नेकमा विद्यार्थी प्रवेश परीक्षा सकियो ः परीक्षाफल आजै
भदौ २३, २०८०, शनिबार | विहान ०९:१६ बजे | 0
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा नयाँं शैक्षिक सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरुको प्रवेश परीक्षा शनिबार सम्पन्न भएको छ । परीक्षाबाट कलेजमा अध्ययन गर्नका लागि भर्ना हुन पाउने कुल चार सय ८० जना विद्यार्थीहरु छनौट हुनेछन् । कलेजमा स्नातक तहको आर्किटेक्चरमा ४८, सिभिलमा एक सय ४४, कम्प्युटरमा ९६, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा ९६, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ४८ र सिभिल एण्ड रुरलमा ४८ जनाको सिट क्षमता रहेको छ । साथै ४८ सिट क्षमता रहेको सिभिल डिप्लोमा होल्डर्सका लागि भने पछिमात्रै प्रवेश परीक्षा हुने छ ।
प्रवेश परीक्षामा सहभागी विद्यार्थीको परीक्षाफल आइतबार नै प्रकाशित हुने कलेजले जनाएको छ । परीक्षाफल प्रकाशित भएको एकदुईदिन भित्रै भर्ना प्रक्रिया सुरु हुने कलेजले जानकारी गराएको छ ।
नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका कार्यबाहक प्रिन्सिपल एसिस्टेन्ट प्रोफेसर दुर्गाप्रसाद भण्डारीले कलेजप्रतिको विद्यार्थीको आकर्षण वढ्दो रहेको जनाए । यसका विविध कारणहरु रहेको उनी बताउँंछन् ।
कलेजमा आकर्षक छात्रबृतिको पनि व्यवस्था रहेको छ । आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स र सिभिल एण्ड रुरल प्रत्येक कार्यक्रममा १० प्रतिशत वढीले पूर्ण छात्रबृति पाउने व्यवस्था छ । स्थानीयवासीहरूलाई, प्रवेश परीक्षामा उत्कृष्ट अंक हासिल गर्नेलाई तथा प्रत्येक सेमेष्टरमा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई पनि पूर्ण तथा आंशिक छात्रवृत्तिको व्यवस्था छ । कुल मिलाएर वार्षिक करिव १०० जनाले छात्रवृत्ति पाउँने कलेजले जनाएको छ ।
छात्रबृति पाउने ती विद्यार्थीहरूले आठ सेमेष्टर (आर्किटेक्चरमा दस सेमेष्टर) कै शुल्क तिर्नुपर्ने छैन अर्थात् उनीहरुले चार वर्ष (आर्किटेक्चरमा पाँच वर्ष) नै निःशुल्क रुपमा पढ्न पाउने छन् । एक सेमेष्टर ६ महिनाको हुने गर्दछ ।
कलेजका अर्का सिभिलका एसिस्टेन्ट प्रोफेसर सञ्जय कवांले कलेजमा देशभरका सात वटै प्रदेशका विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था रहेको बताए । कलेजका मिडिया रिलेशन अफिसर सुनिल ख्याजूले कलेजमा सातै प्रदेशका झण्डै सवै जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको जनाए ।
शनिवार सम्पन्न प्रवेश परीक्षामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीलगायतको सञ्चालक समितिका सदस्यसहितको टोलीले प्रवेश परीक्षाको अनुगमन गरेका थिए ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता भई नाफा नलिने उद्देश्यका साथ सञ्चालित कलेज हो । नेक इन्जिनियरिङको पढाई हुने नेपालकै अव्वल कलेजको रुपमा परिचित छ । पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त यो कलेज इन्जिनियरिगको अध्यापन हुने पुल्चोक क्याम्पसपछिको नेपालको पहिलो दर्जाको कलेजको रुपमा परिचित छ । प्रवेश परीक्षा विहान साढे दसबजेदेखि सुरु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...