विनायकमा रक्तदान ः ३९ जनाले दिए रगत
फाल्गुन ७, २०८०, सोमबार | विहान ०९:४० बजे | 60
मध्यपुर ठिमी, भक्तपुर
सेवा नै ठूलो धर्म हो, मानव सेवा त्योभन्दा पनि ठूलो पवित्र कर्म हो र रक्तदान जीवनदान भन्ने कुरा महसुस गर्दै विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुर, नेपाल स्काउट मध्यपुर ठिमी शाखा तथा विनायक जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा विनायकको ३५ औ विद्यालय वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्कृतिविद् गणेशराम लाछीको सभापतित्वमा तथा मध्यपुर ठिमी नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा सञ्चालित कार्यक्रममा मानव सेवामा समर्पित हुँदै हरेक पिढीलाई उत्प्रेरित गराउने उद्देश्यले विद्यालयले आफ्नो ३५ औं वार्षिकोत्सवको पुनित अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताउनुभयो । चपाचो विश्वविनायक गणेश मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रमका पहिलो रक्तदाता अभिभावक रत्नकाजी प्रजापति रहनुभएको थियो । भक्तपुर जिल्ला स्काउटका विभिन्न प्रतिनिधिहरूको तथा स्थानीय व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले रक्तदान गर्नुभएको रक्तदान कार्यक्रमका संयोजक तुल्सीहरि प्रजापतिले जानकारी गराउनुभयो । कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र तथा मायाको चिनो स्वरूप ह्याट प्रदान गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउनुभयो । कार्यक्रममा ३९ जनाले रक्तदान गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...