पाँचदिने कपुचे ताल जाने योजना


फाल्गुन ३, २०८०, बिहीबार | विहान ११:५५ बजे | 20


पाँचदिने कपुचे ताल जाने योजना

विज्ञहरू भन्ने गर्छन्, “कुनै काममा सफल हुनको लागि केही योजनाहरू अगाडि नै बनाउनुपर्छ, अनि त्यो काम सफल हुन्छ ।” तर, मेरो लागि भने यो भनाइ खासै लागू हुँदैन । अरुमा भन्दा पनि विशेषगरी घुम्न जाने योजनाहरू त कहिल्यै पनि पहिले बनाउँदिन । बनाए पनि त्यो असफल हुने अथवा त्यसमा केही न केही कठिनाइहरू उत्पन्न भएकै हुन्छ । मलाई ४/५ दिनको लामो टुर अनि साथीभाइसँग कहीँ जाने यात्राको योजना कहिले पनि बनाउन मन लाग्दैन । यी सबै अन्तिम घडीतिर मात्र तय गर्छु । तर, यसो भन्दैमा हचुवाको भरमा जाँदिन; विभिन्न सञ्चारमाध्यममा त्यस ठाउँबारे राम्रोसँग अध्ययन गर्छु । पहिले गइसकेका साथीभाइहरूसँग बुझ्छु र अनि जान्छु । यस्तै सिलसिलामा तयार भयो मलगायत मेरा साथीहरूको पाँचदिने कपुचे ताल जाने योजना । यो ताल नेपालकै सबैभन्दा Lowest Glacier को रूपमा चर्चित छ । यो २४५० को उचाइमा रहेको छ । हामीले दशमीको दिन जाने योजना बनायौँ ।
दशमीको टीका बिहानै लगाई सबै साथीहरू एकै ठाउँमा भेला भयौँ । नाइटको बस बुकिङ गरेकोले ५ बजेतिर कलङ्कीको लागि भक्तपुरबाट लाग्यौँ । गाडीको प्रस्थान ८ बजे थियो । तर, गाडीभन्दा चाँडै नै पुगी चिया खाँदै कपुचे तालकै बारेमा कुराकानी गरेर बस्यौँ । सबैको बिदाको समय भएर होला, हामीजस्तै घुम्न जाने टोलीहरू कलङ्कीमा झोला बोकेर गाडी कुर्नेहरू धेरै नै थिए । गफले समय बितेको पनि थाहा नै भएन, ८ बजेतिर हाम्रो गाडी आयो । रातिको नाइट बस चढी पोखरातिर लाग्यौँ ।
यो मेरो नाइट बसको पहिलो अनुभव थियो । बिहान करिब ६ बजे पोखरा पुग्यौँ । माछापुच्छे« हिमालको मनोरम दृश्य हेर्न पाउँदा मन एकदमै खुसी भयो र कपुचे तालको ट्रेक जानको लागि जाँगर आयो । कपुचे ताल पुग्दा हिमाल कति नजिक होला र कस्तो राम्रो देखिने होला भन्ने लागेको थियो । हिमालप्रति मेरो मोह कहिलेबाट जाग्यो थाहा छैन, तर जबजब हिमाल देख्छु, चाहे त्यो हिँड्दा होस् या गाडीमा जाँदा नै किन नहोस् अथवा घरको छतबाट, मौसम सफा हुँदा पनि हिमाल देख्दा मनलाई बेग्लै किसिमको आनन्द मिल्थ्यो । सायद सबैलाई नै आनन्द होला । म त हिमाल हेर्दै हराउने गर्छु । पोखरामा ओर्लेपछि सिक्लेस जान तयार भयौँ । त्यहाँ पुग्नको लागि काउखोलासम्म जिप या लोकल गाडी लिनुपर्ने रहेछ । हामी काउखोला गयौँ र त्यहाँ हामीले बिहानको नास्ता खायौँ र जिपलाई कुर्न थाल्यौँ । हामीलाई जिपले अलि धेरै समय नै कुरायो । एकछिन त जिप छाडेर बसमै जाऊँ कि भन्ने अन्योलमा पनि प¥यौँ । तर, यसो भन्दै गर्दा जिप पनि टुप्लुक्क आइपुग्यो र हामी ढिला नगरी जिप चढेर सिक्लेसतर्फ लाग्यौँ ।
