मध्यपुर थिमिमा माया मिस्ट्रीको चर्चा


भदौ २४, २०८०, आइतबार | दिउँसो ०१:३४ बजे | 70


मध्यपुर थिमिमा माया मिस्ट्रीको चर्चा

मध्यपुर थिमि । मध्यपुर थिमिका उदीयमान साहित्यकार मोहन के श्रेष्ठको उपन्यास माया मिस्ट्रीको चर्चा एवं समीक्षा गरिएको छ । अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीको सभापतित्वमा भएको उक्त समीक्षा कार्यक्रममा प्रगतिशील साहित्यकार कृष्णमोहन जोशीले पुस्तकको संक्षिप्त समीक्षा गर्दै उपन्यास काल्पनिक भन्दा पनि यथार्थपरक भएमा बढि पठनीय हुने बताउनु भयो । साहित्यकार जोशीले उपन्यासमा के लेखिएको छ, किन लेखियो र कस्का लागि भन्ने कुरा प्रष्ट भएमा पाठकले पढ्दै जाँदा जिज्ञासा बढ्ने धारणा राख्नु भयो । आयोजक मध्यपुर थिमि चाक्ला फल्चाका परिकल्पनाकार एवं साहित्यकार नविनप्रकाश श्रेष्ठको दी विन्च एण्ड बाइट्स क्याफे शंखधरचोकमा भएको उक्त पुस्तक चर्चा कार्यक्रममा साहित्यकार डा.इन्दुल के.सी., प्राज्ञ महेश पौडेल, नविन प्रकाश श्रेष्ठ, चूडा चौलागाईं, वसन्त नकर्मी लगायतका साहित्यकारले माया मिस्ट्रीको समीक्षा गर्दै प्रेम रहस्यमय हुने र टिनेएजदेखि बृद्धावस्था सम्म पनि प्रेम उत्तीकै सशक्त रहने कुरा उपन्यासबाट पुष्टि भएको धारणा राख्नुभयो । पुस्तक चर्चा कार्यक्रमका सभापति जीवनाथ अधिकारीले आफ्नै शिष्य मोहन के.श्रेष्ठको कविता, साहित्य र उपन्यासको पहिलो पाठक भएको भन्दै उपन्यास सरल अनि यथार्थपरक रहेको तर्क गर्नुभयो । पुस्तकका लेखक मोहन के.श्रेष्ठले आफूले फुटकर कविता, कथा, आर्थिक लेख पछि पहिलो पटक माया मिष्ट्री लेखेको जानकारी दिदैं अग्रज स्रष्टाहरुको सल्लाह, सुझाव र मार्गदर्शनबाट आफु लाभान्वित भएको धारणा राख्नु भयो । पुस्तक प्रकाशित हुन्छ, विमोचन (लोकार्पण) गरिन्छ तर पुरा अध्ययन बिनै समीक्षा गर्ने परिपाटीबाट माथि उठेर स्रष्टाको लेखाई अनि सन्देशको बारेमा मात्रै समीक्षा गर्नुपर्ने साहित्यकार नविन प्रकाश श्रेष्ठको बुझाई छ । पुस्तक समीक्षा गर्दा वंशज, व्यक्तिको पोशाक, आचरण, हाउभाऊ भन्दा माथि उठेर स्रष्टाको लेखाई र सन्देश मात्रै अध्ययन पछि समीक्षा गरिनुपर्ने दि विन्च् एण्ड बाइट्स क्याफेका प्रोपाइटर समेत रहेका साहित्यकार नविनप्रकाश श्रेष्ठको भनाई छ ।

फाेटाेमा हेर्नुहाेस्...

मध्यपुर थिमिमा माया मिस्ट्रीको चर्चा

Comments

ताजा खबर