चीनमा प्रेस स्वतन्त्रता छैन भन्नु गलत


कार्तिक १९, २०८०, आइतबार | दिउँसो १२:१२ बजे | 30


चीनमा प्रेस स्वतन्त्रता छैन भन्नु गलत

भक्तपुर । वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा पत्रकारिताको अन्तर्राष्ट्रिय कानुन, इतिहास तथा आचारसंहिता विषयक गोष्ठी शुरु भएको छ । 
आइतवारबाट शुरु भएको गोष्ठीअन्तर्गत प्रत्येक दिन फरक फरक देशको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरिने कलेजले उल्लेख गरेको छ । 
गोष्ठीको पहिलो दिन चीनको पत्रकारिताका इतिहास, कानुन र आचारसंहिताको कार्यपत्र प्रस्तुत गरिएको थियो । 
गोष्ठीको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय वैकल्पिक सदस्य तथा चीन अध्येता राजेन्द्र चवालले चीनका विषयमा पश्चिमा चश्माबाट हेर्न नहुने र वास्तविकता अर्कै भएको बताए । 
चीनमा पनि प्रेस स्वतन्त्रता रहेको र चिनियाँ भाषा पढ्न र बुझ्न कठिन भएकाले विदेशी भाषाहरुमा लेखिएका रिपोर्टहरु पढ्दा गलत भाष्य स्थापित भएको उनले स्पष्ट पारे । 
चीनको मिडियाकोबारेमा अहिले बुझ्न सहज हुँदै गएको र चीनले अंग्रेजी भाषामा र विभिन्न अन्य भाषामा पनि मिडिया चलाउन थालिएकाले कुनै पनि विषयमा चीनको आधिकारिकता थाहा पाउन पश्चिमा मिडिया नभइकन चिनियाँ मिडिया हेर्नुपर्ने भनाइ उनको रहेको छ । 
देशको शान्ति सुरक्षा र भौगोलिक अखण्डता पत्रकार आचारसंहिताको महत्वपूर्ण विषय भएकाले कुनै पनि राष्ट्रले यसलाई अंगिकार गर्ने गरेको र चीनले पनि सोही सिद्धान्त अंगिकार गरेको उनको भनाइ रहेको छ । 
उनले भने, “विश्वमा चीन एउटै मात्र देश भएको तर पश्चिमाहरुले २–३ वटा चीनको रुपमा हेर्ने भएकाले उनीहरुले चीनमा प्रेस स्वतन्त्रता छैन भन्ने गरेको छ ।”
चीनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पत्रकारिताका विद्यार्थी मोनालिसा शिल्पकारले चीनबाटै कागज र प्रेसको आविष्कार भएको कुरा पत्रकारिताको इतिहासमा उजागर नभएको जानकारी दिइन् । 
देशको सार्वभौमिकता, राष्ट्रियता र जनताको पक्षमा चीनको मिडिया भएको बताउँदै चिनिया जनताको लागि सरकारले आफ्नै किसिमको सामाजिक सञ्जाल विकास गरेको उनले जानकारी दिइन् । 
चीनको इतिहास जति पुरानो छ, त्यति नै मिडियाको इतिहास पुरानो रहेको बताउँदै चीनमा मिडियाको नियमन चिनियाँ कानुन र अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरुप नै भएको आफूले पाएको उनले स्पष्ट पारिन् । 
कार्यक्रममा पत्रकारिता शिक्षक पूर्णभक्त दुवालले विद्यार्थीहरुमा अध्ययन अनुसन्धान गर्ने बानीको विकास गराउन र पत्रकारिताको बारेमा विश्वको परिस्थितिबारे जानकार बनाउन गोष्ठीको आयोजना गरेको जानकारी दिनुभएको थियो । 
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले चिनियाँ भूराजनीतिबारे प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो । 
वागीश्वरी कलेज मानविकी सङ्कायका प्रमुख राजन फेलुको सभापतित्वमा भएको कार्यक्रममा पत्रकारिताका विद्यार्थीहरु मालती पराजुली, सोनिया देसेमरु, सरिना बाडे, सुमन मचामसीलगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

चीनमा प्रेस स्वतन्त्रता छैन भन्नु गलत

Comments