स्थानीय पाठ्यक्रम सम्बन्धी शिक्षकहरुलाई अभिमुखिकरण
फाल्गुन ७, २०८०, सोमबार | विहान ०९:४६ बजे | 30
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाद्धारा स्थानीय पाठ्यक्रम सम्बन्धी शिक्षकहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरियो । स्थानीय पाठ्यक्रम तयारी समितिका संयोजक एवं मथिनपा वडा नं. २ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा भएको उक्त अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले अभिमुखिकरणबाट सिकेको सिप र ज्ञान विद्यार्थीहरुमा हस्तान्तरण गरि स्थानीय पाठ्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्न शिक्षकहरुसँग आग्रह गर्नुभयो । नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय गतिविधिसहितको पाठ्यक्रम निर्माण भएको र आगामी शैक्षिकसत्रदेखि पाठ्यपुस्तकको रुपमा सबै शिक्षकलाई उपलब्ध गराउने तयारी भइरहेको पनि जानकारी दिनुभयो । मथिनपा शिक्षाशाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भ¤ , मथिनपाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सी., मध्यपुर नगर प्याब्सनका अध्यक्ष निलेश आचार्य लगायतका वक्ताहरुले मध्यपुर थिमिको मौलिक पहिचान कायम हुने किसिमले कक्षा ६ देखि ८ सम्मको पाठ्यक्रम तयार भएको बताउनु भयो । मध्यपुर थिमि क्षेत्रका शिक्षाकर्मी, संस्कृतिकर्मी एवं सम्पदाकर्मीहरु प्रा.रामकृष्ण दुवाल, ई.राजेन्द्र तुबन्जा श्रेष्ठ, बुद्धिकुमार घो, धर्मसुन्दर बज्राचार्य, ओम नरहरि श्रेष्ठ लगायतका स्थानीय पाठ्यक्रम निर्माता एवं प्रशिक्षकहरुले शिक्षकहरुलाई प्रोजेक्टर मार्फत प्रशिक्षण दिनुभएको थियो । मध्यपुर थिमि नगरक्षेत्र भित्र संचालित सामुदायिक र संस्थागत विद्यालयमा कार्यरत सामाजिक शिक्षक एवं स्थानीय पाठ्यक्रम अध्यापनरत शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको उक्त २ दिने अभिमुखिकरण कार्यक्रम आदर्श माध्यामिक विद्यालय सानोठिमीको सभाहलमा भएको थियो । उक्त अभिमुखिकरण कार्यक्रममा मध्यपुर थिमिको भौगालिक अवस्थिति, सामाजिक अवस्था, स्थानीय भेषभूषा, परम्परा, संस्कृति, संस्कार, पेशा व्यवसाय, मौलिक नाम, मूर्तअमूर्त सम्पदा आदि बारे जानकारी दिइएको थियो । अन्तक्र्रियात्मक उक्त अभिमुखिकरणमा मध्यपुर थिमिका सम्पदा, संस्कृति, चाडपर्वदेखि जात्रा, नाच आदि बारे पनि प्रशिक्षण दिइएको थियो ।