वर्षे गर्भवती धनियालाई किनेर श्रीमती र बच्चालाई आफ्नो सन्तान बनाउन चाहेको । यसै सन्दर्भमा गाउँका वडा अध्यक्षको रोहवरमा चौकीदार समेतको मिलिमतो गरी धनियालाई बेच्ने सहमती हुन्छ । सबैले आ–आफ्नो फाइदा लिन भागबण्डा गरिरहँदा धनियाले रुखमा झुण्डेर आत्महत्या गरेको खबरसँगै कथा सम्पन्न हुनुमा डा. इन्दुलको कथा प्रसङ्ग छनौटलाई मान्नै पर्दछ ।
“मतिनाया सः” पुस्तक डा. इन्दुलको नजरमा धर्म, अर्थ, कामवासना, मोक्ष सबै बोकेको बहुआयामिक रहेको जसमा देशप्रेम, वलिदान र शान्ति मार्गमा देवी देवताका गुण गान भजनभक्तिको एउटा सागर नै रहेको छ ।
महिला माथिको विभेद, व्यभिचारी भेंडो पुरुषहरुको थिचोमिचो, वर्गीय, जातीय, लैंगिक कमीकमजोरी नारी प्रवृत्ति माथि पितृ सत्ताको “कालो पहाडको दृश्य” नै उपन्यासकारको चित्रण तथा समीक्षाको बुझाई र इन्दुलको सारसंक्षेप लेख भएको थाहा लाग्छ ।
त्यसैगरी “विषय र विवेचना” पुस्तकबारे टिप्पणीकार डा. इन्दुलले दर्शन, साहित्य, निबन्ध, पुरुषहरु महिलाको वशमा, आत्मा, सतसंग र तपस्या जस्ता लेखकका सबैजसो सत्य तथा तथ्य भनाईहरुलाई गहन रुपमा समर्थन जनाउनु भएको छ ।
३) “आफू अरुका लागि” निबन्धको सार राम्रो लाग्यो । निस्वार्थ भावले अरुको सेवा गर्नु पनि परमात्माको सेवा हो । परमात्मा चिन्नु हो । प्रेरणादायी लेख टिप्पणीकार केसीको स्वीकारोक्ति ।
डा. इन्दुल केसीको “शब्दसागरका मोती” भित्रको “मान्छे, प्रकृति र भेगन” शीर्षकको लेखमा प्रारुम्भमै कृत्रिमताबाट बचौं, मानव र प्रकृतिलाई बचाऔं अन्यथा पछि सुन्दर पृथ्वीबाटै हाम्रो अस्तिङ्खव मेटिन सक्छ भनाईमा यो मोतीमा चमक रहेको थाहा पाइन्छ । भेगनबाटै पश्चिमाहरुको धारणा मैले धेरै पहिले नै चाल पाएको कुरा हो । पूर्वीय दर्शनमा शाकाहारी भन्दा हिंसा गरेर, लुटेर, चोरेर दुखाएर नखानु भन्ने बुझिन्छ भने पश्चिमी देशमा भेगनहरुले पशु पन्छिलाई प्राप्त हुने उत्पादित कुनै पनि परिकारहरु आफ्नो आहारमा समावेश गर्दैनन् । यहाँ निर मान्छे लगायतका म्यामलहरुले जन्मनासाथ खानु पर्ने प्रेमप्रसाद दुधलाई भने स्वीकार्नै पर्ने देखिन्छ, जुन पूजा गर्दा पञ्चामृतमा समेत शुद्ध र पवित्र मानिने गरिन्छ र शारीरिक विकासमा विचारमा समेत यसले सात्तुकी भावलाई नै स्थिरता दिइ राखेको हुन्छ । डा. केसीलाई म यो भन्न चाहन्छु कि आजकल रोजगारीको नाउँमा पशुखेती गर्दै अधिकतम दुग्ध शोषण गर्नु ठीक होइन की ! बोट विरुवा र वनस्पतीमा आधारित खाना अति सात्विक र वधशालाको विभत्स नाटकीय भोजन तामसिक उत्तेजनिक इन्दुलको स्वीकारोक्तिमा मेरो पनि सहमती छ । 
