डा. इन्दुल केसीको शब्दसागरका मोतीको ज्योति कृतिका सम्बन्धमा


असोज १७, २०८०, बुधबार | विहान ०५:०२ बजे | 30


डा. इन्दुल केसीको शब्दसागरका मोतीको ज्योति कृतिका सम्बन्धमा

प्रा. डा. कृष्णप्रसाद दाहाल
त्रि.वि पाटन, संयुक्त क्याम्पस
९८४१७२४०६७
परिचय
डा. इन्दुल केसी यो नाम नेपाली साहित्यमा बज्रलेप बनिसकेको छ । यो नामका सम्बन्धमा अब कुनै पनि ज्योतिषीले कुण्डली बनाइरहनु पर्नेछैन । अहिलेसम्म डा. केसीले नेपाली समाज र साहित्यका सम्बन्धमा जेजस्ता कार्यगरिसकेका छन्, ती सबै उनको कर्मकुण्डली बनेर स्थापित भइसकेका छन् । नब्बेको दशकमा प्रवेश गरिसकेर पनि डा. इन्दुलमा युवाजोश सेलाएको छैन । प्रायः दिनौं भक्तपुर र काठमाडौं गर्दै उनी हामी सबैका माझ साहित्यका नयाँ–नयाँ सातु–सामल पस्किरहन्छन् । जति उमेरको खुड्किलो चड्दै जान्छन्, लेखन र प्रकाशनको कार्य त्यति नै गर्दै जान्छन् । केसीले आर्जन गरेको मुख्य सम्पत्ति भन्नु यही नै हो । यही सम्पत्तिको भारी बोकेर उनी हाम्रा माझ आउँछन् र “हितंमनोहारी च दुर्लभं वच” को आयोजना गरिरहन्छन् । यसको पछिल्लो उदाहरण भनेको ‘शब्दसागरका मोती’ समीक्षात्मक कृति हो । यस आलेखमा यसै कृतिका सम्बन्धमा चञ्चुप्रवेश गर्ने कार्य भएको छ ।
शब्दसागरका मोतीको ज्योतिले छरेको प्रकाश
डा. इन्दुल केसीको ‘शब्दसागरका मोती’ समीक्षात्मक कृतिको प्रकाशन वि.सं. २०७९ साल चैत्र महिनामा भएको हो । यस कृतिभित्र समीक्षक डा. केसीले बाइसजना साहित्यकार एवम् लेखकहरुका कृतिहरुका सम्बन्धमा खोज तथा अन्वेषण गरेका छन् । प्रत्येक समीक्षात्मक लेखमा केसीले कृतिको गुणवत्ताको परिचय दिँदै लेखक र कृतिको तस्बिरसमेत उल्लेख गरेका छन् । यसै कृतिलाई आधार बनाएर विभिन्न विद्वान्हरुले आ–आफ्नो समीक्षात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । यही समीक्षात्मक दृष्टिकोणहरुको सँगालोलाई ‘डा. इन्दुल केसीको शब्दसागरको मोतीको ज्योति’ भन्ने नाम दिइएको छ । यस आलेखमा यसै कृतिका सम्बन्धमा चर्चा परिचर्चा गरिएको छ 
“डा. इन्दुल केसीको शब्दसागरको मोतीको ज्योति” कृतिको अध्ययन
