विनायकमा सरस्वती पूजा
फाल्गुन २, २०८०, बुधबार | विहान ०७:५६ बजे | 10
मध्यपुर ठिमी भक्तपुर शिक्षा अनि संस्कार :विनायकको गुणस्तरीय आधार भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै पूर्वीय संस्कार ,ज्ञान तथा पाश्चात्य सोचका साथ आधुनिक, गुणस्तरीय र वैज्ञानिक शिक्षा प्रदान गर्दै आएको विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरमा यही २०८० साल फागुन २ गते सरस्वती पूजा कार्यक्रमको आयोजना गरियो। विद्याकी देवी सरस्वतीको भव्य पूजा र आराधना गरी मनाइएको उक्त कार्यक्रम प्रिप्राइमरी ब्लक र सेकेन्डरी ब्लक गरी दुई ठाउँमा आयोजना गरिएको थियो। सरस्वती बन्दना , सङ्कल्पपत्र वाचन तथा अन्य भजन किर्तनका साथ आयोजित उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सरस्वतीको तस्बिर तथा मूर्तिमा माल्यार्पण गरी पूजाआजाका साथ कार्यक्रमलाई शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रिन्सिपल प्रजापतिले विद्यार्थीले हरेक दिनलाई सरस्वती पूजा मान्दै शुद्ध तन, मन, वचन र कर्मले अध्ययनमा लागेर जीवनलाई सफल र सार्थक बनाउन शुभकामना व्यक्त गर्नुभयो ।त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले संस्कारयुक्त शिक्षा जीवन सार्थकताको आधार भएकोले हाम्रा परम्परागत संस्कार र विश्वासलाई जीवन्त राख्दै युग सुहाउँदो र स्तरीय वैज्ञानिक शिक्षा प्राप्त गर्न सरस्वती माताको कृपा रहिरहोस् भनी शुभाशिष प्रदान गर्नुभएको थियो। विशेष गरेर प्री प्राइमरी ब्लकमा अभिभावकको बाक्लो उपस्थितिका बीच आयोजित पूजा तथा अक्षरारम्भ कार्यक्रममा विद्यार्थीहरुलाई लेख्न सिकाइएको थियो।
फाेटाेमा हेर्नुहाेस्...