४) “छेउ न टुप्पो” पुस्तकलाई डा. केसीले कथा र निबन्धको दोभान भन्दै विद्वान लेखकको प्रशंसा गर्नुभएको छ । छेउ पनि टुप्पो पनि पत्ता लगाउन खोजे जस्तो गरी निकै पठनीय कसरत पछि लेखकलाई धन्यवाद समेत दिनुभएको छ । यमलोकको यात्रा शीर्षकमा लेखकले देख्नु भएको सपनाको चित्रणमा यमदुत, पापपुण्य, चित्रगुप्त, यमलोकको भयावह दृश्य, कोर्रा, नर्क जाने कर्म नगरेको चित्रगुप्तको फैसला अन्त्यमा सपनाबाट ब्यूँझदा डरलाग्दो अनुभव, यी सबै नै प्रारब्ध कर्मको एउटा चक्कर मात्र हो भनी बुझ्नु पर्दछ । डा. केसीले राम्रो छानवीन गर्नुभएको छ ।
“मेरी परी” कृतिका बारे डा. इन्दुल पनि मर्माहत हुन पुग्नु त भएन किनकी बाबु आमाको अगाडि आफ्ना सन्तानले संसार छाडेर पहिलै जानु भनेको कुनै पनि दृष्टिले शोभनीय मान्न सकिन्न । २१० वटा मुक्तकहरुको सङ्गालो मेरी परीमा पोखिएको दर्दनाक वेदनाले भरिएका परिवेशले जोकोहीलाई पनि संवेदनशील त बनाउँछ नै । मुक्तक, कवि र कविता प्रति गरिएका विवेचना प्रति डा. इन्दुलको निष्पक्ष दृष्टिकोणको हृदयदेखि म स¥हाहना गर्दछु ।
कवि लेखकका कविता र लेखलाई राम्ररी चिरफार गरी पोष्टमार्टम गर्न सक्ने क्षमता डा. इन्दुल केसीमा फस्टाउँदै गएको मैले पाएँ । “आँसुको दह” शीर्षकलाई नै बढाएर भित्र मनको वह भनी थपिदिनु भएको छ, जसबाट वहाँको योग्यता र सुजबुझको पहिले नै परिचय भएको छ भने मलाई लाग्छ । छन्द कविता र अन्त्यानुप्रास तथा विम्वहरुमा रमाएर आनन्द लिनमा पनि उहाँ माहीर हुनुहुन्छ । “आँसुको दह” पुस्तकमा रहेका ५३ वटा कविता मध्ये ८ वटाको मात्र छनौट गरी चर्चा गर्छु भनिएकोमा चौथो, सातौं र आठौं कविताका नमूना सहित छन्दको नाम र विषय परिवेश समेत प्रष्ट हुने गरी चर्चा गरिएको पाएँ । शीर्षक पनि “म फिर्दैछु छोरो”, “जवानीको राग र कल्पनाको दरवार” र “कोकोहोलो कोरोना” अत्यन्त मार्मिक आँसू नै झार्ने गरी मनको बह पोखिएको पाएँ । अन्य ५ वटा कवितामा सरस्वतीको “मङ्गलाचरण”, “अनन्य ईश्वर”, “बेला बितेपछि पछुतो”, “मेरो आत्मीय शङ्खुवासभा” र दोहोरी गीत आदि रहेका छन् भने यी कविताहरुका नालीबेली इतिवृत्तान्त समेतको भित्तो छुनेगरी डा. इन्दुलले समीक्षा गर्नुभएको छ । यस अर्थमा कविज्यूको मर्ममा स्पर्श गर्नुभएको छ ।
अन्तमा