डा. इन्दुल केसीको मिहिनेतको परिणतिले जन्मेको कृतिको नाम ‘डा. इन्दुल केसीको शब्दसागरका मोतीको ज्योति’ हो । वि.सं. २०८० श्रावण महिनामा प्रकाशित यो समीक्षात्मक कृतिको प्रकाशन अनुशीलन नेपालले गरेको हो । यसमा जम्मा १८ वटा समीक्षात्मक लेखहरु समाविष्ट गरिएको छ । प्रा.डा. कृष्णप्रसाद दाहालले ‘शब्दसागरका मोती कृतिका प्राप्तिहरु’ शीर्षक दिएर आफ्ना दृष्टिकोण प्रस्तुत गरेका छन्, “शब्दसागरका मोती, स्वयम्मा विषयगत विविधताको मौजीमसला हो । डा. केसी यहाँ एउटा सचेत पाठक मात्रै नभएर सचेत लेखक भएर उभिएका छन् । उनले आफूभन्दा पूर्व र उत्तरवर्ती लेखकका महङ्खवपूर्ण कृतिहरुको लेखन गरेर नयाँ पुस्तामाझ महङ्खवपूर्ण साहित्यिक सूचना सम्प्रेषण गर्न सफल भएका छन् । यो नै यस कृतिको मूल प्राप्ति हो (भूमिकाबाट)।” प्रजापति तिमल्सिनाले डा. इन्दुल केसीको कृतित्वको चर्चा गर्नै क्रममा ‘मोतीभित्रका मोती डा. इन्दुल केसी’ भन्ने शीर्षक दिएर इन्दुल केसीको समीक्षात्मक कलाको बयान गरेका छन् । डा. इन्दुलले धेरैओटा कृतिहरु केलाएर हामीलाई मोतीको माला दिएका छन् । उनी स्वयम् मोतीको मालाको ठूलो मोती बनेका छन् । तसर्थ लेखक केसीले यति राम्रो समीक्षात्मक कृतिको लेखन र प्रकाशन गरेर उनी मोतीभित्रको सुन्दर मोती बनेका छन् भनी प्रजापति तिमल्सिनाले आफ्नो समीक्षात्मक अभिमत प्रस्तुत गरेका छन् । ‘डा. इन्दुल केसीको शब्दसागरका मोती टिप्न पस्ता’ शीर्षकभित्र पदम दाहालले समग्र कृतिका सम्बन्धमा सुन्दर अभिव्यक्ति प्रस्तुत गरेका छन् । उनले ८२ वर्षको उमेरमा पनि बाइसजना लेखकका कृतिहरुको समीक्षा प्रस्तुत गर्नु चानचुने कुरा होइन भनी बताएका छन् । विष्णु ओली डा. इन्दुलको समीक्षा लेखनका सम्बन्धमा भन्छन्, “शब्दसागरका मोतीको अध्ययन गर्दा उहाँ एक कुशल समीक्षक हुनुहुन्छ ।” “शब्दसागरका मोती टिप्ने मेरो दुस्साहस” शीर्षक दिएर प्रकाशप्रसाद उपाध्याय लेख्छन्, – “शब्दसागरका मोती नेपाली साहित्य र साहित्यका विभिन्न विधाप्रति रुचि राख्ने हरेक पाठकले एकपल्ट पढ्नैपर्ने पुस्तक हो । कसरी पढ्ने त्यसको निर्णय अब पाठकहरु स्वयम्ले नै गर्ने हो ।” उपाध्यायले डा. इन्दुलको समीक्षात्मक लेखनको सटिक मूल्याड्ढन गरेका छन् । डा. सीता सुवेदी पन्थीले ‘शब्दसागरका मोती समीक्षासङ्ग्रह नियाल्दा’ भन्ने लेखमा  ‘शब्दसागरका मोती’ स्रष्टा र सिर्जनालाई चिनाउने महङ्खवपूर्ण कृति हो भनी चर्चा गरेकी छिन् । उनले यो कृति धार्मिक, सांस्कृतिक, दार्शनिक, ऐतिहासिक र साङ्गीतिक आदि विषयका सम्बन्धमा गहन किसिमले खोज तथा अन्वेषण गरी तयार पारिएको हो भनी प्रकाश पारेकी छिन् । जीवनाथ अधिकारी डा. इन्दुलको समीक्षात्मक