देश समाप्त पार्न एटम बम खसाल्नु पर्दैन, परीक्षालाई खुकुलो पारे पुग्छ ः विजुक्छेँ


फाल्गुन १०, २०८०, बिहीबार | विहान ११:५२ बजे | 50


देश समाप्त पार्न एटम बम खसाल्नु पर्दैन, परीक्षालाई खुकुलो पारे पुग्छ ः विजुक्छेँ

भक्तपुर । ‘देश ध्वस्ट पार्न एटम बम खसाल्नु पर्दैन, परीक्षालाई खुकुलो पारे पुग्छ । शिक्षा क्षेत्रलाई विदेशीहरुले आक्रमण गरेपछि देशका कुनै पनि क्षेत्र अघि बढ्न सक्दैन । शासक दलका नेताहरुमा परेको विदेशी प्रभावकै कारण देश बर्बादीतर्फ गइरहेको छ ।’ वागीश्वरी मा.वि.को ६५आँैं, वागीश्वरी कलेजको १६औं र वागीश्वरी कलेज अफ म्यानेजमेण्टको प्रथम वार्षिकोत्सवको अवसरमा बिहीबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले उक्त भनाइ राख्नुभएको हो ।
उहाँले जतिपनि देशमा भएका ठूला काण्डमा शासक दलहरु नै फसेको स्पष्ट पार्नुभयो । साथै उहाँले जुनसुकै पार्टीले शासन चलाएपनि विचारमा अडान नभएकै कारण भ्रष्टाचार र अपराधलाई टेवा पु¥याइरहेको बताउनुभयो । उहाँले पढेलेखेकाहरु नै मूर्ख बनेपछि देश अघि नबढ्ने औल्याउँदै देशभक्ति र इमानदार नागरिक तयार गर्न बुद्धिजीवी र शिक्षकहरु लाग्नुपर्नेमा जोड दिनुभयो । एनजीओ आइएनजीओकै भरमा शासक दलहरु चलेकाले तत्कालीन सोभियत रुस जस्तै यो देश पनि ठूलो दुर्घटनामा जाने उहाँको भनाइ छ । ज्यान सजायलाई विरोध गरेकै कारण नेपालमा बढी अपराध भएको भन्दै उहाँले नेपालका ठूला उद्योग कलकारखाना भारतलाई सुम्पिदासमेत कुनै सजाय नभएको बताउनुभयो ।
त्यस्तै अनुभव नभएका व्यक्तिलाई मुख्य पदमा जिम्मेवारी दिइँदा नेपालमा ठूला काण्डहरु भएको स्पष्ट पार्नुभयो । कुनै जात, भाषा र धर्मका आधारमा कट्टर राष्ट्रबादले देशलाई आक्रमण गर्नसक्नेतर्फ सचेत पार्दै उहाँले त्यस्तो तानाशाही चलाए त्यो फासीवाद हुने बताउनुभयो । वागीश्वरीले भित्री मनैदेखि राष्ट्रप्रति समर्पित युवा तयार पारिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
वागमति प्रदेश सभाका सदस्य एवं विशिष्ट अतिथि सुरेन्द्रराज गोसाईले सिङ्गो टिम नै तयार भएमात्र विद्यालयको दिगोपना रहने बताउँदै उहाँले हरेक कार्यमा सामूहिक प्रतिस्पर्धा गराउनु उचित हुने बताउनुभयो । उहाँले सांस्कृतिक, सामाजिक र प्रकाशनको क्षेत्रमा वागीश्वरी अब्बल रहेको बताउनुभयो । उहाँले नेपालमा १० खर्बभन्दा बढी रकम शिक्षा, स्वास्थ्य र धर्मका लागि विदेशी लगानी ल्याउन खोज्नु सिधै आत्मसमर्पण भएको औंल्याउनुभयो । आर्थिक रुपमा परनिर्भर बनाइरहेको शासक दलहरुको विरोध र मुकाविला गर्ने पुस्ता तयार गर्नु आजको आवश्यकता भएको बताउँदै उहाँले आर्थिक रुपमा विदेश निर्भर रहेसम्म सार्वभौमसत्ता तिक्न नसक्ने स्पष्ट पार्नुभयो । बजारमा बिक्ने मात्रै विद्यार्थी नबनाई दूरदर्शिता भएका फराकिलो राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा व्यवहारिक र बैज्ञानिक शिक्षा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेण्ट व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रोजगारी, छिटो विवाह र विदेश पलायनका कारण स्नातक पढ्ने धेरै विद्यार्थीहरुले ड्रप आउट गरेको बताउनुभयो । सीटीइभीटीबाट सञ्चालित थुप्रै कलेजहरु विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको बताउँदै उहाँले विद्यार्थीको चाहना भएका कार्यक्रमको कोटा दिन शासक दलहरु कन्जुस्याइँ गरिरहेको बताउनुभयो । नयाँ विकल्पका रुपमा ख्वप विश्वविद्यालय आवश्यक भएकाले त्यसै बमोजिम तयारी गरिरहेको उहाँको भनाइ छ ।
वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर न.पा. वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले वागीश्वरी जनताको विद्यालय भएकाले स्थानीय जनता र राजनीतिक दर्शनलाई सँगै अगाडि बढाएको स्पष्ट पार्नुभयो । अग्रजहरुबाट जीवनदर्शन र राजनीतिक कक्षा लिएकै कारण देशभक्त र समाजप्रति उत्तरदायी विद्यार्थी तयार भइरहेको उहाँले बताउनुभयो । साथै राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा वागीश्वरीका शिक्षक कर्मचारी र  विद्यार्थीहरु सडकमा संघर्ष गरिरहेको स्मरण गर्दै उहाँले प्रत्येक अन्यायको विरुद्ध आवाज उठाइरहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले जीवनपर्यन्त हजारौं विद्यार्थीको जीवनलाभका लागि अग्रजहरुबाट वागीश्वरीमा शिक्षा रोपेको स्पष्ट पार्नुभयो । उहाँले भक्तपुरमा परीक्षा दिँदा खुकुलो नहुने भएकै कारण परीक्षा केन्द्र समेत सार्न शासक दलहरु लागेको बताउनुभयो । 
त्यस्तै भक्तपुर नगरपालिका नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयालले नगरपालिकाको स्पष्ट नीतिकै कारण भक्तपुरका सामुदायिक विद्यालयहरु उत्कृष्ट बन्दै गएको बताउनुभयो । विद्यार्थीहरुको उन्नति,  प्रगति र छात्रवृत्तिका लागि भक्तपुर नगरपालिकाले काम गरिरहेको बताउँदै उहाँले भक्तपुर नगरलाई शैक्षिक हबकै रुपमा ल्याउन लागिरहेको बताउनुभयो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुईले सामुदायिक विद्यालयका विद्यार्थीको गुणस्तर वृद्धि गर्न र शिक्षकहरुको पेसागत दक्षता कायम गर्न संयुक्त परीक्षा समितिले काम गरिरहेको बताउनुभयो । 
निमावि शिक्षक पियूषराज गोसाईलाई दीर्घसेवा पदकबाट सम्मान गरेको उक्त कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छा र वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रगति प्रतिवेदन पेश गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरुबाट कक्षा ११÷१२ को उत्कृष्ट शिक्षक प्रेम प्रजापति र ऋद्धिभक्त कोजु, ग्याहेन्द्र प्रसाद दाहाल, माध्यमिक उत्कृष्ट शिक्षकमा मंगलेश्वर ध्वोँजु, गंगादत्त भट्ट, निमावि उत्कृष्ट शिक्षक राम प्रसाद कोजु,  प्रावितर्फ उत्कृष्ट शिक्षक धनेशराज राजोपाध्याय, निजी स्रोततर्फ उत्कृष्ठ शिक्षक उरुसा मचामसीलाई, टेक्सतर्फ निशान लवजु, कलेजतर्फ उत्कृृष्ठ शिक्षक सुशिला घजुलाई सम्मान गरिएको छ । कर्मचारीतर्फ रमेश गोसाई, किरण दुमरु, सहायकतर्फ राजेन्द्र बेकोजुलाई सम्मान गरिएको छ । त्यस्तै एसइइ शिक्षक सम्मान, कक्षा ८ शिक्षक सम्मानसमेत भएको उक्त कार्यक्रममा कक्षा ११÷१२ र कलेजका प्रिबोर्ड र बोर्डका उत्कृष्ठ विद्यार्थीहरु प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सिद्धिबहादुर अक्षयकोष, विद्यार्थी सहायता कोष, नारायणी मानन्धर अक्षय कोष, बाल पुस्तकालय कोष, पूर्व विद्यार्थी समाज कोष, कृष्णराम कृष्णलक्ष्मी प्रजापति अक्षयकोष, शैक्षिक सामग्री कोष, संकृति अध्यता कोष, गोविन्द बुद्धमाया अक्षयकोष, शोभा प्रधान स्मृति स्वास्थ्य उपचारकोष, जयन्तकुमार छात्रवृत्ति कोषबाट ७ सय ३६ जना विद्यार्थीका लागि ५ लाख ४२ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिबाट वागीश्वरी स्मारिका विमोचन गर्नुभएको थियो ।
कार्यक्रमपश्चात विद्यालय र कलेजका विद्यार्थीहरुले गीत, संगीत र नृत्यमार्फत सांगेतिक प्रस्तुती देखाइएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

देश समाप्त पार्न एटम बम खसाल्नु पर्दैन, परीक्षालाई खुकुलो पारे पुग्छ ः विजुक्छेँ
देश समाप्त पार्न एटम बम खसाल्नु पर्दैन, परीक्षालाई खुकुलो पारे पुग्छ ः विजुक्छेँ
देश समाप्त पार्न एटम बम खसाल्नु पर्दैन, परीक्षालाई खुकुलो पारे पुग्छ ः विजुक्छेँ

Comments