नियमित काम र कोरोना संक्रमण
असोज ६, २०७७, मङ्गलबार | दिउँसो ०१:२५ बजे | 25
पाण्डव सुवाल
लकडाउनको समयमा भाइरस नियन्त्रणको लागि सरकारले आवश्यक पहलकदमी नगर्दा दिनप्रतिदिन सङ्क्रमण बढिरहेको छ । केही दिनको खुकुलोले कोरोना भाइरस आज काठमाडौँ उपत्यकामा भयावह भइरहेको छ ।
सधैँझैँ पार्टीको कामको सिलसिलामा भदौ १९ गते पनि पार्टी कार्यालय गएँ । दिनभर कार्यालय बसेर साँझ घर फर्कें । सामाजिक सञ्जालमा नेमकिपा सचिव प्रेम सुवाललाई कोभिड–१९ पोजेटिभ भएको खबर आयो । तत्कालै उहाँलाई फोन गरेँ । फोनमा उहाँले पोजेटिभ भनेको छ, रिपोर्ट आएको छैन भन्नुभयो । उहाँसँग भदौ ११ गते भेटघाट भएपछि सम्पर्कमा नगए पनि कन्ट्याक्ट टे«सिङ्गमा पर्ने हो कि भनेर सोही दिनदेखि आफू अलगै बसेँ ।भदौ २३ गते जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंहमा स्वाब दिएपछि घर फर्कें । २५ गते साथीहरूले रिपोर्ट आयो कि भनेर फोन गर्नुुभयो । त्यसदिन मलगायत ४ जनाको रिपोर्ट आउन बाँकी रहेको र आएका सबैको नेगेटिभ भन्ने खबर आयो । मेरो स्वास्थ्यमा कुनै समस्या नभएकोले नेगेटिभ आउनेमा ढुक्क थिएँ । भोलिपल्ट डा. रत्नसुन्दर लासिवाले रिपोर्ट पोजेटिभ भएको खबर दिनुभयो । उहाँले स्वास्थ्यको बारेमा सोध्नुभयो । कुनै लक्षण र समस्या नभएकोले घरमै सुरक्षित रहन सुझाव दिनुभएअनुसार आइसोलेसनमा बसेँ ।
कुनै लक्षण नभएकोले केही डर भएन । नियमित कामको सिलसिलामा मैले धेरैलाई भेटघाट गरेको थिएँ । मेरै कारण सङ्क्रमण बढ्ने हो कि भन्ने चिन्ता लाग्यो । केही साथीहरूलाई फोन गरेँ । लक्षण केही नभएकोले परीक्षण गर्नु नपर्ला कि भन्ने जवाफ आयो ।
घरमा एउटामात्र शौचालय भएकोले प्रयोगपछि आफैँले सफा गर्ने र परिवारबाट नियमित क्लोरिङ्ग छर्की निसङ्क्रमण गरियो । रिपोर्ट आएको ५ दिनपछि भदौ ३० गते सूर्यविनायक नगरपालिकाबाट ट्रेसिङको लागि स्वाब सङ्कलन भयो । मसहित परिवारका १५ जनाले स्वाब दिए । असोज १ गते बेलुका ४ बजे सबैको रिपोर्ट नेगेटिभ भएको म्यासेज आयो । स्वाब दिएको ९ दिनमा म सङ्क्रमणमुक्त भएकोले सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी गराएँ ।
स्थानीय सरकारको जिम्मेवारी
कोरोना सङ्क्रमण नियन्त्रणमा तीनै तहका सरकारको उत्तिकै जिम्मेवारी रहन्छ । घरसँगै स्थानीय सरकार भएकोले सङ्क्रमितहरूले बढी आशा गर्नु स्वाभाविक हो । सङ्घीय सरकारले आइसोलेसन व्यवस्था गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिइसकेको छ । सङ्क्रमणको स्थिति हेर्दा जिल्लाभरिका सङ्क्रमित राख्न बनाइएको भक्तपुर अस्पताल र बाँसबारीस्थित विद्युत् तालिम केन्द्रको आइसोलेसन स्थल भरिसकेको छ । सङ्क्रमित भएकाहरू घर बस्नुबाहेक अन्य विकल्प रहेन । यस्तो अवस्थामा स्थानीय सरकारको ध्यान नपुगेको महसुस भयो । सङ्क्रमण भएपछि नगरपालिकाबाट के कस्तो भयो भनी हेर्नुपर्नेमा राम्रै छ होला भनी फोनको भरमा रिपोर्टिङ्ग गर्ने कामले गर्दा सङ्क्रमण बढेको महसुस भयो । सङ्क्रमण पुष्टि भएपछि घरमै बसेको भए घरको अवस्था के कस्तो छ ? सङ्क्रमित र परिवारले अनुशासन पालना गरेको छ कि छैन ? टोल छिमेकीले कस्तो व्यवहार गरेका छन् ? सो विषयमा स्थानीय सरकारले ध्यान नदिएको देखिन्छ ।काठमाडौँ उपत्यकामा ५ सयभन्दा बढी सङ्क्रमित व्यक्ति सम्पर्कभन्दा बाहिर रहेको समाचार छ । उनीहरूको अवस्था कस्तो छ, कसैलाई थाहा छैन । स्वाब सङ्कलन गर्दा नाम, उमेर, ठेगाना, सम्पर्क नं स्पष्ट नलेख्दा सङ्क्रमण पुष्टि भएपछि बेखबर भएका हुन् । एकजनाको गल्तीले सङ्क्रमण बढ्न सक्नेतर्फ सचेत नभएको देखियो ।
