भक्तपुर । देवी माध्यमिक विद्यालयलाई रु. चार करोडको लागतमा बनेको भवन हस्तान्तरण गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलस्थित सो विद्यालयको नवनिर्मित भवन बिहीबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

वि.सं. २०७२ सालको विनासकारी भूकम्पको कारण क्षतिग्रस्त विद्यालयको सो भवन निर्माणका लागि एसियाली विकास बैंक र नेपाल सरकारको सहयोग रहेको थियो । केन्द्रीय कार्यान्वय इकाई (शिक्षा) र जिल्ला आयोजना इकाई(शिक्षा) को सहयकार्यमा डीआरएसपी प्रथम कार्यक्रम अन्तर्गत निर्मित सो भवनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनीधि सभाका संघीय सांसद प्रेम सुवालले गरेका थिए ।
[[img2]]
सांसद सुवालले उद्घाटन गरेपछि जिल्ला आयोजना इकाई(शिक्षा) का प्रमुख भरतबहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला र विद्यालयका प्रधानाध्यापक राजाराम छुकांलाई संयुक्त रुपमा विद्यालयको साँचो हस्तान्तरण गरे । भवन निर्माणका लागि रु. ३ करोड ७३ लाख ७७ हजार बजेट विनियोजन भएको थियो ।
भवन निर्माणको काम २०७५ पुस २५ गतेबाट सुरु भएको थियो । गत बैशाखमै निर्माण सम्पन्न उक्त भवन कोरोना महामारीको कारण रोकिएको थियो ।
हाल ६ सय ५ विद्यार्थी अध्ययनरत उक्त विद्यालयले नयाँ भवन पाएसँगै शैक्षिक क्रियाकलापलाई सहज रुपमा अघि बढाउन सहयोग पुग्ने विद्यालयका प्रअ छुकांले बताए । ‘भूकम्पका कारण भएको भवन क्षति हुँदा ठाउँ अभाव भएको थियो, हामीले ७ कोठे भवन पाएपछि समस्या हल हुने भएको छ ।’ उनले भने ।

गुणस्तरीय शिक्षा दिने उत्कृष्ट विद्यालयको रुपमा रहेको सो विद्यालयमा विद्यार्थीको आर्कषणका कारण कक्षाकोठा अभाव थियो । भवन हस्तान्तरणसँगै विद्यालयको उक्त समस्या हल हुने जिल्ला आयोजना इकाई(शिक्षा)का प्रमुख भरतबहादुर श्रेष्ठले जानकारी दिए ।

...

All Comments.......


Please Login/Register To Comments