सिद्धि गणेशको २९ औं वार्षिक साधारणसभा सम्पन्न


असोज ३०, २०८०, मङ्गलबार | विहान ०९:५२ बजे | 30


सिद्धि गणेशको २९ औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको २९ औं वार्षिक साधारणसभा (क्षेत्र नं. ५ र ६ को संयुक्त क्षेत्रगत) को उद्घाटन सत्र मंगलबार एक भव्य समारोहबीच मंगलबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रजापतिले पारदर्शीता, इमानदारिता र जिम्मेवारीपूर्वक संस्था सञ्चालन गर्नु नै सदस्यहरूको विश्वास जित्ने आधारहरू भएको बताउनुभयो ।
संस्थालाई व्यक्तिगत पहलमा भन्दा सामूहिक नेतृत्वमा चलाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै उहाँले भक्तपुरलाई सुन्दर र आकर्षक नगरको रुपमा विकास गर्न नगरबासीहरूको पनि साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
संकटको समयमा भक्तपुरका सहकारी संस्थालगायत विभिन्न संघ संस्थाहरूले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र आइसोलेसन केन्द्र स्थापना गर्न आर्थिक सहयोग गरेको स्मरण गर्दै उहाँले जनताको साथ र सहयोग रहेकै कारण शिक्षा, सरसफाइ र सामाजिक क्षेत्रमा भक्तपुरले धेरै उपलब्धी हासिल गरेको बताउनुभयो ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुरका सहकारीहरूमध्ये पहिलोपटक आदर निकेतन सञ्चालन गरी सराहनीय कार्य गरेको बताउँदै उहाँले अन्य सहकारीहरूले पनि यसबाट सिक्दै देशको कला–संस्कृति संरक्षण, सीपमूलक तालिम, सरसफाइ, रोजगारीका अवसरहरू प्रदान गर्ने विषयमा गतिविधिहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजबाट देशको लागि आवश्यक धेरै दक्ष इन्जिनियरहरू उत्पादन गरिसकेको बताउँदै कर्मचारीहरूले आफ्नो पेशा सँगसँगै समाजलाई राम्रो बनाउन देशभक्त भई काम गर्नुपर्ने बताउनुभयो ।
सोझा सिधा जनताले खाइ नखाइ जम्मा गरी राखेको रकम लिएर भाग्ने ‘ठगहरू’ को कारण अहिले समुदायमा आधारित सहकारी संस्थाहरूप्रति पनि जनताले शंकाको दृष्टिले हेर्न थालेको बताउँदै उहाँले सहकारी संस्थाहरू आर्थिक लेनदेनमा मात्र सीमित हुन नहुने र जनताको राजनैतिक चेतनास्तर उकास्न विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।
त्यस्तै भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले सहकारी संस्थाहरूले जनताको विश्वासलाई आत्मसात गर्दै संस्था विकासको लागि जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै सदस्यहरूको रकम लिएर भागेका सञ्चालकहरूलाई कानुनको घेरामा ल्याइ कानुनी सजाय दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले कृषकहरूलाई लक्षित गर्दै लिबालीमा चिस्यान केन्द्रको निर्माण गरिरहेको बताउँदै बढ्दो सहरीकरण कारण कम जमिनमा बढी उत्पादन गर्ने प्रविधितर्फ किसानहरूउन्मुख हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष एवम् सिद्धि गणेश साकोसका सञ्चालक कृष्णगोविन्द लाखाजूले सिद्धि गणेश साकोस भक्तपुरका जनताको जनविश्वास प्राप्त संस्थाको रुपमा स्थापनाकालदेखि अगाडि बढिरहेको बताउँदै यस संस्थाले सहकारी मूल्यमान्यता र सिद्धान्तअनुसार सदस्यहरूको सेवामा निरन्तर काम गर्दै आइरहेको बताउनुभयो ।
सहकारी संस्थाहरूको काम वर्षको १ पटक सदस्यहरूलाई भेला गर्ने र लाभांश वितरणमा मात्रै सीमित हुन नहुने बताउँदै उहाँले संस्थाको आर्थिक अवस्थाबारे सदस्यहरूलाई अवगत गराउने उद्देश्यले सहकारीहरूले वार्षिक साधारणसभा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
मित्र सहकारीका प्रतिनिधिको तर्फबाट महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का विवेक कुस्मा, नेफ्स्कुन भक्तपुर जिल्लाका कल्पना पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने लेखा सुुपरीवेक्षण समितिका सदस्य हेरा ख्याजुले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, सञ्चालक तुल्सीदास दुमरुले आ.व. २०७९÷८० को प्रगति तथा आ.व. २०८०।८१ को प्रस्तावित कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रम संस्थाका सचिव विष्णुप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक सदस्य रमेश दुमरुले पनि बोल्नुभएको थियो । साथै प्रमुख अतिथि प्रजापतिले सोही अवसरमा असल बचतकर्ता, असल ऋणी र गोलाप्रथामा प्रथम, द्धितीय र तृतीय भएकालाई कदरपत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

सिद्धि गणेशको २९ औं वार्षिक साधारणसभा सम्पन्न
सिद्धि गणेशको २९ औं वार्षिक साधारणसभा सम्पन्न
सिद्धि गणेशको २९ औं वार्षिक साधारणसभा सम्पन्न
सिद्धि गणेशको २९ औं वार्षिक साधारणसभा सम्पन्न

Comments