"देशलाई तिम्रो खाँचो छ "


पुष १२, २०८०, बिहीबार | विहान ०६:१७ बजे | 90


"देशलाई तिम्रो खाँचो छ "

मुना राई


आफ्नो देशको छैन कसैलाई वास्ता
दिनदिनै बिग्री सक्यो हाम्रो देशको अवस्था।

सबैजना स्वार्थको लागि आन्दोलन गर्ने
देश  बनाउनलाई कोही अघि नसर्ने।

जनताहरू बोकी हिँड्छन् पार्टिका झोली
यस्ताहरुले देशलाई कता लाँदैछन् भोली?

मानिसले मानिसलाई बेचेर खाँदैछन्
युवाशक्ति सबै विदेश तिर जाँदैछन्।

ठाउँ ठाउँमा जग्गा जमीन सबै बाँझो छ
यो समयमा देशलाई तिम्रो तिम्रो खाँचो छ।

सबै युवा मिलेर देश बचाउने अभियानमा लाग
अबेला नगर अब आफ्नो ठाउँबाट जाग।

हेर्दा हेर्दै हाम्रो देश कतातिर जाँदै छ?
भित्र भित्रै खोक्रो पारेर धमिराले खाँदै छ।

विसंगति, विकृति आडम्बरी बढ्दै छ
महँगीले आकाश छुन सिँढीहरु चड्दै छ।

यो देश बनाउने शक्ति तिम्रै हातमा छ
धेरै जिम्मेवारी आज तिम्रै काँधमा छ।

त्यसैले यो देशलाई तिम्रो नै खाँचो छ
जे गर्छु भने पनि तिम्रै हातमा साँचो छ।

ए युवा शक्ति हो देश बचाउनलाई उठ
हामी तिम्रो साथमा छौँ एक भएर जुट।

युवा जोश, जाँगर तिमी भित्र दम छ
हामीलाई नि भन के कुरामा कम छ?

ए युवा शक्ति हो देशलाई तिम्रो खाँचो छ
देश बनाउने शक्तिको तिम्रै हातमा साँचो छ।

Comments