भक्तपुरमा कर सप्ताहको पहिलो दिन पहिलो करदाता सम्मानित


मंसिर १, २०८०, शुक्रबार | दिउँसो ०२:५६ बजे | 55


भक्तपुरमा कर सप्ताहको पहिलो दिन पहिलो करदाता सम्मानित

भक्तपुर ः आन्तरिक राजश्व कार्यालय भक्तपुरले राष्ट्रिय कर दिवस–२०८० को अवसरमा शुक्रबार जिल्लाका व्यवसायीहरुसँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । 
नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आइएको छ । ‘स्वच्छ पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मंसिर १ गतेदेखि ७ गतेसम्म आन्तरिक राजश्व कार्यालय भक्तपुरले विविध कार्यक्रम गरी कर सप्ताह मनाउने कार्यालयका कर अधिकृत दिपक खनालले बताए । 
कर सप्ताहको पहिलो दिन कार्यालयका सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले विगतमा भन्दा अहिले कर प्रणालीमा व्यापक सुधार भइसकेको बताए । कर प्रणाली अझै सुधार गर्नुपर्ने धेरै बाँकी रहेको भन्दै उनले आगामी दिनमा अझ बढी प्रणालीगत सुधार हुनेमा विश्वास व्यक्त गरे । 
करदाताहरुलाई शिक्षाको अभावका कारण धेरैजसोले जरिवाना तिरिरहेको अवस्था रहेको उनको भनाइ छ । आन्तरिक राजश्व कार्यालयको करदाताबाट जरिवाना अशुल्ने उद्देश्य नभएको कारण सम्पूर्ण करदातालाई नियमानुसार समयमा कर दाखिला गरी जरिवानाबाट बच्न उनले आग्रह गरे । उनले आगामी दिनमा करदाताहरुलाई कर प्रणालीबारे सचेतना जगाउन वार्षिक क्यालेन्डरमा तालिका बनाएर नै कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए । 
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले करदाता व्यवसायीहरु र कर कार्यालयबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले प्राविधिक ज्ञानको कमीले गर्दा व्यवसायीहरु जरिवाना तिर्न बाध्य भएको भन्दै आन्तरिक राजश्व कार्यालयले कुन क्षेत्रका व्यवसायीहरुलाई जुन किसिमको कर शिक्षा आवश्यक छ सोहीअनुसार तालिम, कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कर प्रणाली थुप्रै नीतिगत समस्याहरु रहेको भन्दै उनले ती समस्याहरु सुधारका लागि सम्बन्धित निकायमा पहल गरिदिन प्रमुख कर अधिकृत गौतमसमक्ष आग्रह गरे । यसैगरी, भक्तपुर उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, साधारण सदस्यतर्फका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, वस्तुगत सदस्यतर्फका उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, एशोसिएट्सतर्फका उपाध्यक्ष गणेशहरि प्रजापति, घरेलु तथा साना उद्योग संघ भक्तपुरका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भक्तपुर किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद चवाल, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष गंगाराम मानन्धरलगायतले व्यवसायीहरुलाई कर करले होइन, रहरले तिर्ने वातावरण बनाउनका लागि अभिप्रेरित हुने खालका विभिन्न कर शिक्षा कार्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिए । 
यसैबीच, आन्तरिक राजश्व कार्यालय भक्तपुरले कर सप्ताहको पहिलो दिन पहिलो करदाता सूर्यविनायक नगरपालिकास्थित सुरज किराना पसलका प्रोप्राइटर सुरज माकजूलाई सम्मान गरेको छ । उनलाई खादा, माला लगाइदिएर कार्यालयले सम्मान गरेको हो ।   

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा कर सप्ताहको पहिलो दिन पहिलो करदाता सम्मानित

Comments