भक्तपुर बुढ्यौली साहित्य समाजको कविता प्रतियोगिता


माघ १२, २०८०, शुक्रबार | दिउँसो ०२:५० बजे | 85


भक्तपुर बुढ्यौली साहित्य समाजको कविता प्रतियोगिता

भक्तपुर बुढ्यौली साहित्य समाजको आयोजनामा दुवाकोटस्थित गोल्डेन सुगाभा इङ्लिस सेकेन्डरी स्कुलका सभाकक्षमा भक्तपुर जिल्लाव्यपी अन्तर्माध्यमिक विद्यालयस्तरीय ९कक्षा छदेखि दशसम्मका विद्यार्थीका बिचमा० कविता प्रतियोगिता सम्पन्न भयो । डा इन्दुल केसीको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष कविराज घिमिरेको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं २ का अध्यक्ष सोमप्रसाद प्रधान विशिष्ट अतिथि हुनुहुन्थ्यो  । विशेष अतिथिमा समाजका सल्लाहकार द्वय शङ्कर मानन्धर तथा लालबहादुर भुलेल, गोल्डेन सुनगाभा बोर्डिङ स्कुलका व्यवस्थापन समिति अध्यक्ष लीलानाथ निरौला रहनुभएको थियो । कार्यक्रम समाजका सचिव जीवनाथ अधिकारीले सञ्चालन गर्नुभएको थियो भने निर्णायक मण्डलमा साहित्यकारहरू पदम दाहाल, डा सीता सुवेदी पन्थी र रामशरण कार्की रहनुभएको थियो । 
भक्तपुर बुढ्यौली साहित्य समाजले यसअघि भक्तपुर जिल्लाका चारओटै नगरपालिकाहरू सूर्यविनायक नपा, मध्यपुर थिमि नपा, भक्तपुर नपा र चाँगुनारायण नपामा रहेका विद्यालयका कक्षा छदेखि कक्षा दशसम्मका विद्यार्थीहरूका बिचमा नगरपालिका स्तरीय बुढ्यौलीपरक विषयमा आधारित भएर लेखिएका कविताहरूको प्रतियोगिता गराइएको थियो । चारओटै नगरपालिकाबाट प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीका बिचमा आज जिल्लास्तरीय प्रतियोगिता सम्पन्न भएको हो । 
प्रतियोगितामा बालप्रेमी  मावि, थिमिका छात्र रामकृष्ण सेन्चुरी प्रथम, प्रेसस इङ्लिस स्कुल, बालकोटकी छात्रा अनुष्का अधिकारी द्वितीय तथा भक्तपुर  इङ्लिस सेकेन्डरी स्कुलकी छात्रा जेनिशा जोशी तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी कविहरूलाई क्रमशस् दुई हजार, एक हजार पाँचसय र एक हजार रुपियाँको  नगद पुरस्कार तथा प्रमाणपत्र साथै सहभागी सबैलाई प्रमाणपत्र  र  “प्राचीन विश्वइतिहासको सङ्क्षिष्त चर्चा”,  “शब्दचित्रमा हामीभित्रका कविता केलाउँदा” र ”माधुरी” नामक कृतिहरू प्रदान गरिएका थिए । प्रमाणपत्र प्रमुख अतिथि डा इन्दुल केसीले तथा नगद पुरस्कार वडाध्यक्ष सोमप्रसाद प्रधानले प्रदान गर्नुभयो । 
यस कार्यक्रममा विजयी विद्यार्थी कविहरूलाई पुरस्कारको सौजन्य चाँगुनारायण नगरपालिका वडा नं २ का अध्यक्ष सोमप्रसाद प्रधानले गर्नुभएको थियो । 
कार्यक्रममा अतिथि कविका रूपमा जीवनाथ अधिकारीले लेखेको बुढ्यौलीपरक कविता निशा योन्जनले तथा कवि कृष्णप्साद पौडेल र कवि धरणी गुरागाईँले छन्दकविता, कुसुम घिमिरेले मुक्तछन्दको कविता, एमपी पाण्डेले गजल वाचन गर्नुभएको थियो भने निर्णायक डा सीता सुवेदी पन्थी,  पदम दाहाल र रामशरण कार्कीले विद्यार्थीहरूका रचनाबारे टिप्पणी गर्दै कविता प्रस्तुत गर्नुभयो । मन्तव्यका क्रममा प्रमुख अतिथि डा केसीले भक्तपुर सानो जिल्ला भएर पनि कला, संस्कृति, चाडपर्व, जात्रा, मठमन्दिर तथा प्रकृतिले भरिपूर्ण भएकाले यिनका विषयमा पनि साहित्य लेख्न विद्यार्थीलाई सुझाउनुभयो । विशिष्ट अतिथि चाँगुनारायण नगरपालिका वडा नं २ का अध्यक्ष सोमप्रसाद प्रधानले विद्यार्थीको प्रतिभा र रुचिमा विविधता  हुने भएकाले आफ्नो रुचि र क्षेत्रमा समर्पित भएर लागे सफलता हासिल गर्न सहज हुने बताउँदै भक्तपुर बुढ्यौली साहित्य समाजसँग सहकार्य गर्न र सहयोग गर्न आफू कटिबद्ध रहेको बताउनुभयो । 
कार्यक्रममा प्रोत्साहन मन्तव्यका रूपमा शङ्कर मानन्धर,  लालबहादुर भुजेल, लीलानाथ निरौलाले विद्यार्थीहरूलाई शुभकामना दिँदै आफ्ना विचारहरू राख्नुभएको थियो । कार्यक्रममा समाजका सदस्य जुनू घिमिरे, श्याम माकजुलगायत पचासबढी विद्यार्थीहरूको उपस्थिति थियो । अन्तमा कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष कविराज घिमिरेले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी कार्यक्रमहरूमा पनि यस्तै सहयोग पाइरहने विश्वासका साथ कार्यक्रम समापन गर्नुभयो । कार्यक्रम करिब साढे दुई घण्टा चलेको थियो ।
–समाचार सम्प्रेषक स् जीवनाथ अधिकारी  

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर बुढ्यौली साहित्य समाजको कविता प्रतियोगिता

Comments