सिक्लेसको सुरुका बाटाहरू पिच गरिएको रहेछ । अहो, कति राम्रो बाटो ! कति आनन्दको यात्रा हुने होला ! भनेर मख्ख पर्दै टिलिक्क टल्केको हिमालको दृश्य हेर्दै थिएँ । तर, यो आनन्द भने केही समयको लागि मात्र रह्यो । केही बेरमै बाटोमा पूरै ढुङ्गा राखिएको कच्ची बाटो सुरु भयो । बाटो पनि साँघुरो भएपछि मनमा डर उत्पन्न हुन थाल्यो । आनन्दको मन भुस भयो । बाहिरको दृश्य कस्तो अब त मतलब नै भएन । त्यही राम्रो बाटो आओस्, छिट्टै सिक्लेस पुगोस् भन्ने भयो । तर, त्यहाँको एउटा राम्रो पक्षलाई भने छुटाउन सकिएन । गाउँको सिमाना छुटाउन ढोका राखिएको रहेछ । ड्रात्र दाइ त्यो ढोका (सिमाना) आउने बेला एकचोटि खोल्नलाई ओर्लिन्थ्यो भने एकचोटि त्यही ढोका लगाउनको लागि ओर्लिन्थ्यो । त्यो ढोका राखिनुको मुख्य उद्देश्य भनेको पारि गाउँको गाईवस्तुले त्यो गाउँको अन्न बाली नखाई दिओस् भन्ने रहेछ । यदि त्यसरी खाइहाल्यो भने ५ सय जरिवाना तिर्नुपर्ने नियम रहेछ । त्यही कारणले मान्छेहरू ढोका खोल्दै लगाउने गरेको रहेछ ।
बाटोमा सानोेसानो झरना, ढुङ्गे बाटो तर्दै हामी १२ बजेतिर सिक्लेस पुग्यौँ र आनन्दको सास फे¥यौँ । नमस्ते होटलमा खाना खाएर १ बजे हुगुका लागि निस्क्यौँ । हामीले ट्रेक सुरु गर्याैँ । सुरुमा हिँड्दै गर्दा लमजुङ हिमाल हेर्दै त्यसलाई क्यामेरामा कैद गर्दै अगाडि बढ्यौँ । सुरुमा बाटो हिँड्दा मज्जा आइरहेको थियो । तर, हिँड्दै गरेपछि भने बाटो साँघुरो हुँदै गयो । बाटाहरू कहिले उकालो आउँथ्यो त कहिले ओरालो । अब त बाटो यस्तो साँघुरो आयो कि जसमा एकलाइन मात्र हिँड्न मिल्थ्यो । साँघुरो बाटो साइडमा तल हेर्यो भने भिरमात्र देखिन्थ्यो । हामी साथीहरू हिँड्ने क्रममा One Mistake Game Finish भन्दै डराउँदै हिँडिराख्यौँ ।
यो कपुचेको गन्तव्य छान्नुअघि म र मेरो अर्को एकजना साथीले पहिले गइसकेका साथीहरूलाई सोध्नेदेखि लिएर टिकटकको हेरेका भिडियो, युट्युबको सबै Vlog हेर्न भ्यासकेका थियौँ । तर, कसैले पनि अप्ठ्यारो बाटो हुन्छ, डरलाग्दो या गाह्रोे हुन्छ भनेका थिएनन्, सबैले बाटो सजिलो र थोरै समयमा आनन्द र मज्जाले जाँदा हुन्छ भन्ने कुरा गरेका थिए र त्यही भएर हामीले कपुचे छानेका थियौँ । उनीहरूसँग रिस उठ्यो । रिसको सीमा उचाइमा तब पुग्यो जब एक ठाउँमा पहिरोले पूरा बिग्रेको बाटोको सामना गर्नुपर्यो । पहिरो आएर बाटोलाई अप्ठ्यारो बनाइदिएको थियो । ठीक ठाउँमा टेकेन भने सिधै तल पुग्ने अवस्था थियो । हामी सबैजना बिस्तारै एकएक गरी लट्ठी र साथीको