त्रास र धम्की
मंसिर १७, २०८०, आइतबार | विहान ०५:४८ बजे | 70
तिम्रो अनुहार
किन
जन्तु ..जन्तु जस्तो
देखि रहेछु म?
जस्तो कि जंङ्गली जनावर जस्तो
के यो सन्त्रास फैलाउने अनुहार
मान्छे कै हो ?
अँ हँ म विश्वास गर्न सक्दिनँ
तिमी मानव
हौ वा
जनावर?
हैन भने
फेरि किन
लगाउन खोजिरहेछौ
राणा शासकले
मिल्काएको
झुत्रो मुकुण्डो ?
र
फेरि
किन खोज्दैछौ तर्साउन?
मानव बन्न
संघर्षरत मानवलाई ?
छि...
डर,त्रास अनि धम्कीको आडमा
तँ नरपशु बन्दै गएको
म हेरिरहेछु
युग युगदेखि
हे नरपशु
तँ
मान्छेको रूपमा
बनेर जङ्गली
फेरि उहीँ
मुढे बल देखाउँदै छौ
बिर्सिस् मानवताको साङ्लोले
छयालिस् सालको
जन आन्दोलनको हुरी कुल्चेको ?
त्यतिबेला पनि तिमिले
फ्याँकेर पञ्चायतको मुकुण्डो
लगाएर बहुदलको मुकुण्डो
सज्जन मानवमाथि
बर्षाएकै हो
डर,त्रास र धम्की
हे मानव रुपि जन्तु
तिमी नै हौ
मानवता निचोरेर
जनयुद्धको नाममा
घट घट मान्छेकै रगत पिउने ।
त्यति मात्र हैन
फेरि
बैसठ्ठी त्रीसठ्ठीको आन्दोलनमा
छाडेर बहुदलको मुकुण्डो
लगाएर फेरि
संघीय लोकतान्त्रिक गणतन्त्रको मुकुण्डो
फेरि तर्साइरहेछौ
अनि
दिइरहेछौ धम्की
हे नरपशु
हे जनावर
सज्जन मानवलाई
चित्तामा पुगेर पनि
दिइरहेछौ
डर,त्रास अनि धम्की
तँ सच्चिन्छस् कहिले?
यदि
तिमि
सच्चिएनौ भने
जाग्न बाध्य हुनेछु म
जाग्न बाध्य हुनेछ
यो पुष्ता
र
जगाएर फेरि भावी पुस्ता
गर्नेछ अन्त्येष्टि
यो युगले
होसियार !!
२०८० मंसिर १६ शनिबार
राम चन्द्र प्रजापति