सुरक्षित हुने ग्यारेन्टीका साथ लगानी गर्न एफएनसीसीआई उपाध्यक्षको आग्रह


कार्तिक १८, २०८०, शनिबार | विहान ०५:११ बजे | 40


सुरक्षित हुने ग्यारेन्टीका साथ लगानी गर्न एफएनसीसीआई उपाध्यक्षको आग्रह

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष सुरकृष्ण वैद्यले विषम परिस्थितिमा आफू सुरक्षित हुने ग्यारेन्टीका साथ लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । 
स्काई होल्डिङ्स बिजनेस ग्रुप पब्लिक लि.को शुक्रबार सूर्यविनायकस्थित घ्याम्पेडाँडा होटेलमा भएको प्रथम वार्षिक साधारणसभाको उद्घाटन गर्दै उपाध्यक्ष वैद्यले लामो समयदेखि आर्थिक मन्दीका कारण धरासायी बनेको देशको व्यापार, व्यवसायले अझै गति लिन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले उद्योगी व्यवसायीहरुले भोग्नुपरेको समस्या समाधानका लागि सरकारले समयमै सही नीति अवलम्बन नगर्दा उद्योगी व्यवसायीहरुले ठूलो घाटा व्यहोर्नुपरेको बताए । विद्यमान आर्थिक मन्दी र चर्को बैंक ब्याजदरका कारण एकपछि अर्को उद्योगी, व्यवसायीहरु पेशाबाट पलायन हुँदै गइरहेको अवस्थामा साहसका साथ व्यापार, व्यवसायमा लगानी सुरु गरेका स्काई होल्डिङ्स बिजनेस ग्रुप पब्लिक लि. शेयर होल्डरहरुलाई उनले लगानी सुरक्षित हुने गरी अगाडि बढ्न सुझाव दिए । 
विशिष्ठ अतिथि नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले विद्यमान अवस्थामा जथाभावी रुपमा वृद्धि भइरहेको बैंक ब्याजदरले व्यवसायीहरु ठूलो मारमा परेको बताए । व्यवसायीहरुले थेग्न सक्ने ब्याजदर कायम नभए अब व्यवसायीहरुले उद्योग, व्यवसाय बन्द गरेर बस्नुको विकल्प नभएको उनको भनाइ छ । सरकारले निजी क्षेत्रको समस्या चाँडै समाधान नगरेमा देशको अर्थतन्त्रमा ठूलो क्षति पुग्ने निश्चित रहेको उनले स्पष्ट पारे । 
कार्यक्रममा कम्पनीका अध्यक्ष कृष्णप्रसाद अवालले प्रगति प्रतिवेदन र सीए अनिल शाहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाबाट कृष्णप्रसाद अवाल पुनः अध्यक्षमा चुनिएका छन् । नयाँ सञ्चालक समितिको सदस्यहरुमा शिवप्रसाद मानन्धर, प्रेम महर्जन, राजेशसुन्दर सैजू, दिनेश गोसाईं, पदमकुमारी मानन्धर र विकास बज्राचार्य रहेका छन् । यसैगरी, सुरकृष्ण वैद्य, दिनेश श्रेष्ठ र युवक राजभण्डारी साधारणसभाबाट सल्लाहकारमा चुनिएका छन् । कार्यक्रममा सल्लहकार युवक राजभण्डारी, एमडी शिवप्रसाद मानन्धर, डाइरेक्टरद्वय अजयकुमार पाण्डे, उमेश बराललगायतले आआफ्नो धारणा राखेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

सुरक्षित हुने ग्यारेन्टीका साथ लगानी गर्न एफएनसीसीआई उपाध्यक्षको आग्रह

Comments