अर्को कुरा फलानो मान्छे कन्ट्याक्ट टे«सिङ्गमा प¥यो भनेपछि कोरोना सङ्क्रमण भएको जस्तो हल्ला गर्ने र व्यवहार पनि उस्तै गर्ने, टोल छिमेकीले सहयोग नगर्दा परिवारकै सदस्य किनमेलमा जानुपर्दा सङ्क्रमण फैलिने डर बढेको छ । भक्तपुर नगरपालिकाले प्रत्येक वडामा स्वयम्सेवक परिचालन गरेर जनचेतना र अन्य सहयोगको काम गरेजस्तै सबै स्थानीय सरकारले त्यसो नगर्दा केही स्थानमा सङ्क्रमण बढेको पाइयो ।
सरकारको काम
एक दुईजना सङ्क्रमित हुँदा ४ महिना लकडाउन गर्ने सरकारले सयौँ सङ्क्रमण हुँदा खुकुलो ग¥यो । सोही कारण आज देशभर दैनिक हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । निषेधाज्ञा उद्योगपतिहरूको प्रभावमा परेर हटाइयो । सार्वजनिक यातायात सञ्चालन भएपश्चात् आ–आफ्नो काममा जानुपर्ने जाने नै भए । सङ्क्रमित व्यक्ति स्वाब दिएको मितिले १४ दिनसम्म आइसोलेसनमा बस्ने र कुनै लक्षण नभए बिनापरीक्षण काममा जानसक्ने सरकारको निर्णयले सङ्क्रमण बढ्ने खतरा छ ।म बसोबास गर्ने वडा सूर्यविनायक १० का एक सङ्क्रमितको सामान्य ज्वरोबाहेक अरू कुनै लक्षण छैन । १४ दिनको होम आइसोलेसनपछि काममा फर्कन उसको दोस्रो परीक्षण भयो । दोस्रोमा पनि पोजेटिभ भएको छ । २० दिन भयो अब परीक्षण गर्ने वा नगर्नेमा ऊ अलमल छ । सरकारले भनेजस्तै बिनापरीक्षण सङ्क्रमित बाहिर जाँदा सङ्क्रमण बढेमा के सरकारले त्यसको जिम्मेवारी लिने हो ? यो त मेरो घर छेउको एकमात्र घटना हो । लकडाउनको समयमा भारतबाट आएका नेपालीलाई बिनापरीक्षण घर पठाउँदाको नतिजा आज भयावह भइरहेको हो । परीक्षणबिना नै काममा फर्कन हुन्छ भन्नु नियन्त्रण गर्न नसकिने आत्मग्लानि हो ।
१० दिनको एकान्तवास
दिनभर घरमै बस्ने बानी नभएको हुँदा दैनिकी कसरी बिताउने भन्ने भयो । बिहान खाली पेटमा गुर्जो पानी, त्यसपछि चियानास्ता दैनिकी बन्यो । अनलाइन समाचार पढ्ने बानी भयो । पढ्न बाँकी ‘चिलीमा फासीवादको प्रतिरोध’ र चैतन्य मिश्रले लेख्नुभएको ‘पुँजीवाद र नेपाल’ पुस्तक पढेँ । पुँजीवाद के हो र नेपालमा पुँजीवादको असर कस्तो हुन्छ बुझ्ने मौका पाएँ । पुस्तकले पुँजीवादको विकाससँगै साम्राज्यवादको रूप लिएपछि मानव अधिकारको नाममा विभिन्न देशमा भएको सैनिक हमला किन र केका लागि भन्ने प्रस्ट बुझियो । नेपालमा विकासका नाममा वैदेशिक लगानी भिœयाउँदा नवउदारवाद झागिँदै जानेबारे नेपाल मजदुर किसान पार्टीको धारणा बुझ्न थप सजिलो भयो ।हाम्रो जिम्मेवारी
कोभिड–१९ को औषधि तयारीका लागि विभिन्न देशका वैज्ञानिकहरूको प्रयास जारी छ । औषधि तयार नभएसम्म रोकथामको लागि सबै नागरिक अनुशासित भई दैनिकी चलाउनु पर्दछ । सरकारले अस्पतालमा भर्ना हुने बिरामीको लागि औषधिमूलोको काम गर्ननसक्ने अवस्था आउनेछ भनिरहेको छ । यस्तो समयमा प्रत्येक नागरिकले अर्को नागरिकलाई समेत सङ्क्रमित व्यक्ति हो कि भनी शङ्काले हेर्ने र सङ्क्रमण हुन नदिने उपाय अपनाउनु पर्दछ ।प्रत्येक हप्ता बस्ने गरेको नियमित बैठक सङ्क्रमण बढ्ने डरले त्यस हप्ता बस्न सकेन । सचेतना सबैमा हुनु आवश्यक छ । यसका लागि घर, परिवार, टोल, वडा हुँदै नगरस्तरमा जनचेतना पुग्नुपर्दछ । यस विषयमा स्थानीय सरकारले पहल गर्दैन भने हामी आफैँ सचेत भई हाम्रो जिम्मेवारी निर्वाह गर्नु आजको आवश्यकता हो । (मजदुर दैनिक)