आठौं रियल इस्टेट एक्स्पो २०२३ डिसेम्बर २८ देखि
कार्तिक २१, २०८०, मङ्गलबार | दिउँसो ०२:१४ बजे | 30
यो वर्षको आठौं रियल इस्टेट एक्स्पो २०२३ डिसेम्बर २८ देखिदेखि राजधानीमा सुरु हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो डिसेम्वर ३१ सम्म हुने जनाइयो ।
प्रेस विज्ञप्ति
आठौं रियल इस्टेट एक्स्पो २०२३ डिसेम्बर २८ देखि ३१ (तदनुसार २०८० पौष १२ देखि १५ गते ) सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था “नेपाल जग्गा तथा आवास विकास संघ (ल्ीज्म्ब्)” ले यो रियल इस्टेट एक्स्पो आयोजना गर्न लागेको हो । ल्ीज्म्ब् ले विगतमा सातवटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरेको थियो । विगतमा प्रदर्शक, विज्ञापनदाता, आगन्तुक र सर्वसाधारणको उल्लेख्य उपस्थिति र सहभागिताका कारण हामी यस प्रकारको एक्स्पो बारम्बार आयोजना गर्न प्रेरित भएका छौं । नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्धक भई ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सह आयोजनामा र सिन्थेसिस एण्ड इभेन्ट्स प्रा.लि.को व्यवस्थापनमा यो आठौं एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको तथ्यलाई ध्यानमा राख्दै घरजग्गा विकासकर्ताहरूले नेपाल सरकारको नीति तथा प्रचलित कानून बमोजिम वैज्ञानिक, किफायती, व्यवस्थित एवं सुरक्षित आवास र जग्गा विकासको माध्यमबाट योजनाबद्ध सहरीकरण प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउँदै आएकाछन् । यसैले, यो आठौं रियल इस्टेट एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु हुनेछ । जसमा विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू उपभोक्ताहरूलाई प्रदर्शन गर्नेछन् र उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र पक्षहरु बारे पर्याप्त जानकारी प्राप्त गर्नेछन् भन्ने संघको विश्वास रहेको छ । नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेको भए तापनि यसले रियल इस्टेट क्षेत्रको सम्पूर्ण क्षेत्र जस्तैः व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरु समेतको सहभागिता हुनेछ ।
एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन् । साथै, यस एक्स्पोमा इच्छुक उद्यमीहरुको चाहना बमोजिमका सेवाहरु पनि उपलब्ध गराइनेछ ।
मुख्यतः यो एक्स्पो जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरीदकर्ता, लगानीकर्ता, उपभोक्ता, घर जग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलीकरण तथा पुनःनिर्माण सम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरकहरुका साथै निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिशियन तथा लाईटिङ व्यवसायीहरु र अन्य सेवा प्रदायकहरूका लागि साझा मन्च हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । यसैगरी एक्स्पोले सम्बन्धित मन्त्रालय, विभाग, स्थानीय तह र नियामक निकायका सरकारी प्रतिनिधिहरुका साथै रियल इस्टेट क्षेत्रका महत्वपूर्ण सरोकारवालाहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । त्यसैगरी यस एक्स्पोमा उपभोक्ताले आफ्नो छनोट अनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने अवसर प्राप्त हुनुका साथै घरजग्गालाई सरल, किफायती, अनुमानयोग्य र व्यवस्थित बनाउन यो एक्स्पो निकै उपयोगी हुनेछ ।
अन्तमा, यो आठौं एक्स्पोले रियल इस्टेट व्यवसायको वर्तमान स्थिति, यसका चुनौती र न्यूनीकरणका उपायहरूसहित यस क्षेत्रका भविष्यका सम्भावनाहरूका लागि आम जनतालाई उपयोगी हुने सन्देश र जानकारी प्रदान गरी यस उद्योगको विकासमा थप योगदान पु¥याउनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौं । साथै यस एक्स्पोले व्यवस्थित आवास तथा जग्गा विकासको प्रवर्धनका लागि उत्प्रेरित गर्दै आधुनिक, दिगो एवं व्यवस्थित मानव बस्ती र सहरीकरणको विकासमा थप योगदान पुर्याउनेछ भन्ने अपेक्षा गरेका छौं ।
मितिः २०८०।०७।२१ नेपाल जग्गा तथा आवास विकास संघ,
सुन्धारा, काठमाडौं।