म दास बन्न सक्दिनँ
माघ १६, २०८०, मङ्गलबार | विहान ०५:०४ बजे | 30
हिजो पञ्चायतको
विरोध गर्न सिकायौ
आज
उही पञ्चायत
को पक्षमा
वकालत गरिरहेछौ
किन प्यारो लागिरहेछ
फेरि
तिमीलाई पञ्चायत?
हिजो
वहुदल ल्याउन सिकायौ
आज बहुदलकै विरोधी
फेरि तिमीलाई
किन प्यारो लागिरहेछ
महासय?
हिजो गणतन्त्र
ल्याउन सिकायौ
आज उही
गणतन्त्र विरोधी नै
प्यारो लागिरहेछ तिमीलाई
हिजो हुकुमी शासन
विरुद्ध लड्न सिकायौ
आज तिमी
फेरि उहीँ हुकुमी शासक
राम्रो भन्दै कुर्लिरहेछौ
तिमीले जे जे भन्यौ
त्यही मान्ने
दास बनायौ
महासय
अब म दास बन्न सक्दिन
आज तिम्रो पार्टी स्थापना दिवस
फेरि किन मैले मनाइरहनु पर्ने ?
तिमी फेरि मलाई
हुकुम दिन आएका छौ
कान खोलेर सुन
महासय
अब म तिम्रो दास बन्न सक्दिन
अति भो महासय
तिमी फेरि हुकुमी शासक बनेर
मैमाथि बुट बजार्ने
खेल खेल्दैछौ
मैले कहिले सम्म
तिम्रो पाउ ढोग्नु पर्ने
भन म कहिलेसम्म दास बनुँ ?
महासय
अब म तिम्रो दास बन्न सक्दिनँ ।।
राम चन्द्र प्रजापति