विनायकमा तीज नृत्य प्रतियोगिता
भदौ ३१, २०८०, आइतबार | साँझ ०४:३६ बजे | 50
"हाम्रो संस्कृति, हाम्रो पहिचान: हाम्रा परम्परा र चाडपर्व हाम्रा शान "भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै संस्कृति संरक्षणमा जोडतोडका साथ लागिपर्दै आएको विद्यालय विनायक शिक्षा निकेतन ई. स्कूल मध्यपुर ठिमी, भक्तपुरले यही भदौ ३१ गते हरितालिका (तीज) पर्वको पुनित अवसरमा प्रतियोगितात्मक तीज नृत्य कार्यक्रमको आयोजना गर्यो । सकारात्मक सन्देश दिने सांस्कृतिक पर्वहरुको संरक्षण र प्रवर्द्धन तथा यी यस्ता पर्वहरुको मूल्य र महत्व बताउने उद्देश्यले तीज नृत्य प्रतियोगिताको आयोजना गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले हामीलाई जानकारी गराउनु भयो । कक्षा १ देखि १२ सम्मका करिव ७० जना विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रम तहगत रुपमा प्रतियाेगितात्मक हिसाबले सञ्चालन गरिएको थियो। विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा सञ्चालित उक्त कार्यक्रमका निर्णायकका रूपमा बरिष्ठ नृत्यनिर्देशक अमरकृष्ण चन्द रहनुभएको थियो भने उपस्थित सबैलाई स्वागत तथा शुभकामना शिक्षिकाहरू उषा कोइराला र विमला जोशीले तीजकाे महत्त्व , महिमा तथा कसरी साँस्कृतिक पर्व बन्न थालेकाे भन्ने कुरा वारे प्रकाश पार्दै सबैलाई तीजकाेे शुभकामना ब्यक्त गर्नु भएकाे थियाे। कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सियल सुरेन्द्रविक्रम प्रजापतिले साँस्कृतिक विविधता भएकाे हाम्राे देश नेपालका सांस्कृतिक पर्वहरूलाई संस्कृतिको रुपमा मनाउनु पर्ने, सांस्कृतिक पर्व मनाउने क्रममा तडकभडकसहितको विकृति सिर्जना हुने किसिमले मनाउन नहुने तथा संस्कृतिको माध्यमबाट आफ्नो मौलिकता ,पहिचान र परम्परा वारे ज्ञान दिने उत्पादनशील कार्यहरू विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा महान पर्व हरितालिका तीजको शुभकामना व्यक्त गर्दै तहगत रुपमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो जसअनुसार कक्षा १देखि ३ बाट अपेक्षा बाेहाेरा ुकक्षा ४देखि ५बाट युनिशा श्रेष्ठ र कक्षा ६देखि १० बाट निमा तामाङ प्रथम हुन सफल भएका थिए।