“शब्दसागरको मोती” पुस्तकको अन्तिम मोतीको रुपमा सङ्गीत मन्थनतर्फ आफ्नो दृष्टि पु¥याउनु भएको छ । जुन गहन विषय छ । यो विश्व भाषा पनि हो । यो सङ्गीत ग्रन्थको नाम “सङ्गीत मन्थनाञ्जली” रहेकोमा डा. इन्दुल केसीले आफूले आचमन गरिसकेपछि “को आचमन” शब्द थप्नु भएको छ, यो वहाँको अध्ययनशीलताको महान प्रतिफल हो भन्न सकिन्छ । प्रारम्भमै लेखक द्वयको हृदय खोलेर स¥हाहना गर्नुभएको छ । सङ्गीत क्षेत्रमा जानकार विशेषज्ञहरुको दृष्टिमा यो सङ्गीत ग्रन्थको गरिमालाई प्रष्ट्याउने काम भएको छ । लेखक द्वयको व्यक्तित्व र कृतित्वको बारेमा उहाँले दिल खोलेर धक फुकाएर जे जति शब्दसागरका वाणीहरु पोख्नु भएको छ, म उहाँलाई धन्यवाद दिन चाहन्छु । प्राचीन २२ श्रुतिमा परिमार्जन गरी थप शाखा र विशाखा समेत २४ श्रुतिको उल्लेख, वीणाको तारको लम्बाईमा गणितद्वारा स्वर स्थापना गर्दा १२ स्वरमा तारसां र अति तारसां समेत १४ स्वर भएको स्पष्टोक्ति, ग्राम, मूच्र्छना, थाट–राग वर्गिकरण, प्राचीन र नेपाली स्वर सप्तक स्थापना र स्वरलिपिको विकास क्रमको साथै यस पुस्तकमा आएको रागहरुको नाम समेत टिपोट गर्नु भएकोमा डा.इन्दुलको दृष्टिकोण चौतर्फि रहेको देखिन्छ । आवरण चित्रमा शंखबाट षडज–पञ्चम सम्वाद भावद्वारा सङ्गीतका १२ वटै स्वर उत्पन्न भइरहेको, आवरणकै पृष्ठ भागमा सह–प्रा. सरोजनी तण्डुकारले गायन प्रस्तुत गरिरहेको र भक्तपुर बाराहीपीठ मन्दिर परिसरमा डा. इन्दुल केसीको सक्रिय अध्यक्षतामा स्थापित श्रीराम आचार्यद्वारा उद्घाटन गरिएको वाद्यवादन सङ्ग्रहालयको ताम्र–पत्रको चित्रसमेत राखी २२ वटा मोतीहरुको यो संगालोलाई अन्तिम रुप दिनुभएको छ ।
निष्कर्ष
अब निष्कर्षमा भन्नु पर्दा शब्दसागरका मोेताीको आवरण कलामा ११÷११ वटा मोतीको मध्यभागमा तलपट्टि डा. इन्दुल केसी स्वयम् ढब्बु मोतीको रुपमा विराजमान हुनु भै सबैलाई एउटै मालामा अङ्गालेर आत्मीयता, प्रेम र सद्भाव रुपी ज्योति छरिरहेको सबैको सद्भावना उहाँ प्रति रही रहोस् भन्ने चाहन्छु ।
छुटाउनै नहुने डा. इन्दुलद्वारा रचना गरिएका “शब्द चित्रमा म” (गद्य कविता) ४÷४ हरफका १४ वटा स्वछन्द पदहरुलाई नियाल्दा उहाँले आफ्नो भएभरका इतिवृत्तान्त समेट्न सफल हुनुभएको पाठक वर्गले पढ्न योग्य र मनन् योग्य समेत रहेको पाएँ । अझै उहाँले व्यवस्थापन विषयको संस्थापक, प्रतिलिपि अधिकारको व्यवस्था, सर्वोच्च अदालतमा वादी प्रतिवादीको तर्फबाट गरेको बहस पैरवी र कला संस्कृति भजन महागुठीलगायत विभिन्न संघ, संस्था र आयोजनाहरुका अध्यक्ष, सदस्य, प्रमुख तथा सल्लाहकार भई गरेको अगुवाइका कार्यहरुको फेहरिस्त कति छन् कति । यी सबै अपार सम्पदाका धनी हुनुहुन्छ डा. इन्दुल केसी । अस्तु ।

फाेटाेमा हेर्नुहाेस्...

शब्दसागरका मोतीहरुको सार सङ्क्षेप

Comments