लेखनका सम्बन्धमा ‘समीक्षाक्षेत्रमा नयाँ पाइलो ः शब्दसागरका मोती’ शीर्षक दिएर आफ्नो दृष्टिकोण यसरी प्रस्तुत गर्दछन्, – “डा. इन्दुल केसीले शब्दसागरका मोती समीक्षासङ्ग्रहका माध्यमबाट धेरैजना लेखकलाई एकैपटक चिनाउने काम गरेका छन् भने तिनका कृतिभित्रको गुदी पनि देखाइदिएका छन् । उनको लेखनबाट धेरैजना लेखकहरु नेपाली वाङ्मयका क्षेत्रमा परिचित हुने अवसर पनि प्राप्त गरेका छन् ।” अधिकारीले इन्दुलको लेखनधर्मिताको सूक्ष्म विश्लेषण गरेका छन् । स्वतन्त्र पत्रकार प्राध्यापक कृष्ण केसीले डा. इन्दुल केसीको समीक्षात्मक कृतिका बारेमा ‘डा. इन्दुल केसीको शब्दसागरका मोतीभित्र बरालिंदा ...’ भन्ने शीर्षकभित्र आफ्नो समीक्षात्मक धारणा यसरी प्रस्तुत गरेका छन् , “ध्यान, योग, स्वास्थ्य, साहित्यलगायतका विभिन्न पुस्तकहरुमाथि लेखक डा. इन्दुलको समीक्षा पुस्तकमा छ । विभिन्न क्षेत्रका विषयमा लेखिएका पुस्तकहरुको समीक्षाले लेखक डा. इन्दुललाई बहुआयामिक जानकारी भएका व्यक्तित्वको रुपमा बुझ्न गाह्रो पर्दैन ।” यस किसिमबाट कृष्ण केसीले डा. इन्दुलको बहुआयामिक व्यक्तित्वका सम्बन्धमा स्रोत खुलाएर प्रस्ट्याएका छन् । ‘हनुमानको जाँगर र सरस्वतीको कृपा’ भन्ने लेखका माध्यमबाट ई. रामप्रसाद शर्माले इन्दुलको समीक्षाकारिताका सम्बन्धमा हनुमान्को जाँगर, सरस्वती र लक्ष्मीको कृपाले गर्दा उनी नेपाली साहित्यमा समीक्षा अवतार बन्न पुगेका छन् भनी मूल्याड्ढन गरेका छन् । चूडाप्रसाद चौलागाईले प्रस्तुत समीक्षासङ्ग्रहका बारेमा यस्तो अभिमत जाहेर गरेका छन् ः “मैले डा. इन्दुल केसीलाई एउटा प्रतिभाशाली, बहुआयामिक व्यक्तिको रुपमा देख्न सकेँ ।” लेखक चौलागाई डा. इन्दुलको मिहिनेतलाई ‘शब्दसागरका मोती समीक्षासङ्ग्रह नियाल्दा’मा निकै मिहिनेतका साथ प्रस्तुत भएका छन् ।
मोहन दुवालले डा. इन्दुल केसीको शब्दसागरका मोती सङ्क्षेपमा भन्ने आफ्नो समीक्षात्मक लेखमा डा. इन्दुलको बहुमुखी प्रतिभाको परिचय दिएर उनको कृतित्वका साथै उनको ‘शब्दसागरका मोती’ के–कस्तो समीक्षासङ्ग्रह हो ? त्यसबारेमा सटिक अध्ययन एवम् विश्लेषण गरेका छन् ।
