ख्वपमा नयाँ कार्यक्रमहरु सञ्चालन स्वीकृतिको लागि त्रिवि उपकूलपतिको ध्यानाकर्षण
असोज १६, २०८०, मङ्गलबार | विहान ११:५७ बजे | 50
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूमा नयाँ कार्यक्रमहरु सञ्चालन स्वीकृतिको लागि त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा. धर्मकान्त बास्कोटाको ध्यानाकर्षण गराउनुभएको छ ।
नगर प्रमुख प्रजापतिले उपकूलपति बास्कोटासँग उहाँको कार्यकक्षमा भेटी भक्तपुर नगरपालिकाले विभिन्न विषयका उच्च शिक्षा प्रदान गर्न शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको र विद्यार्थीहरुको रुचिअनुसार विषयहरु थप्दै लाने योजनाअनुरुप ख्वप कलेजहरूमा त्रिविविअन्तर्गत नयाँ कार्यक्रमहरु थप गर्न सहजीकरणको लागि आग्रह गर्नुभएको हो ।
प्रमुख प्रजापतिले त्रिविविले समयमै परीक्षा नलिने, ढिला परीक्षाफल प्रकाशित गर्ने, गलत परीक्षाफल प्रकाशित गर्ने र बन्द, हड्ताल तथा तालाबन्दीजस्ता गतिविधिले कलेज र विश्वविद्यालयप्रति नै विद्यार्थीहरुको आकर्षण घट्दै गएको बताउनुभयो ।
उहाँले नेपालको शिक्षा नीतिप्रति विद्यार्थीहरु असन्तुष्ट देखिएकै कारण वर्षेनी लाखौंको संख्यामा विद्यार्थीहरु विदेशिने क्रम बढ्दै गइरहेको बताउँदै विद्यार्थीहरुलाई आफ्नै देशमा अध्ययन गर्ने वातावरण सिर्जना गर्नेतर्फ त्रिविविले समयमै ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
सोही क्रममा उपकूलपति बास्कोटाले नेपालको शिक्षा नीति सुधार गर्ने प्रयास गरिरहेको जानकारी गराउँदै नेपालको शिक्षा नीतिमा कमी कमजोरी भएकै कारण शिक्षा क्षेत्रमा बेथिति बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरुलगायत सामुदायिक कलेजहरुमा नयाँ विषय थप गर्नेतर्फ आफू सकारात्मक रहेको बताउँदै उपकूलपति बास्कोटाले आफू सामुदायिक कलेजहरुलाई सबल र सक्षम बनाउने पक्षमा रहेको बताउनुभयो ।
नेपालमा हाल ११ सय २४ वटा कलेजहरु सञ्चालनमा रहेको बताउँदै उहाँले स्थानीय तहबाट सञ्चालित कलेजहरुलाई आवश्यक सहयोग गर्न त्रिविवि सँधै सकारात्मक छ भन्नुभयो ।
उक्त भेटमा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।