भक्तपुरमा करिब ४ सय सहकारीमा ३ लाख ४० हजार व्यक्ति शेयर सदस्य
कार्तिक २१, २०८०, मङ्गलबार | विहान ११:५८ बजे | 30
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनको १७ औं वर्ष प्रवेश गरेको छ । शंखधर सहकारीका अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथि लाखाजुले सहकारी स्थापनाको इतिहास, उद्देश्य, सिद्धान्तबारे बुदाँगत चर्चा गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा सञ्चालित शंखधर साकोसको आर्थिक एवं सामाजिक कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । भक्तपुर जिल्लामा करीब ४ सय सहकारीमा ३ लाख ४० हजार व्यक्ति शेयर सदस्य रहेको जानकारी दिदैं अध्यक्ष लाखाजुले सहकारीका कारण बैंकहरुलाई सहज भएको उदाहरण दिनुभयो । शंखधर साकोसका अध्यक्ष श्याम श्रेष्ठले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, सांस्कृतिक उत्थानका साथै शिक्षा, स्वास्थ्य र सीपविकासमा शंखधर साकोस सदैव क्रियाशील रहेको बताउनु भयो । संस्थाका सचिव राजु श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा शंखधर साकोसका निवर्तमान अध्यक्ष रामसुन्दर श्रेष्ठ, पूर्व अध्यक्ष सत्यसुन्दर श्रेष्ठ, पूर्व अध्यक्ष एवं स्पेकका अध्यक्ष रत्नकृष्ण श्रेष्ठ, लेखा संयोजक हिरारत्न बज्राचार्य लगायतका वक्ताहरुले शंखधर सहकारीको स्थापनाको उद्देश्य, हालसम्मका आर्थिक, सामाजिक गतिविधि, बचत योजना, भावी लक्ष्य सहित शुभकामना व्यक्त गर्नुभएको थियो । शंखधर भवनमा भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष केशवमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । वि.सं.२०६४ साल कार्तिक १९ गते स्थापना भएको शंखधर साकोसमा हालसम्ममा करीब ३ हजार २ सय सदस्य पुगेको संस्थाका व्यवस्थापक राजेन्द्रकुमार कायस्थले जानकारी दिनुभयो ।