प्राध्यापक श्री राम आचार्यले डा. इन्दुल केसीको ‘शब्दसागरका मोती’ समीक्षासङ्ग्रहको खोज तथा विश्लेषण गर्ने सन्दर्भमा ‘शब्दसागरका मोतीहरुको सारसङ्क्षेपभित्र’ यस किसिमको अभिव्यक्ति प्रस्तुत गरेका छन् – “बहुआयामिक व्यक्तिका धनी केसीजीले यस पुस्तकमा साहित्य, दर्शन, कविता, यात्रा, नियात्रा, अध्यात्म, कला, कथा, नाटक, रोग, योग, सम्भोग, आहार विहार, गीत, भजन तथा सङ्गीतजस्तो गहन विषयलाई समेत समेटेर अध्ययन गरी लेखक विशेषज्ञहरुको परिचय दिन र आफ्नो समेत बौद्धिक जगतमा परिचय दिन सफल हुनुभएको देखिन्छ ।” यसरी श्रीराम आचार्यले डा.इन्दुल केसीले गरेका मिहिनेतलाई एक–एक गरेर प्रस्तुत गर्न सफल भएको देखिन्छ ।
डा. इन्दुल केसीको ‘शब्दसागरका मोती’ समीक्षासङ्ग्रह गर्ने क्रममा पशुपतिमान प्रधानले ‘शब्दसागरका मोतीमा धनिया’ शीर्षक दिएर आफ्ना महङ्खवपूर्ण भनाइ उल्लेख गरेका छन् । खास गरेर पशुपतिमानले वरिष्ठ कथाकार परशुप्रधानको धनिया कथामाथि गरिएको विश्लेषणलाई खोतल्ने कार्य गरेका छन् । मूलतः यहाँ परशु प्रधान धनिया कथाकै कारणले उत्कृष्ट हुनपुगेको हो । सोको सम्बन्धमा पशुपतिमान प्रधानले आफ्नो अध्ययन र डा. इन्दुलको विश्लेषणलाई समायोजन गरी छुट्टै निष्कर्ष निकाल्ने प्रयत्न गरेका छन् । 
बलराम प्रजापतिले ‘शब्दसागरका मोती’ कृतिको अध्ययन गर्ने सन्दर्भमा मौलिक कथनका समालोचनाहरु भित्र वेद, उपनिषद, दर्शन, साधना, साहित्य तथा सङ्गीत लगायतका कुरालाई प्रकाश पारेका छन् । यसरी बलराम प्रजापतिले डा. इन्दुलको समीक्षासङ्ग्रहको विभिन्न आयाम पर्गेल्ने प्रयत्न गरेका छन् ।
वरिष्ठ साहित्यकार हरि अधिकारी समीक्षक डा. इन्दुल केसीको समीक्षाकारिताको सम्बन्धमा ‘शब्दसागरका मोतीः सरल पाठकीय समीक्षा’ भन्ने शीर्षकभित्र यस किसिमको अभिमत प्रस्तुत गर्दछन्, “धार्मिक र आध्यात्मिक विषयमा केन्द्रित हुन चाहने विशेषखाले पाठकहरुले भने इन्दुलजीका यी समीक्षात्मक टिपोटका आधारमा एकाध पुस्तकको खोजी गर्न सक्ने कुरामा म विश्वास गर्न चाहन्छु ।” हरि अधिकारीले यहाँ विशेषतः समीक्षक इन्दुलले उत्तरी ध्रुवको भ्रमण गर्ने पहिलो नेपाली वासुदेव ढकालले लेखेको पुस्तकको समीक्षा भएको पाउँदा आफू निक्कै नै आकृष्ट भएको कुरा पनि उल्लेख गरेका छन् । 
डा. इन्दुलको समीक्षासङ्ग्रह ‘शब्दसागरका मोती चिरफार गर्ने सन्दर्भमा लेखरत्न शाक्य पुस्तकको शिल्पकौशलतामा डुब्दै जाँदा’ भन्ने लेखमा यस्तो अभिमत प्रकट गर्दछन्, “डा. इन्दुल केसीजीलाई एक प्रतिभाशाली, राष्ट्रिय अस्मिताको उच्च शिखर व्यक्तित्व भएको पाएँ । जस्तो कि कुशल सूचिकारले हरेक पटक सिलाई गरिसकेपछि सियोलाई सम्मान स्वरुप आदर