जिल्ला शिक्षा कार्यालयको पुनःस्थापना गर्न खोज्नु संविधान र संघीयताविरोधी
असोज २२, २०८०, सोमबार | विहान ११:२१ बजे | 55
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरभित्रका सामुदायिक, संस्थागत र गुठीमा सञ्चालित विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरुको भेला सोमबार भनपा सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षक आन्दोलन र त्यसको औचित्यमाथि प्रष्ट पार्दै शिक्षा विधेयकमार्फत जिल्ला शिक्षा कार्यालयको पुनःस्थापना गर्न खोज्नु संविधान र संघीयताविरोधी प्रतिगामी कदम भएको बताउनुभयो ।
शिक्षा विधेयकमा स्थानीय तहको अधिकार कटौती गरी संघमा पु¥याउने प्रतिगामी प्रावधानहरु रहेको उल्लेख गर्दै उहाँले नेपालको संविधान २०७२ ले मावि तहसम्मको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको बताउँदै संविधानले प्रदान गरेको त्यो अधिकार कुनै पनि बहानामा कसैलाई खोस्न दिन नहुने बताउनुभयो ।
संविधानले निर्दिष्ट गरेका अधिकार समेत कार्यान्वयनमा ल्याउन नचाहने सरकार संघीयताको पक्षधर हुन नसक्ने बताउँदै उहाँले भक्तपुर नपाले संघीयताको राम्रो अभ्यास गरिरहेको प्रष्ट पार्नुभयो ।
भक्तपुर नपाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई समान शिक्षा दिने विषयमा जोड दिँदै आएको बताउँदै प्रमुख प्रजापतिले नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापनाको उद्देश्यअनुसार आवश्यक पूर्वाधार निर्माण गर्दै आएको तर सरकारको संकुचित सोच र पक्षपातपूर्ण व्यवहारले गर्दा ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिमा ढिलाइ भइरहेको बताउनुभयो ।
भक्तपुर नपाले आफ्नै स्रोत र साधनको अधिकत्तम प्रयोग गरी भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको एक आकर्षक गन्तव्यको रुपमा विकास गरिरहेको बताउँदै उहाँले भन्नुभयो, आर्थिक रुपमा स्वतन्त्र नभएको देश राजनैतिक रुपमा पनि कहिल्यै स्वतन्त्र हुन नसक्ने उहाँले बताउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले समाज विकासको महत्वपूर्ण जग शिक्षा क्षेत्र भएको बताउँदै भक्तपुरको शिक्षा विकासमा भक्तपुर नपाले विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा क्षेत्र बाहेक पनि ख्वपको पहिचान बोकेको यहाँको कला संस्कृति, सम्पदा संरक्षणमा पनि जोड दिँदै आएको बताउँदै उपप्रमुख जोशीले ख्वप पहिचान सन्दर्भ सामाग्रीको माध्यमबाट सामाजिक गतिविधिमा यहाँका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहँदै आएको सकारात्मक छ भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले अन्य नपाभन्दा फरक विशेषतायुक्त भक्तपुर नगरपालिकाबाट सिक्न देशका विभिन्न स्थानीय तहहरु, संघ संस्थाहरु भक्तपुरको अध्ययन भ्रमणमा आउने सिलसिला चालु रहेको बताउँदै भक्तपुरको शैक्षिक प्रगतिमा यहाँका विद्यालयहरुले आगामी दिनहरुमा महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
नवनियुक्त नगर शिक्षा अधिकृत साधुराम फुयालले आफ्नो परिचय दिंदै भक्तपुरको शिक्षा विकासको लागि सबैको प्रयास अपरिहार्य भएको बताउँदै यहाँको शिक्षा प्रगति र उन्नतिको लागि आफ्नोतर्फबाट सँधै सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा संयुक्त परीक्षा समितिका रोशनराज तुईतुईले भक्तपुर नपाले भक्तपुरको शैक्षिक स्तर उकास्ने हेतुले विद्यालय अनुगमन निरीक्षण तथा प्राविधिक समिति गठन गरी विविध कार्यहरु गर्दै आएको बताउँदै स्थानीय पाठ्यक्रमको परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सार्वजनिक परीक्षा समितिका राम हाडाले विद्यार्थी संख्याको अनुपातअनुसार शिक्षक दरबन्दी मिलान गर्नु आवश्यक रहेको बताउँदै शिक्षकहरुको योग्यताअनुसार शिक्षकहरुको तहवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
आधारभूत विद्यालय तथा परीक्षा समितिका सूर्यबहादुर पन्चले आधारभूत तहलाई व्यवस्थित र स्तरीय बनाउन सके उच्च शिक्षा स्वतः राम्रो हुँदै जाने बताउँदै भक्तपुरको शैक्षिक क्षेत्रमा उपलब्धीमूलक शिक्षा प्रदान गर्न सबैको संयुक्त प्रयास जरुरी रहेको बताउनुभयो ।
प्याब्सन नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले भक्तपुर नपाले भक्तपुरका सामुदायिक र संस्थागत विद्यालयसँग हरेक विषयमा सहजीकरण गरिरहेको बताउँदै शिक्षा क्षेत्रमार्फत भइरहेको गतिविधिले समाजमा समेत राम्रो प्रभाव परेको बताउनुभयो ।
एन प्याब्सनका तर्फबाट शिवकृष्ण कवांले विद्यालयका शिक्षकहरुबीच शिक्षा विधेयकबारे व्यापक छलफल आवश्यक रहेको बताउँदै एसईई परीक्षा हटाउदा शिक्षाको गुणस्तरमा पर्ने असरबारे पनि स्पष्ट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले पनि कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्नुभयो ।