एकसय वर्षका ६१ जनाको कथा समेटिएको शताव्दी व्यक्तित्व सार्वजनिक
कार्तिक २, २०८०, बिहीबार | विहान ११:५० बजे | 120
काठमाडौं । १०० वर्ष नाघेका ६१ जना ज्येष्ठ नागरिकको जीवनवृत्त समेटेर ‘शताव्दी व्यक्तित्व’ नामक संयुक्त पुस्तक विमोचन गरिएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोषले ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा ‘शताव्दी व्यक्तित्व सम्मान’ तथा ‘शताव्दी व्यक्तित्व’ पुस्तक विमोचन कार्यक्रम आयोजना गरी उक्त पुस्तक विमोचन गरेको हो ।
कार्तिक १ गते बुधबार नेपाल पर्यटन बोर्डको सभाहलमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति वसन्तराज कार्कीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे उपस्थित हुनु भएको थियो भने विशिष्ट अतिथिहरुमा नेपाली काँगेसका सहमहामन्त्री तथा प्रतिनिधि सभाका सदस्य माननीय बद्री पाण्डे तथा नेकपा एमालेकी नेतृ, राष्ट्रिय सभाका सदस्य एवम् पूर्वपरराष्ट्र मन्त्री डा. विमला राई पौड्याल उपस्थित हुनु भएको थियो । यसैगरी अतिथिहरुमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषका पूर्व अध्यक्ष, मदनदास श्रेष्ठ, विश्व साइकल यात्री पुस्कर शाह, एजिङ नेपालका कार्यकारी निर्देशक प्रकाश गौतम, राष्ट्रिय स्वास्थ्य कोषका सदस्य सचिव सुनिता भण्डारी, राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव सुस्मा खड्का लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा १०० वर्षभन्दा लामो दीर्घ जीवन सम्मानपूर्वक बाँचेर सजिवताको निरन्तर प्रेरणा दिइरहनु भएका आदरणीय ज्येष्ठ नागरिकहरू इन्द्रमाया पौड्याल, डा. गौरीशंकरलाल दास, पंख बहादुर थापा, सानुमान शाक्य, कृष्णथकु ग्वाछा र चन्द्र बहादुर सुनुवारलाई सभामुख देवराज घिमिरेले राष्ट्रिय ज्येष्ठ नागरिक कोषको तर्फबाट ‘शताव्दी व्यक्तित्व सम्मान’ सहर्ष अर्पण गर्नुभएको थियो ।
विमोचित ‘शताव्दी व्यक्तित्व’ नामक पुस्तकमा नेपालकै सर्वज्येष्ठ नागरिक १२१ वर्षिय आमा बाटुली लामिछाने लगायत आदर्श शताव्दी व्यक्तित्वहरु अष्टमाया नगरकोटी, अष्टमाया महर्जन, इन्द्रकला शर्मा, इन्द्रमाया पौडेल, कृष्णथकु ग्वाछा, केशर बहादुर थापा, केशरीमाया कार्की, खगीसरा पाण्डे, गुरुदत्त पाण्डे, गोपायुकु धिंकी, गोपाल वैद्य, डा.गौरीशंकरलाल दास, चन्द्र बहादुर सुनुवार, चन्द्रलक्ष्मी धौभडेल, चोककुमारी अधिकारी, जानकी डड्गौरा थारु, जुनधरा पोखरेल, जोगी रानाथारु, टेक बहादुर थापा, टोपला भट्टराई, ठुली मगर, तीर्थमाया महर्जन, तुलसादेवी पराजुली, दिल कुमारी महत, देवेन्द्र बहादुर नगरकोटी, धन बहादुर थापामगर, नरबहादुर लिम्बु (चवेगु थेगिम), नैनकला न्यौपाने, पङ्ख बहादुर थापा, पासाङ् कितर शेर्पा, पुनमाया कोजू, पुहानी राजवंशी, प्रेमप्रसाद निरौला, फूलिया थरुनी, विष्णुमाया बुढाथोकी, विष्णुमाया माझी, भक्तिमाया श्रेष्ठ, भीमादेवी सिग्देल, माधुराम डगौरा, मंगलादेवी प्रधान, मदनकुमारी अधिकारी, मनमाया तामाङ, मनमाया सुवेदी, मोतीमाया बज्राचार्य, लताक्वारी सुलु, लक्ष्मीप्रसाद दाहाल, श्रीनारायण खनाल, शमशेरबहादुर बस्नेत, सरस्वती खतिवडा, सान्नानी अधिकारी, सानुमान शाक्य, सुकनीवती थरुनी, सुकु महर्जन, हरिलाल पञ्च, ज्ञानमाया तुलाधर, ज्ञानमान शाक्य, ज्ञानलाल श्रेष्ठ, कान्छी महर्जन र रत्नमाया मालीको जीवनगाथा संक्षिप्त रुपमा समेटिएको छ ।