सहाराले त्यो बाटोलाई पार गर्याैँ । एकछिन त लाग्यो, कस्तो ठाउँमा आइपुग्यौँ ? किन आएको होला ? कस्ता मान्छेहरू होला, हामीलाई न सिक्लेसको बाटो भन्यो न यहाँको बारे । बेकारमा आएको सोचले दिमागमा हलचल भयो । खुट्टा कामिरहेको थियो । त्यसमाथि यही बाटो भोलि कसरी फर्किने पिरले मन डराइरहेको थियो । हामीलाई हिमालले कुर्दै छ, तालले कुर्दै छ, नजिकबाट हिमाल र ताल हेर्ने सपना पूरा गर्नुपर्छ भन्दै जोशजाँगरका साथ उकालो उक्लिँदै, ओकालो ओर्लिँदै, झोलुङ्गे पुल तर्दै आफनो यात्रालाई अघि बढायौँ । हुन त यसो सोच्दा मान्छेहरूले ती कठिनाइहरूलाई हिमालले नै बिर्साइदिने होला कि ।
साँझ भयो । जङ्गलको बाटो भएको कारण चाँडै अँध्यारो भयो । न अगाडि केही छ न पछाडि बस हामो टोलीमात्र । खोलाका आवाज, अँध्यारो जङ्गल, हातमा सानो मोबाइलको टर्च र साना साना खुट्किलाहरू । फेरि मनमा चिसोपन छायो । बास बस्नलाई ठाउँ पनि थिएन, टाढाटाढासम्म न कुनै घर । एउटा बत्तीको झलक त देखिन्यो तर कति टाढा । हामी हिम्मत नहारी हिँड्दै गयौँ । एकजना दाइ भेटियो । उहाँ यही सिक्लेसकै बासिन्दा हुनुहुँदो रहेछ । उहाँलाई भेट्दा भगवान् भेटेजस्तै भयो । होटल नजिकै भएको जानकारी गराउँदै उहाँ जानुभयो र हामी पनि फटाफट हिँड्यौँ । होटल पुग्नुअघि लामो झोलुङ्गे पुल पनि ट¥यौँ ।
होटल गएर थाहा भयो कि तल सुरुतिर हामीले भेटेको दाजु भारी बोक्दै हामी बस्ने होटलमा खाना पकाउन छिटोछिटो आउनुभएको रहेछ । हामीलाई सिक्लेसदेखि हुगु पुग्न ७ घण्टा लागेको थियो । तातोपानी पिएर हामीले थकाइ मा¥यौँ र तातोतातो खाना खाएर भोलि सबेरै उठ्नुपर्ने भएकोले चाँडै नै सुत्यौँ । भालिपल्ट बिहान कोठाबाट बाहिर निस्कँदा हामीलाई सेतो टलक्क टल्केको हिमालले स्वागत गर्न उभिरहेको रहेछ । म त दङ्ग परेँ । बिहानको नास्ता खाएर हिमाललाई भेट्न हामी निस्किहाल्यौँ । कपुचे लाग्ने बाटोचाहिँ अलि सजिलो नै रहेछ । साँघुरो डरलाग्दो थिएन । हामी अघि बढिरहयौँ र ठ्याक्कै झ्न हरियो तालको बिचमा बसेर मुसुुमुसु हाँसेझैँ गरी हामीलाई हेर्दै बसिरहेको थियो । ताल एकदम ठुलो रहेछ । पछाडिको हिमालबाट हिम पहिरो आउँदै गरेको दृश्य पनि हेर्न पायौँ । छोटो टे«क भनेर हामीले सारी पनि बोकेर लगेका थियौँ । त्यहाँ पुगेर दृश्य हेर्दै मन फुरुङ्ग पार्दै सारीमा धेरै फोटो पनि खिच्यौँ । हेर्न त के पुग्थ्यो तर पनि त्यस्तो लामो बाटो फर्किनुपर्ने त्यसमाथि डरलाग्दो बाटो, त्यो सोचेर कपुचेलाई टाटा गरेर होटलमा खाना खान फक्र्यौँ । खाना खानेबित्तिकै हामी सिक्लेसतर्फ लम्कियौँ । आज त समयमै पुग्नुपर्छ र सबैभन्दा पहिले त्यो पहिरो आएको बाटो अँध्यारो हुनुअघि कटाउनुपर्छ भन्ने कुरा दिमाग र मनमा राखेर जोशका साथ हिँड्यौँ । साथीहरूलाई अलि गा¥हो भएका कारणले होला, बिस्तारै हिँड्दै आइरहेका थिए । मलाई भने जसरी पनि त्यो पहिरो बाटो साँझ हुनुअघि जसरी नि पार गर्नुपर्छ भनी छिटो छिटो हिँडिरहेँ ।
