थिमिबासीको १५ अर्ब भन्दा बढी रकम सहकारीमा
मंसिर १४, २०८०, बिहीबार | दिउँसो ०२:१० बजे | 65
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ दथुटोलस्थित ओस्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भयो । संस्थाका सञ्चालक अध्यक्ष रोशन बज्राचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रमको परम्परागत बाद्य एवं नृत्यगुरु श्रीगोपाल प्रजापतिले कलात्मक पानसमा दीप प्रज्वलित गरेर उद्घाटन गर्नु भयो । कार्यक्रममा मध्यपुर थिमि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमिका बासिन्दाको १५ अर्ब भन्दा बढि रकम सहकारीमा रहेको भन्दै स्थानीय बासिन्दाद्धारा समुदायमा आधारित सहकारीमा कुनै समस्या नरहेको बताउनु भयो । विशेष अतिथि उपप्रमुख श्रेष्ठले मथिनपाले शिक्षा, स्वास्थ्य र सहकारीको विकासमा गरेका कार्यहरुको संक्षिप्त जानकारी दिदैं समुदायमा आधारित ओस्ला साकोसको कार्यको प्रशंसा सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा मथिनपा वार्ड नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका सहकारी शाखा प्रमुख अभयेन्द्र रञ्जित, सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठ, बालकुमारी साकोसका सचिव पृथ्वीराम श्रेष्ठ लगायतका अतिथि वक्ताहरुले सहकारी सञ्जाल गठन एवं सहकारीको महत्व सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । संस्थाका अध्यक्ष रोशन बज्राचार्यले आर्थिक वर्ष २०७९=०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे ओस्ला साकोसमा १ हजार ८ सय ६७ शेयर सदस्य, २ करोड ७५ लाख ८० हजार ३ सय चुक्त शेयर पुँजी, १८ करोड ८२ लाख ७२ हजार ४ सय रुपैंया निक्षेप संकलन भएको जानकारी दिनुभयो । अध्यक्ष बज्राचार्यले ४ लाख ८४ हजार २ सय ३३ रुपैंया सञ्चालन बचत रहेको जानकारी दिदैं सहकारीका सिद्धान्त, मुल्य मान्यतालाई आत्मसाथ गरेर ओस्ला साकोस सञ्चालन भइरहेको बताउनु भयो । संस्थाका उपाध्यक्ष नन्द श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका सचिव दिकेश बज्राचार्यले संस्थाको वार्षिक प्रगति प्रतिवेदन बुँदागत रुपमा प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष सुशील जोशीले आ.व. २०७९=०८० को आर्थिक प्रतिवेदन पेश गर्दै संस्थामा गत आ.व.मा ५ करोड ३९ लाख ५३ हजार रुपैंया तरलता रहेको तथ्य प्रस्तुत गर्नुभयो । लेखा संयोजक प्रकाश शाक्यले लेखा सपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा संचालक सदस्य शम्भु जय श्रेष्ठले ओस्लाको हालसम्मको गतिविधि सशित स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम थिमि बैंक्वेटमा भएको थियो ।