गरेर पटकै पिछे शिरमा लगाएको टोपीमा विश्राम दिन्छन् । त्यसैले डा. इन्दुल केसीजीले राष्ट्रिय अस्मितालाई ‘शब्दसागरका मोती’ पुस्तकमा यो कुराको सन्देश युवा जगतसम्म पुगोस् भन्ने भावना जगाउन खोज्नुभएको देखिन्छ ।” लेखरत्नले डा. इन्दुलको ‘शब्दसागरका मोती’ युवा पिँढीको लागि एकदमै पठनीय र प्रेरणाको स्रोत भएको कुरा उल्लेख गरेका छन् । 
डा. इन्दुल केसीको शब्दसागरका मोतीको विश्लेषण गर्ने क्रममा साधुराम गिरीले डा. केसीलाई एउटा फरक विषय समेटेर जीवनोपयोगी पुस्तक लेख्ने सर्जकको रुपमा मूल्याड्ढन गरेका छन् । आगामी दिनमा केसीजीले यस्तै महङ्खवपूर्ण कृति प्रकाशन गर्न सफलता प्राप्त होस् भनी शुभेच्छा प्रकट गरेका छन् । 

निष्कर्ष
डा. इन्दुल केसीद्वारा लिखित ‘शब्दसागरका मोती’ कृतिका सम्बन्धमा विभिन्न विद्वान्हरुले लेखेका सामग्रीहरुलाई सड्ढलन गरेर तयार पारिएको ‘शब्दसागरका मोतीको ज्योति’ नामक कृतिले नेपाली समालोचना तथा समीक्षाका क्षेत्रमा थप योगदान पु¥याउने देखिन्छ । यो कृति समीक्षाको पनि समीक्षाका रुपमा आएको छ । यस किसिमको कार्य नेपाली साहित्यमा एकदमै कम हुने गरेको छ । तसर्थ डा. इन्दुल केसीको मिहिनेतले यहाँ सार्थकता प्राप्त गरेको छ । विभिन्न विद्वान्हरुले डा. केसीको समीक्षासङ्ग्रह ‘शब्दसागरका मोती’लाई केस्राकेस्रा गरेर छुट्याएका छन् र आफ्नो गहन अभिमत प्रस्तुत गरेका छन् । यति राम्रो कृतिको प्रकाशन गर्न सफल भएकोमा अनुशीलन नेपाल धेरै नै बधाईको पात्र बनेको छ ।
अन्त्यमा ‘शब्दसागरका मोतीको ज्योति’ यो कृतिले नेपाली साहित्यको अध्ययन अनुसन्धान गर्नेहरुलाई मार्गनिर्देशन गर्न समर्थ बन्नेछ । डा. केसीले गरेको प्रयासलाई यो कृतिले अझ सशक्त र सुदृढ बनाउने कार्य गरेको छ। ‘शब्दसागरका मोती’ र ‘शब्दसागरका मोतीको ज्योति’ यी दुवै समीक्षासङ्ग्रह एक अर्कोका परिपुरक भएर आएका छन् । यस किसिमको लेखन र प्रकाशन नेपाली साहित्यको इतिहासमा नविनोतम प्रयोग भएको हो भन्ने मान्न सकिन्छ । यस कृतिभित्र उल्लेख भएका सम्पूर्ण लेखक महोदयहरुप्रति आभार व्यक्त गर्दै डा. इन्दुल केसीको लेखन यात्राले अझै शिखरत्व प्राप्त गर्दै अगाडि बढोस् भन्ने शुभकामना व्यक्त गर्दै यो आलेख यही अन्त्य गर्दछु ।
रातोपुल, गौशाला, काठमाडौं

फाेटाेमा हेर्नुहाेस्...

डा. इन्दुल केसीको शब्दसागरका मोतीको ज्योति कृतिका सम्बन्धमा

Comments

ताजा खबर