नभन्दै त्यो बाटो आइपुग्यो, त्यो डरलाग्दो बाटो जसोतसो साथीहरूको सहयोग र अरु बाटोमा टे«कका लागि आएका अनजान व्यक्तिहरूको सहयोगमा टरेँ । बल्ल मुटुमा ढुङ्गा निस्केको जस्तो हलुङ्गो भयो । त्यसपछिको बाटो भने हामी साथीभाइ मीठो गफ गर्दै, गीतहरू गाउँदै हिँड्यौँ । हामी सिक्लेस राति ७ बजेतिर आइपुग्यौँ र आजको बास यही तय गरी एउटा होटलमा बस्यौँ । भोलिपल्ट सबेरै सबैले आफ्नो नित्यकर्म सकाएर नास्ता लियौँ । त्यसपछि सबै महिलाहरू गुरुङहरूको पोशाक लगाएर गुरुङसेनी बन्नका लागि तयार भए । त्यही पोशाकमा मलगायत अरु केटीहरू भएर सिक्लेस गाउँ डुल्यौँ । फोटो खिच्यौँ, भिडियो, टिकटक बनाएर रमाइलो गयौँ । तर, विडम्बना ¤ त्यो गाउँमा हामीले धेरैजसो बुढाबुढी, स–साना बालबच्चाहरू मात्र भेट्यौँ । बज्यैहरू कोदो झार्नमा व्यस्त रहेछन् । युवाहरू भने कोही विदेश पलायन त कोही सहरतिर आफ्नो भविष्य बनाउन पसेको कुरा सुनियो । दिउँसो २ बजेतिर खाना खान त्यही हामी बसेको होटलमा फक्र्यौँ र खाना खाएर पोखरा जान सबै आफ्नो ब्याकप्याक ग¥यौँ । पोखरा जानको लागि फेरि हामीलाई त्यहाँबाट कि जिप कि गाडीमा जानुपर्ने थियो । हामीले अलि ढिला गरेको जिपले हामीलाई छोडेर गयो । अब अर्को भने त्यहाँको लोकल गाडी । हामीले त्यसैमा जाने निर्णय गर्यौँ । जसोतसो हामीले त्यो गाडी पायौँ । बसको लास्टको सीटमा गएर बस्यौँ । बस बिस्तारै गुड्न थाल्यो । बसमा अलि सजिलो होला भनेर सोचेको थिएँ, तर यो पनि खतरनाक नै रहेछ । लास्टमा भएर होला झन् उफोर्ने, बस नै पल्टेलाजस्तो थियो । यस्तै कुराहरू मनमनमा खेलाउँदै थिए, बसको ड्रात्र भने बिनाडर गाडी कुदाउँदै थिए । बिस्तारै कच्ची बाटो पनि सकियो, पिच बाटो आयो । मन शान्त भयो । पोखरा पनि आइपुग्यो । त्यो दिन पोखरामै बस्यौँ । भोलि फेरि पनि हामी व्यस्त सिजनका कारणले गाडी पाउन गा¥हो पर्यो । लोकल गाडी चढेर नै भक्तपुर फक्र्यौँ । लोकल गाडी भने अरु पर्यटक बसभन्दा अलि फरक नै हुने रहेछ ।
कपुचेको यात्राबाट धेरै अनुभव सँगालेर फक्र्यौँ । खोलाको आवाज, मन प्रसन्न पार्ने हिमालको दृश्य, हरियो र नीलो रङ्गको गहिरो ताल, साँघुरा बाटाहरूको डर यी सबै कहिल्यै नबिर्सिने कपुचेका यादहरू मनमा ताला लगाई बसिरहनेछन् ।

फाेटाेमा हेर्नुहाेस्...

पाँचदिने कपुचे ताल जाने योजना

Comments