कार्यक्रमा बोल्दै सभामुख देवराज घिमिरेले शताव्दी सम्मान तथा पुस्तक विमोचन कार्यक्रमको खुलेर प्रशंसा गर्नुभएको थियो । वसन्तराज कार्कीको नेतृत्वमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषले गरेको यो सत्प्रयास सबैका लागि प्रेरणादायी रहेको बताउँदै घिमिरेले ज्येष्ठ नागरिकको जीवन थप सम्मानीत एवम् सुरक्षित बनाउन सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भयो । विभिन्न कारणले पछि परेका ज्येष्ठ नागरिक माथि अपहेलना हुने गरेको विगतबाट हामी विस्तारै माथि उठ्न थालेका छौँ । ऐन र कानुनमा व्यवस्था गरिए पनि ज्येष्ठ नागरिकको दैनिकी कष्टपूर्ण हुनु मुलुकका लागि दुर्भाग्य भएको बताउँदै सभामुख घिमिरेले यस प्रकारका कार्यक्रमबाट नयाँ पुस्तमा ज्येष्ठ नागरिकको बारेमा सचेतना थपिने बताउनु भयो ।
अतिथिका रुपमा बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री, बद्री पाण्डेले राज्यले ज्येष्ठ नागरिकलाई उचित सम्मान एवम् सुरक्षा दिन नसक्नुको कारण बारे विवेचना गर्नुभएको थियो । हामी ज्येष्ठ नागरिकका समस्याको बारेमा सचेत रहेपनि समाधान दिन नसक्नु राज्यको कमजोरी भएको उल्लेख गर्दै पाण्डेले अब नयाँ पुस्ता चुप लागेर बस्न नहुने बताउनु भयो । यसैगरी राष्ट्रिय सभाका सदस्य एवम् कार्यक्रमका अतिथि विमला राई पौड्यालले ज्येष्ठ नागरिकका समस्याका बारेमा आफू जानकार रहेको बताउनु भयो । आफूलाई जन्मदिने आमाको शताव्दी व्यक्तित्वका रुपमा पुस्तक प्रकाशन गरिसकेको प्रसङ्ग उल्लेख गर्दै पौड्यालले ज्येष्ठ नागरिकको सम्मान तथा सुरक्षामा खासगरी नयाँ पुस्ता सचेत हुनुपर्ने बताउनु भयो । ज्येष्ठ नागरिकको चाहना बुझेर व्यवहार गर्न सके उहाँहरुको मुहारमा खुसी ल्याउन सहज हुने भन्दै पौड्यालले आगामी दिनमा ज्येष्ठ नागरिकको समस्या समाधानका लागि आफूले प्रतिनिधि सभामा आवाज उठाउने वचनवद्धता समेत व्यक्त गर्नुभयो ।
पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा नागरिक समाजका विभिन्न विशिष्ट व्यक्तित्वहरु, बुद्धिजिवि, पत्रकार, सर्वसाधारण लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सदस्य सचिव धनु राईले सञ्चालन गर्नुभएको कार्यक्रममा ज्येष्ठ नागरिक सम्बन्धि गीतको प्रस्तुती, ज्येष्ठ नागरिकको फोटो प्रिन्ट गरिएको चियाखाने कप मायाको चिनोका रुपमा वितरण, विश्व साइकल यात्री पुस्कर शाहको रोचक मन्तव्य, ज्येष्ठ नागरिकको पिडा र खुसीका दुबै पक्षको विवेचना लगायत विषय कार्यक्रमका स्मरणीय आकर्षण रहेका थिए । समग्र कार्यक्रमको अडियो भिजुअलको रेकर्ड संयोजन, प्रशारण एवम् प्रकाशन मास मिडिया इन्टरनेशनले गरेको थियो भने कृति प्रकाशन र सम्मान कार्यक्रममा सहयोग गर्नुहुने सबै पक्षलाई धन्यवाद दिँदै कार्यक्रमका सभापति वसन्तराज कार्कीले आगामी कार्यक्रममा पनि सबैको यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै सभा समापनको उद्घोष गर्नुभएको थियो ।