भक्तपुर नगरपालिकाद्वारा १२७ जना विद्यार्थीहरूलाई ७० लाख बराबरको छात्रवृत्ति वितरण


साउन २७, २०८०, शनिबार | विहान ०५:१४ बजे | 45


भक्तपुर नगरपालिकाद्वारा १२७ जना विद्यार्थीहरूलाई ७० लाख बराबरको छात्रवृत्ति वितरण

भक्तपुर, २७ साउन । भक्तपुर नगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई शनिबार एक कार्यक्रमबीच छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण १२७ जना विद्यार्थीहरुलाई रु. ७० लाख बराबरको छात्रवृत्ति सिफारिस पत्र आज प्रदान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीहरूले आफ्नो योग्यता र क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गरी देश र जनताको सेवामा समर्पित भएर लाग्न मार्गनिर्देश गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुको अर्थ उनीहरुको शैक्षिक विकासमा लगानी गर्नु हो भन्नुभयो । भक्तपुर नपाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई भक्तपुरमा उत्कृष्ट कलेजहरु सञ्चालन गरी दक्षता हासिल गर्ने अवसर प्रदान गर्दै आएको बताउँदै शिक्षालाई व्यापार बनाउनुहुँदैन र मेडिकल क्षेत्रलाई माफिया मुक्त बनाउनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभ्यो ।
भक्तपुर नपाले छात्रवृत्ति सँगसँगै शैक्षिक ऋणको व्यवस्था गरी विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याइरहेको बताउँदै उहाँले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुले अनुशासिन र इमानदार ढंगले अध्ययन गरी समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा छात्रवृत्ति वितरण समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शिक्षामा पनि विभिन्न किसिमका विकृतिहरु भित्रिरहेकोतर्फ विद्यार्थीहरु सजग हुनुपर्ने बताउँदै नयाँ पुस्ताका विद्यार्थीहरु सभ्य र सुसंस्कृत भई देश र समाजको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थी जीवनमा छात्रवृत्तिको धेरै ठूलो भूमिका रहने बताउँदै विद्यार्थीहरुले आफ्नै देशको सेवा गर्ने उद्देश्यले उच्च शिक्षा हासिल गर्न प्रेरित गर्नुभयो ।
उक्त कार्यक्रममा ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र नगर शिक्षा शाखा भक्तपुरका प्रमुख कृष्णप्रसाद कर्माचार्यले पनि विद्यार्थीहरुलाई मार्गनिर्देश गर्नुभएको थियो ।
भक्तपुर नपाले शैक्षिक वर्ष २०८०।८१ को लागि व्यवस्थापन संकायतर्फ ६७ जना, विज्ञानतर्फ ३८ जना, मानविकीतर्फ १० जना शिक्षातर्फ ६ जना र कानुनतर्फ ६ गरी जम्मा १२७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको थियो ।

Comments